Breaking

रामकुमारी झाँक्रीको हार, हात थामेका माधवले पछारे, घनश्यामले जन्माए गुट


माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले महाधिवेशन भएको झन्डै दुई महिनापछि पदाधिकारीको टुङ्गो लगाएको छ । महाधिवेशनले सहमतिको म्यान्डेट दिएर पठाए पनि नेताहरुबीच सहमति जुट्न नसक्दा निर्वाचनमार्फत पदाधिकारीलाई पूर्णता दिएको हो । निर्वाचनमार्फत भएको पदाधिकारी चयनमा अध्यक्ष नेपाल र महासचिव घनश्याम भुसालको गुटगत प्रतिस्पर्धाले पार्टीका प्रभावशाली र चर्चित नेताहरु नै पराजित हुन पुगे । एमालेबाट अलग भएपछि नेकपा एस गठन गर्दा होस् वा अध्यक्ष नेपालको बचाउ गरेर नथाक्ने रामकुमारी झाँक्री अहिले माधव नेपालकै कारण पार्टीभित्रै पराजित भएको आरोप लागेको छ । के अध्यक्ष माधवले नै झाँक्रीलाई हराएका हुन् ?

माधवकुमार नेपालको हातै समातेर निर्वाचन आयोगमा दल दर्ता गर्नेदेखि नेकपा एकीकृत समाजवादी पार्टी गठनमा महत्वपूर्ण भूमिका खेलेकी रामकुमारी झाँक्री पार्टीको महिला उपाध्यक्ष पदमा पराजित भइन् । अध्यक्ष नेपाल पक्षको टिममा रहेर पनि झाँक्री महिलातर्फको उपाध्यक्ष पदको प्रतिस्पर्धामा पराजित हुन पुगिन् ।

महासचिव घनश्याम भुसाल समूहकी जयन्ती राई १ सय ९९ मत ल्याएर महिला उपाध्यक्षमा निर्वाचित हुँदा झाक्रीले १ सय १२ मतमा चित्त बुझाउनु प¥यो । अध्यक्ष नेपालकै आर्शिवादमा पार्टीको सचिवदेखि सहरी विकासमन्त्रीसमेत हत्याएकी झाँक्री अहिले उनै माधवका कारण चुनाव हारेको चर्चा छ । अध्यक्ष नेपालकै सेटिङमा झाँक्री उनको टिमबाट आउट भएको विश्लेषण भइरहेको छ ।उनलाई हराउन अध्यक्ष नेपालले सर्कुलर (चिट) नै जारी गरेका थिए ।

आफू अनुकूल र कम्फरटेबल टिम बनाउन कसिएका माधवले आफ्नै समूहमा रहेकी झाँक्रीको नाम नराखी पदाधिकारीहरूको सूचीमा जयन्तीको नाम राखेपछि हल्लीखल्ली नै मच्चिएको छ । तत्कालीन समयमा पार्टी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका, संकटमा आफ्नो हात थामेका झाँक्रीको गुण तिर्न सचिव र मन्त्रीसमेत बनाएका माधवले अहिले आफ्नै समूहमा रहेकी झाँक्रीलाई हराउन साँच्चै सेटिङ नै गरे होलान् त ? हातै समातेर माधवको विद्रोहमा सघाएकी झाँक्री माधवकै कारण जयन्तीसँग हारेकी हुन् ? जयन्ती राईले कसको बलमा झाँक्रीलाई हराइन् ? प्रश्नहरु उठिरहेका छन् ।

पूर्वमन्त्रीको हैसियतमा होस् या राष्ट्रिय राजनीतिमा चर्चाका हिसाबले राई भन्दा झाँक्री हेभिवेट मध्येमा पर्छिन् । झाँक्री आउट गर्न रचिएका माधव फ्याक्टर विस्तारै बाहिरिने छन् । तर तत्काललाई अध्यक्ष नेपाल र झाँक्रीबीचको टकरावपूर्ण सम्बन्ध र सार्वजनिक रुपमा नै व्यक्त हुने असन्तुष्टिले भने शंकाको सुविधा दिएको छ । झाँक्रीकै भाषामा पुरानो घर एमालेतिरको बढ्दो हिमचिम, प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको तारिफ र नयाँ घर नेकपा एसमा सचिव भएर पनि लगभग निष्क्रिय मात्र होइन सार्वजनिक मञ्चमै माधवको आलोचना झाँक्रीका लागि भारी परेको देखिन्छ ।

