Breaking

नेताले आफ्नो सीमा र राजनीतिक दायरा भुल्न हुदैन, उत्तेजना नफैलाउनुस् प्रचण्डजी : गगन थापा


काठमाडौँ— प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेपालमा बंगलादेशजस्तै हुन्छ’ भन्ने अभिव्यक्ति दिएकामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आपत्ति जनाएका छन् । उनले ‘वेटिङ प्रधानमन्त्री’लाई ‘बंगलादेश हुन्छ’ भन्ने छुट नभएको बताए ।

आज प्रतिनिधिसभा बैठकमा समय मागेर बोलेका उनले त्यस्तो अवस्थामा प्रचण्ड पनि यहाँ रहने स्थिति नहुने उल्लेख गरे । ‘बंगलादेश र श्रीलंका होला’ भन्दै धम्क्याइएको विषयले आफूलाई असह्य भएको उनले बताए । “पूर्वप्रधानमन्त्रीले बोल्दै गर्दा बंगलादेश होला, श्रीलंका होला भनेर भन्नुभयो । धर्मपापमा विश्वास नगर्ने भएकाले श्राप दिनुभएको पक्कै होइन होला ?,” थापाले प्रश्न गर्दै भने, “सामाजिक विस्फोटहरू हुने सम्भावना नभएका होइनन्, तर हसिना, बेगमझै कुनै कारणले भाग्ने दिन आयो भने प्रचण्ड मात्रै चैनले खुमलटारमा सुत्ने अवस्था होला ?”

यसअघिको संसद् बैठकमा प्रचण्ड उत्तेजित भएर बोलेको उनले टिप्पणी गरे । “प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलेको, धेरै उत्तेजित भएर प्रश्न गरेको देखेँ । समावेशी समावेशी भन्दै गर्दा ऐना देखाउन मन थियो । तर, हतार नगरौँ, समय आएपछि भनौँला भन्ने भयो,” उनले भने, “सुशासनका सन्दर्भमा सरकारले प्रतिवाद गर्छ भन्ने विश्वास छ । तर, खण्डन गर्दा तर्कका आधारमा होइन, तथ्यका आधारमा गरोस् भन्ने मेरो सुझाव छ ।”

आफूले बोलेका विषयमा प्रचण्डले समीक्षा गरेरनगरे पनि उक्त भनाइ गलत भएको उनले उल्लेख गरे । “समीक्षा गर्नु हुन्छ गर्नु हुन्न म त्यतातिर धेरै जान चाहन्नँ । गर्नुहोस् भन्ने मेरो सुझाव छ । यहाँले धेरैपटक गल्ती भयो भनेर पटक–पटक भन्नुभएको छ,” थापाले भने, “तर, अपोजिसन भनेको सरकारको अपोजिसन हो । विरोधका विषय जमेर राख्नुपर्छ, कतिपय अवस्थामा सरकारलाई घुँडा टेकाउन पनि तयार हुनुपर्छ । अस्ति भर्खर हामी त्यही गरेर आएको हो ।”

नेताले आफ्नो सीमा र राजनीतिक दायरा भुल्न नहुनेमा उनले जोड दिए । “अपोजिसनले जमेर विरोध गर्ने अस्वाभाविक पनि मानिँदैन । तर, एउटा कुरा ख्याल गर्नुपर्छ – यत्रो वर्ष प्रधनमन्त्री भएर आएको, भोलि कुनै पनि बेला देशको जिम्मेवारी लिनुपर्ने हुनसक्छ भनिएको जिम्मेवार दलको नेताले के सोच्नुपर्छ भने ऊ स्टेटको वा सिस्टमको अपोजिसन होइन, ऊ सरकारको मात्र अपोजिसन हो ।”

उनले प्रतिपक्ष ‘सिस्टम’कै अंग भएको भन्दै त्यसलाई सरकारले पनि स्वीकार गर्नुपर्ने र गरेको बताए । प्रतिपक्ष दलको नेता क्षणिक लाभबाट प्रभावित हुन नहुने उनको भनाइ थियो ।

आवेग उकेल्नजस्तै सजिलो विवेकद्वारा सम्हाल्न नहुने उनले बताए । उनले पछिल्लो समय सदनभित्रै उत्तेजनाको राजनीति चलिरहेको टिप्पणी गरे ।