Breaking

नयाँ मोडमा रुस–युक्रेन युद्ध, आकाशमा मिसाइल र ड्रोन


काठमाडौँ – रुस र युक्रेनबीच साढे दुई वर्षदेखि लडाइँ जारी छ । भूमि विवाद चर्किएपछि रुसले युक्रेनमाथि युद्ध सुरु गरेको थियो । यी दुई देशको युद्ध पछिल्लो समय झनै भयानक हुँदै गएको छ ।

२४ फेब्रुअरी सन् २०२२ देखि सुरु भएको रुस–युक्रेन युद्ध अझै रोकिने संकेत देखिएको छैन । बरु लडाइँ रोकिनेभन्दा पनि झन चर्किने सम्भावना बढ्दै गएको छ । रुस–युक्रेन युद्ध जारी रहँदा अहिलेसम्म कुनै पनि पक्षबाट शान्तिका लागि पहलै हुन सकेको छैन । दुई देशबीच संघर्ष चलिरहँदा दुवै पक्ष निकट तथा सहयोगी राष्ट्रहरुले समेत शान्ति सम्झौताको कुनै आधार फेला पारेका छैनन् । किभले आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनस्र्थापित हुनुपर्ने माग राख्दै रुसी सेनालाई जुनसुकै हालतमा बाहिर निकाल्ने बताउँदै आएको छ ।

मस्को चाहिँ युक्रेन पूर्ण रूपमा राष्ट्र नभएको र आफ्नो लक्ष्य प्राप्त नभएसम्म पछि नहट्ने अडानमा छ । पुरानो हँुदै गरेको रुस युक्रेन युद्ध पछिल्लो समय झनै चर्किंदै गएको छ । रुसले युक्रेनमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको छ । युक्रेनी वायुसेनाका प्रमुखका अनुसार रुसी सेनाले अहिलेसम्म युक्रेनमा गरेको सबैभन्दा भीषणमध्ये एक हो । रुसले युक्रेनमा मिसाइल र ड्रोनमार्फत् आक्रमण गर्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले एक सयभन्दा बढी ड्रोन र मिसाइलबाट आक्रमण गरेको बताएका छन् । रुसको आक्रमणपछि युक्रेनमा रेड अलर्ट जारी गरिएको छ । युक्रेनी सेना रुसको कुस्र्क क्षेत्रका विभिन्न स्थानमा प्रवेश गरेपछि रुसले आक्रमण तीव्र पारेको छ । रुसले युक्रेन माथि आक्रमण गर्नुका दुई मुख्य कारण छन् । पहिलो युक्रेनलाई नेटोको सदस्य बनाउने र दोस्रो अमेरिकाले युक्रेनमा आणविक हतियार उत्पादन गर्ने तयारी गरिरहनु थियो ।

युक्रेनलाई नेटोमा सामेल नगराउँदा आणविक हतियार उत्पादन गर्ने अमेरिकी योजनामा रुसले अवरोध सिर्जना गर्न सक्ने तर नेटो समूहमा सामेल भएपछि अमेरिका सहितका नेटो प्याक्टका देशले रुसको अवरोध हटाउन आक्रमण गर्न पाउने हुँदा युक्रेनलाई सदस्य बनाउन जरुरी थियो । शीतयुद्धको अन्त्यपछि अमेरिकाले रुसलाई निरन्तर घेराबन्दी गर्ने योजना बनाउँदै आएको छ ।

रुसका सबै छिमेकी मुलुकहरूलाई नेटो प्याक्टमा सामेल गरेर भविष्यमा पनि रुसलाई महाशक्ति बन्न नदिने योजनामा अमेरिका लगायत जी–सेभेनका देशहरू क्रियाशील रहेका छन् । त्यसमाथि पनि युक्रेन र फिनल्यान्डलाई नेटोमा सामेल गराउनु भनेको रुसको स्वभाविक पराजय हो । अमेरिकाको मुख्य व्यापार हतियार बिक्री नै हो । जब विश्वमा शान्ति स्थापना हुन्छ, अमेरिका आर्थिक रूपले कमजोर बन्दछ । त्यसैले ऊ सधैं कुनै पनि देशमा विकास र स्थिर शासन देख्न चाहँदैन ।

त्यसै गरी आज युक्रेनलाई मोहरा बनाएर रुससँग लड्न उक्साइरहेको छ भने भोलि ताइवानलाई उक्साएर चीनविरुद्ध लडाउने तयारी गरिरहेको आरोप लाग्ने गरेको छ । त्यसैगरी दक्षिण कोरिया पनि उत्तर कोरियासँगको पौंठेजोरीले युद्धको चक्रव्यूहमा फस्ने सम्भावना बढेको विश्लेषण हुँदै आएको छ । रुस–युक्रेन युद्धका कारण अहिले अमेरिकाको हतियार बजारले युरोप, जापान र दक्षिण कोरियामा गरी अरबौं डलर कमाउन सफल भएको छ । त्यसैले युक्रेनमाथि रुसी आक्रमण एउटा स्वाधीन राष्ट्रको सार्वभौमिक अखण्डताको हननका रूपमा नभई अमेरिकी साम्राज्यवादविरुद्ध हो भन्ने जनमत पनि देखिंदै आएको छ । शक्ति राष्ट्रको स्वार्थकै कारण भविष्यमा यी देशहरुले अरुलाई पनि सकाउने र आफू पनि सकिने प्रक्षेपण हुँदै आएको छ ।