पार्टी निर्माण ताका अग्रस्थानमा रहेर काम गरेकी झाँक्रीले महिला उपाध्यक्षमै हार्नुले पार्टीभित्र उनको भूमिका र प्रभाव छर्लङ भएको छ । महिला मतदातासमेत रिझाउन नसकेको स्पष्ट देखिन्छ । पार्टीभित्र आफू कमजोर भएको विश्लेषण नगरी उपाध्यक्षमै हठ कसेका कारण पनि उनले हारे व्यहोरेको भन्दा फरक पर्दैन ।

सचिव पदबाट सिधै महिला उपाध्यक्षको लोभ गर्दा भुइँको टिप्न खोज्दा पोल्टाको समेत उनले जोगाउन सकिनन् । यसबाहेक जयन्तीको जित र झाँक्रीको हारमा जातियता, क्लस्टर र क्षेत्रको भोटले समेत भूमिका खेलेको देखिन्छ । मुख्यतः महत्वकांक्षी माधवको निषेधले पनि उनी पराजित भएको भन्दा फरक पर्दैन । यद्यपि, चुनावी प्रतिस्पर्धामा उत्रिएकी झाँक्री मतदान पूर्व आफूले जित्नेमा विश्वस्त थिइन् । फलतः उनले निर्वाचनमार्फत हुने नेतृत्व चयन लोकतान्त्रिक पद्धति भएको र यसमा जित हार स्वभाविक भएको प्रतिक्रियासमेत दिन भ्याएकी थिइन् ।

त्यसो त पार्टीभित्र रामकुमारीभन्दा जयन्तीको राम्रो प्रभाव रहेको एकीकृत समाजवादीकै नेताहरु बताउँछन् । पार्टी बाहिर झाँक्रीको धेरै आकर्षण भए पनि पार्टीभित्र जयन्तीको योगदान र संघर्ष बुझ्ने पंक्ति ठूलो रहेको दाबी गरिन्छ । जयन्तीको पार्टी सक्रियताको इतिहासले पनि काम गरेको सहज अनुमान लगाउने सकिने तथ्यहरु छन् । अर्को भर्खरै सम्पन्न महाधिवेशमा पार्टी गुटको सिकार हुने डरले सहमतिको पक्षमा उभिएका माधव नेपाल पनि तनावमा छन् । महासचिव भुसालले भने नेकपा एसभित्र फड्को मारेका छन् ।

माधवको मान्छेसमेत आफ्नो गुटमा हुल्न उनी सफल भएका छन् । यता महाधिवेशनले सहमतिको म्यान्डेट दिएर पठाए पनि नेताहरुले चुनाव नै गरेर पदाधिकारीलाई पूर्णता दिएको विषयसमेत बहसमा छ । म्यान्डेट बाहिर गएरै पदाधिकारीलाई पूर्णता दिए पनि अध्यक्ष नेपाल र महासचिवको गुटगत प्रतिस्पर्धाले पार्टीका प्रभावशाली र चर्चित नेताहरुको अवस्था कन्तविजोग बनेको छैन । यता नेताहरुले भने चुनावबाट पदाधिकारी छान्दा पार्टीभित्रको लोकतान्त्रिक प्रणाली मजबुत हुने बताएका छन् । यसलाई गुटबन्दी भन्दा पनि प्रतिस्पर्धाको रूपमा बुझ्नुपर्ने उनीहरुको तर्क छ ।

राष्ट्रिय राजनीतिमा विद्रोही नेताको छवि बनाएकी झाँक्री पार्टीको पदाधिकारी चुनावमै पराजित भएपछि उनको अबको राजनीतिक भविष्यप्रति पनि चासो बढेको छ । पार्टीभित्रको गुटगत प्रतिस्पर्धाका कारण पराजित उनी अब थप सक्रिय हुँदै जबरजस्त नेतृत्वको आलोचक बन्छिन् वा ओलीको गुनगान गाउन थालेकी उनी फेरि पुरानो घर एमाले फर्किने कसरतमा लाग्छिन् ? आम चासो सुरु भएको छ ।