Breaking

एमाले सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि सदनमा हँगामा


काठमाडौँ— नेकपा एमाले सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि सदनमा हँगामा भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि नेकपा माओवादीले नियमापत्ति जनाएको हो ।

भट्टराई बोल्दाबोल्दै माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाएका थिए । त्यसपछि ‘हिंसै हो, हिंसा हो, हिंसा हो’ भन्ने अभिव्यक्ती भट्टराईले दिएका थिए ।

सापकोटाले मान्दैनौँ भनेपछि भट्टराईले ‘हाम्रो परिभाषा हो उहाँले नमाने पनि केही फरक पर्दैन’ भन्ने अभिव्यक्ति दिए । सापकोटाले संविधानले कहाँ हिंसा भन्छ भन्दै प्रश्न गरेपछि माओवादीका अन्य सांसदले उठेर आपत्ति जनाएका थिए । जवाफमा भट्टराईले भने, ‘अर्कालाई बोल्न नदिनु पनि हिंसा हो । तपाईँको धम्कीले कोही डराउँदै न । धम्कीले कोही डराउँदैन हिंसा हो ।’

त्यसपश्चात् झन् माओवादीले कुरा उठाएपछि माओवादी सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियालाई लत्त्याएको भन्दै शब्द रेकर्डबाट हटाउन माग गरे । त्यसपश्चात् पनि सभामुख देवराज घिमिरेले भट्टराईलाई बोल्न दिएपछि माओवादीले विरोध जारी राख्यो । त्यसपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि नियमापत्ति जनाए ।

त्यसपछि उठेका विषयमा हिंसा शब्दको छानबिन गरेर निर्णय लिने अधिकार सचिवालयलाई दिइएको सभामुख घिमिरेले जानकारी दिए ।