Breaking

रास्वपाबाट डा. ढकाल साधारण सदस्य समेत नरहने गरी निष्कासित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
रास्वपाको केन्द्रीय समितिको आज बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो । रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो ।

ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो । ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए । लामिछानेको नैतिक धरातल नरहेको र उनी ‘ठग’ भएको प्रमाणित आफूले गर्नसक्ने पत्र रास्वपालाई ढकालले पठाएका थिए ।

असार २५ मा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । ३५ दिन भित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधि दिइए पनि ढकालले पुरावेदन गरेनन् ।

आफू माथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।