राजनीति

एमालेले जनार्दन बोक्यो, प्रचण्डलाई काउन्टर


काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि प्रश्नैप्रश्न उठाएका छन् । सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाप्रति नरम देखिएका प्रचण्ड प्रधानमन्त्री ओलीमाथि भने आक्रामक ढंगले प्रस्तुत भएका छन् । कांग्रेस एमाले सत्ता समीकरण बनेसँगै ओलीसँग बिच्किएका प्रचण्ड पछिल्लो समय ओलीप्रति झनै गरम देखिन थालेका छन् । जसले प्रधानमन्त्री ओली र प्रचण्डबीचको टकराव थप चुलिएको छ ।

संसदको पहिलो र दोस्रो दल कांग्रेस–एमालेसँगको काँध फेरि फेरि निरन्तर सत्तामा रजगज गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताको रिङबाट आउट भएको ४७ दिन बित्यो । गत असार १७ गते मध्यराति चपली हाईटमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि धरापमा परेका प्रचण्ड सदनमा विश्वास बटुल्न नसक्दा असार २८ गते सत्ताबाट बाहिरिए ।

ओली देउवा एकढिक्का हुँदा प्रतिपक्षमा पछारिएका प्रचण्ड सत्ता राजनीतिको संकट टार्न नपाउँदै पार्टीभित्रको आन्तरिक घेराबन्दीमा फसे । ओली देउवा मिल्दा प्रधानमन्त्री पद गुमाएका प्रचण्ड पार्टीभित्र उपमहासचिव जनार्दशन शर्मासहित पार्टीको एउटा तप्काको निसानामा परे । उनीहरुले प्रचण्डकै विकल्प खोज्दा त्यसको सामना गर्न उनी चटान सरी रक्षात्मक पोजिसनमा उभिए । सत्ता गुमेको झोक बिसाउन नपाउँदै पार्टीभित्रको आलोचनाको आगोले प्रचण्ड पेलानमा परे ।

अन्ततः प्रचण्डलाई देखाई छाड्ने हठ कसेका जर्नादन रणनीतिमा असफल हुँदा तत्काललाई माओवादीमा देखिएको संकट टरेको छ । आन्तरिक द्वन्द्व मिलाएसँगै फुटको संघारबाट पार्टीलाई जोगाएका प्रचण्ड अहिले भने आक्रामक प्रतिपक्षको भूमिकामा प्रस्तुत हुन थालेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलको नेताको हैसियतमा रोष्ट्रम चढेका प्रचण्डले प्रधानमन्त्री ओली नेतृत्वको सरकारको चिरफार गर्न भ्याए ।

प्रचण्डले सदनमै ठूला दलहरु मिलेर बनेको शक्तिशाली सरकारको हुर्मत मात्र लिने नभएर शक्तिशाली सरकार र प्रधानमन्त्री ओलीलाई नै तह लगाउन उनी तम्सिएका छन् । प्रचण्डले दुई तिहाईको दम्भमा सरकार गलत बाटोतिर अग्रसर भएको टिप्पणी गरे । आफूहरूलाई कमजोर र निरीह नठान्नसमेत सत्तापक्षलाई चेतावनी दिएका छन् ।

सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाको बचाउमा देखिएका प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध भने सामाजिक सञ्जालदेखि सरकार सञ्चालनको शैलीमाथि नै प्रश्न उठाएका छन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अवलम्बन गरेको ओली सरकारमाथि भुटानी शरणार्थी प्रकरणदेखि गिरीबन्धुको अनुसन्धानसम्मै प्रचण्डले शंका व्यक्त गरे ।

नक्कली भुटानी शरणार्थी काण्डलाई त सामसुम पार्ने खेलमा सरकार लागेको उनले आरोप लगाए । विद्युत प्राधिकरणले उठाउन बाँकी करिब २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न सरकारलाई चुनौती दिएका प्रचण्डले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बचाउमा उत्रिए । उनले बक्यौताको विषयमा घिसिङसँग नभएर प्रधानमन्त्री ओलीसँग स्पष्टीकरण सोध्नुपर्ने औँल्याए । माओवादी सांसदहरुले लेखा समितिको नेतृत्वलाई लिएर प्रश्न उठाइ रहेको विषयलाई प्रचण्डले सदनमा प्रवेश गराएका छन् । लेखा समितिको सभापति मात्र होइन, आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैँसँग राख्न सत्तारुढ दलहरुलाई चुनौती दिए । ओली सरकारको सुशासनदेखि त्रिविको भद्रगोलसम्मै नजर पु¥याएका प्रचण्डले ओली सरकारलाई सबै हद पार गरेर प्रहार गर्न भ्याए ।

माओवादी अब सत्ताको खेलमा नलाग्ने स्वघोषणा गरेका प्रचण्डले गठबन्धनभित्र झगडा परेपछि फकाउन नआउनू भन्दै श्रीलंका र बंगलादेशको घटना सम्झाएर ओली सरकारलाई खबरदारीसँगै चेतावनी दिनसमेत भ्याएका छन् । प्रचण्डको सम्बोधनपछि रुष्ट बनेका एमाले सांसद रघुजी पन्त उनीमाथि जाइलाग्न पुगे । पन्तले सदनमै प्रचण्डलाई लल्कारेर जनार्दन शर्मालाई बोक्न भ्याए । सत्तारुढ दलका नेताहरुले प्रचण्डको अभिव्यक्तिलाई सत्ता बाहिर हुँदाको छटपटीका रुपमा टिप्पणी गरेका छन् ।

संसदीय अभ्यासमा सत्तापक्ष र प्रतिपक्षबीच विधि पद्धतीमाथि शैद्धान्तिक सवालजवाफ हुनु स्वभाविक नै हो र हुनु पनि पर्छ । तर विडम्बना नै मान्नु पर्छ, नेपालमा सदन केवल सत्ता दाउपेच र एकले अर्कालाई खुल्याउने थलो मात्र बन्नु देशकै लागि दुभाग्र्य हो ।