अन्तर्राष्ट्रिय

अमेरिकाले खतरनाक मानेका नेपाली, अदालतले गरेन रिहा


काठमाडौँ – पत्नी ममता काफ्ले भट्टको हत्या आशङ्कामा पक्राउ परेका नरेश भट्टलाई धरौटीमा रिहा गर्न अमेरिकी अदालतले अस्वीकार गरेको छ । स्थानीय समय अनुसार सोमबार भएको सुनुवाइमा मनसासस्थित प्रिन्स विलियम अदालतले नरेशलाई जमानतमा छोड्न नसकिने फैसला सुनाएको हो । एक रिपोर्ट ।।
अमेरिकामा बस्दै आएका नेपाली नागरिक नरेश भट्ट अमेरिकी राज्यकै लागि खतरनाक हुने अदालतले बताएको छ ।

पत्नी ममता काफ्ले भट्टको हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका नरेश समाजका लागि नै खतरनाक हुन सक्ने मनसासस्थित प्रिन्स विलियम अदालतले निष्कर्ष निकालेका छ । धरौटीमा रिहा गर्नु पर्नेभन्दै पेश भएको दलिलमा सोमबार सुनुवाइ हुँदा न्यायाधीशले सिधै अस्वीकार मात्रै गरेनन्, उनी भाग्न सक्ने सम्भावना पनि भएको हुँदा समाजका लागि समेत खतरनाक हुने फैसला सुनाएका थिए । साथै नरेशले प्रहरीलाई असहयोग गरेको हुँदा शव भेटाउन पनि मुस्किल रहेको दाबी गरिएको छ । योसँगै अपराध अस्वीकार गर्दै आएका नरेशको अर्काे सुनुवाइ अक्टोबर २४ का लागि तोकिएको छ ।

प्रहरीले अदालतमा बुझाएको प्रमाणका आधारमा न्यायाधीशले सुनाएको आदेशसँगै नरेशको प्रहरी हिसारतको अवधि पनि लम्बिएको छ । नरेशले अप्रिलमा नै ममताको हत्या गर्ने योजना बुनेको इन्टरनेटमा उनले खोजेका सामग्रीलाई प्रहरीले आधार बनाउँदै अदालतमा पेश गरेको थियो । जसमा उनले ‘श्रीमतीको मृत्युको कति समयपछि अर्को विवाह गर्न मिल्छ ? र कर्जामा रहेकी श्रीमतीको मृत्युपछि के हुन्छ ?’ भनेर खोजेका थिए ।

प्रहरीको यही प्रमाणलाई आधार मानेका अमेरिकी सञ्चार माध्यमहरूले नरेशले केही महिनाअघिदेखि नै ममताको हत्या गर्ने योजना बुनेको खुलासा गरेका छन् । तर, नरेशका वकिलले भने मिडियाबाजी गरेको भन्दै अदालतमा पीडितविरुद्ध लाजमर्दाे कुरा गर्दा आफूहरू झन् पीडादायी बनेको अमेरिकास्थित नेपाली समुदायको गुनासो छ । ममता नेपालको मात्रैभन्दा पनि विश्वकै चेली भएको बताएका उनीहरूले उनको न्यायका लागि प्रार्थना गर्न सबैमा अपील गरेका छन् ।

प्रहरीले नरेशले ममताको हत्या गरेर शव लुकाएको शङ्का गरे पनि हत्याको अभियोग भने अझै लगाएको छैन । अहिलेसम्म ममताको मृत्युको पुष्टि नभए पनि नरेशको घरमा शव घिसारिएको र रगतका टाटाहरु देखिएको प्रमाण फेला पारेको दाबी गर्दै सरकारी पक्षले कागजपत्रहरू अदालतमा पेस गरेको थियो ।


मनासस पार्क प्रहरी अधिकारी सी.भेन्चुराले पेश गरेको कागजातमा ठूलो मात्रामा डिजिटल र फरेन्सिक प्रमाण फेला पारेको तथा नरेशले ममताको हत्या गरी त्यसलाई लुकाउन खोजेको उल्लेख गरेका छन् । नरेशको घर खानतलासी गर्दा कार्पेट र बाथ टपमा रगतको दाग देखिएको थियो । उनले शव बेडरुमबाट बाथटपसम्म घिसारेर लगेको फरेन्सिक प्रमाणले देखाएको छ ।

ममतालाई अन्तिम पटक आजभन्दा एक महिना अघि जुलाई २७ का दिनमा उनी कार्यरत यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको थियो । जुलाई २८ मा एक साथीसँग अन्तिम पटक कुरा गरेकी र टिकटकमा अन्तिम भिडियो पोस्ट गरेकी थिइन् । जुलाई ३० का दिन वालमार्टबाट तीन वटा चक्कु किनेको र त्यसै दिन हत्या गरेको हुन सक्ने आरोप लागेका नरेशले जुलाई ३१ मा सरसफाइ गर्ने सामग्री किनेका थिए । अगस्ट २ मा प्रहरीले सोधपुछ गरेपछिमात्रै त्यसको तीन दिन पछि नरेशले ममता हराएको रिपोर्ट प्रहरीमा लेखाएका थिए ।

अगस्ट २१ मा घरको खानतलासी गरेको भोलिपल्ट नरेशलाई हिरासतमा लिइएको थियो । अगस्ट २३ मा नरेशको अभियोजन र जमानतविना हिरासतमा राख्न आदेश दिएको थियो भने अगस्ट २६ मा सुनुवाइ गर्दै नरेशलाई हिरासतमा राख्ने आदेशलाई कायम गर्दै धरौटीमा नछाड्ने निर्देशन सुनाएको हो । सपनाको देश अमेरिकामा भविष्य खोज्दै तीन वर्षअघि त्यहाँ पुगेकी नेपाली चेली ममता नर्स त बनिन् । तर, भर्खरै जन्मिएकी दुधे छोरीलाई मातृत्व दिन अभागी आमा बन्न पुगिन् । सँगै जीवन बिताउने कसम खाएकी उनी श्रीमान्बाटै हत्याको सिकार बनिन्् । जसले संसारभर रहेका नेपालीलाई नै स्तब्ध बनाएको छ ।