खेलकुद

पहिले जितेको बंगलादेशसँग फाइनलमा हा¥यो नेपाल


काठमाडौँ – साफ यू–२० च्याम्पिनसिपको उपाधि बंगलादेशले जितेको छ । घरेलु टोली नेपाल भने उपविजेतामै चित्त बुझाउन बाध्य बन्यो । नेपालले घरेलु मैदानको फाइदा उठाउने आकलनका बीच बंगलादेशले समूह चरणमा ब्यहोरेको हारको बदला लिँदै उपाधि उचालेको हो । डिफेन्स लाइन र फिनिसिङमा नेपाल चुक्दा नेपाली समर्थक निराश मात्रै बनेनन् कि खेल जारी रहेकै अवस्थामा आक्रोशितसमेत बने ।

घरेलु टोली नेपाललाई ४–१ गोलले स्तब्ध पार्दै पाहुना टोली बंगलादेश साफ यू–२० च्याम्पियनसिपको च्याम्पियन बनेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको फाइनल खेलमा नेपाललाई पराजित गर्दै बंगलादेशले यस प्रतियोगिताको उपाधि पहिलो पटक जितेको हो । खेलको पहिलो हाफमै १–० गोलको अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा तीन गोल थपेको थियो । दोस्रो हाफमा नेपालले सान्त्वना गोल गरेको थियो ।

खेलको पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशका खेलाडी मिराजुल इस्लामले फ्रि किकमार्फत गोल गरेका थिए । पेनाल्टी क्षेत्रको केही बाहिर नेपाली खेलाडीले फल खेलेपछि फ्रि किक पाएको बंगलादेशले त्यसको फाइदा उठाउँदै आकर्षक गोल गर्न सफल भयो । यस्तै खेलको ५५ औँ मिनेटमा अस्दुल मोल्लाले दिएको पासलाई सदुपयोग गर्दै मिराजुलले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरे । ७१ औँ मिनेटमा रवि हुसेन राहुलले टिमका लागि तेस्रो गोल गरे । मिराजुले निकालेको पासमा रवि हुसेनले पेनाल्टी एरियाबाट प्रहार गर्दै आकर्षक गोल गर्न सफल भए ।

३–० ले पछि परेको नेपालले ८१ औँ मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो । समिर तामाङले गरेको उक्त गोल नेपालका लागि सान्त्वना बन्दा दोस्रो हाफमा थपिएको १० मिनेट इन्जुरी समयमा बंगलादेशले चौथो गोल ग¥यो । थपिएको इन्जुरी समयको छैटौँ मिनेटमा मोहम्मद नोभाले बंगलादेशका लागि चौथो गोल गरेका हुन् । यस प्रतियोगिताको पहिलोपटक उपाधि जितेको बंगलादेशले प्रारम्भिक चरणमा नेपालसँग व्यहोरेको हारको बदलासमेत लिएको छ । नेपाल र बंगलादेश प्रारम्भिक चरणमा एउटै समूहमा थिए । नेपालले बंगलादेशलाई २–१ले पराजित गरेको थियो । बंगलादेशले नेपालविरुद्ध तेस्रो गोल गरेलगत्तै बंगलादेशको डिबक्स एरिया बाहिर नेपाली खेलाडीमाथि फल भएपछि नेपाली समर्थक आक्रोशित बनेका थिए ।

उत्तेजित समूहले खेल मैदानभित्र पानीका बोतलहरु प्रहार गर्दै आक्रोश पोखेका थिए । दक्षिण एसियाली उमेर समूहको मेन्स फुटबलमा बंगलादेशले उपाधि जितेको यो तेस्रो पटक हो । सन् २०१५ मा नेपालबाटै साफ यू–१९ च्याम्पियनसिपको नामबाट सुरुवात भएको यो च्याम्पियनसिप कहिले साफ यू १८ त कहिले साफ यू २० को नामबाट सञ्चालन हुँदै आएको छ । २०१५ र २०१७ मा नेपालले उपाधि जितेको थियो । यसपटक साफ च्याम्पियनसिपको उपाधिमाथि हाट्रिक गर्ने नेपालको सपना अधुरै रहन पुग्यो । सेमिफाइनल खेलमा भुटानलाई हराउँदै नेपाल फाइनलमा पुगेको थियो । यस्तै भारतलाई हराउँदै बंगलादेश फाइनल पुगेको थियो । यही भदौ २ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का, भारत, माल्दिभ्स र भूटानले सहभागिता जनाएका थिए । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने तालिका थियो तर वर्षाका कारण खेलमैदान हिलाम्य हुँदा एन्फाले प्रतियोगिताको सम्पूर्ण खेल सातदोबाटोमा खेलाएको हो । विजेतालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुल परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्बाङलगायतले ट्रफी तथा पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको नेपाली युवा टोलीले समूह चरणमा जस्तो प्रभावशाली खेल प्रदर्शन गर्न सकेन । उपाधि जित्ने आत्मबलका साथ मैदान प्रवेश गरेको नेपालका युवा खेलाडी डिसेन्फ लाइन र फिनिसिङमा चुक्न पुग्यो । जसले गर्दा गोल गर्ने केही राम्रो अवसर पाए पनि सफल हुन सकेन । नेपाली टोलीको फितलो डिसेन्स लाइनको मौका उठाउँदै बंगलादेशी युवा खेलाडीले खेलको पुरै अवधि दबदबा कायम ग¥यो । एक पछि अर्को गोल खान पुगेसँगै नेपाली खेलाडी केही हतास देखिए भने कमजोरी सुधार्न नसक्दा खेलमा फर्किन सकेन । उपाधि चुम्न चुकेपछि नेपाली टोली भावविह्वल बन्न पुग्यो ।