देश

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त


काठमाडौँ— चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले बताए ।

फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा समेत चर्चित छन् । सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट उनले फिल्म अभिनयमा डेब्यु गरेका थिए । उनले पछिल्लोपटक फिल्म ‘फूलफूलको मौसम तिमीलाई’ निर्देशन गरेका थिए ।

चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत रहेका डीसी फिल्म वृत्तमा सक्रिय फिल्ममेकर हुन् । उनले वर्षेनी फिल्म अवार्डको समेत आयोजना गर्दै आइरहेका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा आवेदन दिँदै उनले फिल्म बजार विस्तार गर्ने, बक्सअफिसलाई सुचारु गर्ने, नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कार्य गर्ने बताएका थिए ।

निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।