Breaking

देउवा–ओली खेद्ने माओवादी र बालेन समर्थक, छानबिन गर्दै प्रहरी


काठमाडौँ – सोमबार काठमाडौंको टुँडिखेलमा शीर्ष नेताहरुविरुद्ध नाराबाजी गर्नेहरु धमाधम पक्राउ परिरहेका छन् । मञ्चमा कांग्रेस सभापति शेरबहादुुर देउवाले भनेझैँ घुुसपैठको आशंकालाई बल दिँदा नागरिक आक्रोशलाई सरकारले पहिचान गर्न नसकेको र विरोधीका आवाज दबाउन खोजिएको भन्दै आलोचना हुन थालेको छ ।

पञ्चातकालमा टुँडिखेलमै बोलेर उदाएका शेरबहादुुर देउवा अहिले त्यही टुँडिखेलमै युवा आक्रोशको सिकार बन्न पुगे । उनीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी नारा घन्कियो । गौरा पर्वको अवसरमा उछृंखल प्रदर्शन भएपछि रिसाएका देउवाले लाज नभएका बदमासहरुको संज्ञा दिएका थिए भने ओलीले शिष्टाचार सिकाएर कार्यक्रमस्थल छाड्न बाध्य बनेका थिए । हुन त पवित्र गौरा पर्व भाँड्न खोजेर सुदूरपश्चिमेलीहरुको आस्थामाथि प्रहार गर्न खोजिएको भन्दै धेरैले खेद प्रकट गर्दा कतिपयले युवा आक्रोशको झिल्कोका रुपमा विश्लेषण गरेका छन् ।

तर, दुई तिहाइ बहुमतको सरकारले भने नारा लगाउने युवाहरुको स्क्रिनिङ गरी थुन्नका लागि खोजी सुरु गरेको छ । नारा लगाइएको भिडियो क्लिपका आधारमा पहिचान गर्दै धमाधम पक्राउ गर्न थालिएको हो । अहिलेसम्म सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढा पक्राउ परेका छन् । सरकारको यो क्रियाकलापको धेरैले विरोध गरेका छन् । सिंहदरबारका बेइमानहरुलाई खबरदारी गरेको र आक्रोश सुनेर सुध्रिनुको साटो थुन्न अग्रसर हुनुलाई विपक्षी सांसदहरुले आपत्तिजनक कदम भनेका छन् ।

तर, मञ्चमै नारा लाग्दा देउवाले घुसपैठको आशंका गरेका थिए । जुन केहीहदसम्म सत्य प्रमाणित पनि भइरहेको छ । हुलहुज्जत गर्ने समूहको पहिलो लाइनमा रातो टिसर्टमा देखिएका तिनै गोपीराज जैसी नै हुन् । उनले पक्राउ परेको केही समय अघि मात्रै ‘शेख हसिनाले पनि बंगलादेश छोडेर भाग्नु पूर्ब यसैगरी युवाहरुमाथि आक्रोश पोखेकी थिइन्, होस् पुर्याउ है नेताहरु’ भन्दै स्टाटस लेखेका थिए । आफूलाई माओवादी कार्यकर्ता बताउने जैसी काठमाडौं महागरका मेयर बालेन शाहका समर्थक देखिन्छन् ।

हुलहुज्जत गरेर आएलगत्तै जैसीले ‘टुँडिखेलमा देखिएको युवाहरुको जोसलाई तपाईंहरु के भन्न चाहनुहुन्छ ? भन्दै प्रश्न गरेका छन् । कमेन्टमा दमदार प्रस्तुति दिएको र हरेक ठाउँमा माओवादीले नै अगाडि जानुपर्छ भन्नेजस्ता विचार देखिएका छन् । अर्थात, जैसी योजनाबद्ध रुपमा गौरा बिथोल्ने मनसायले टुँडिखेल पुगेको देखिन्छ । यसबाट जैसीको समूह देउवा र ओलीलाई देख्ने बित्तिकै नारा लगाउन र उक्साउने गरेको निचोडमा बालवाटार तथा बुढानीलकण्ठ पुगेको छ । तर, सरकारले आक्रोश पोखेकै भरमा ती युवाहरुलाई थुन्न नहुने पक्षमा सरोकारवाला छन् ।

त्यसैदिन पाटनमा राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध पनि हुटिङ भएको थियो । अर्थात युवा आक्रोश र नेताप्रति वितृष्णा बढेको सत्य हो । शक्तिको आडमा दशकौँदेखि नेताहरुले बदमासी गरेको तथ्य पनि सत्य हो । नेता देख्नेवित्तिकै नाराबाजी गर्ने क्रम पछिल्लो समय झनै बढेको देखिन्छ । अझ बंगलादेश र श्रीलंकाको विद्रोहले नेपालमा पनि नेता विरोधी गतिविधिलाई बल दिएको छ । कुनै एक विपक्षी पार्टीको कार्यकर्ताले नियोजित घुसपैठ गरे पनि नेताविरुद्धको आक्रोशलाई ठूलो भिडले समर्थन गर्नुलाई सामान्य मान्न सकिँदैन । विरोध गर्नेलाई बदमास भनियो तर नागरिक आक्रोश र निराशाको कोणबाट हेरिएन । हुन त नागरिक आक्रोशको हद पार गरेपछि नेताहरुले मञ्चमै झापडदेखि जुत्तासम्म भेटेका छन् । तर यति हुँदा पनि शासक नचेत्दा जनआक्रोश झनै चुलिँदो छ । तर सरकार भने नागरिकको असन्तुष्टि सम्बोधन गर्नुको साटो सुरक्षाकर्मीको बलमा निस्तेज पार्न खोजिरहेको छ ।

एउटा तीतो सत्य के हो भने नेपालमा अहिले बिभिन्न आन्दोलनहरुका नाममा घुसपैठ हुने गरेको तथ्यलाई लुकाउन सकिँदैन । तर, जनआक्रोशलाई जनआक्रोशकै रुपमा बुझिनुपर्छ । एक ठाउँको विरोधदलाई घुसपैठ भन्न सकिएला तर, नागरिकमा बढ्दो आक्रोशलाई घुसपैठको आरोपमा दबाउनु राज्यको गम्भीर भुल हुनसक्छ । किनकि आक्रोश दबाएकै कारण बंगलादेशमा शासक भाग्नुपर्ने अवस्था आएको हो । बाँकी आफूविरोधी स्वर शक्तिको आडमा कतिन्जेल लुकाउन सकिएला र ?