Breaking

बालेन सिटीको कुरुप दृश्य, आमामाथि जाइलागेपछि छोराले प्रहरी कुटे


काठमाडौंको बाँसबारीमा फुटपाथ व्यवसायीलाई पक्राउ गरेको ज्यादतीले काठमाडौं महानगरपालिकाको नगर प्रहरीको आलोचना भइरहेको छ । यसअघि पनि कानुुन विपरीत गएको आरोप लाग्ने नगर प्रहरीले कानुन अनुसार चल्नुको साटो झनै आक्रमक बनेको देखिन्छ । खासमा के थियो बाँसबारी घटना ?

हेर्दा अमेरिकाको प्रहरीको जस्तो देखिने हाइल्याक्स भ्यान आइतबार बिहान करिब साढे छ बजे साइरन बजाउँदै बाँसबारी पुग्छ । ठूलै अपराधी समात्ने शैलीमा आएको काठमाडौं महानगरपालिकाको नगर प्रहरीले एक व्यक्तिलाई समात्छ र लछारपछार गर्न थाल्छ । न ती व्यक्ति कुनै खुुंखार अपराधी थिए, न सार्वजनिक जग्गा हडप्ने माफिया नै । उनी त चिया बेच्ने सामान्य नागरिक थिए ।

तर, प्रहरीले गरेको संघर्ष हेर्दा अपराधीलाई समातेकोभन्दा कम थिएन । सुरुमै एक प्रहरीले चियाका दुई थर्मस खोस्छन् । उनले ती थर्मस बरामद गरी गाडीको पछाडि राख्छन् । अरु सात प्रहरी ती व्यक्तिलाई नियन्त्रणमा लिन न्वारानदेखिको बल निकाल्दै भ्यानभित्र हुल्न खोज्छन् । ‘ऐया ! ऐया !’ गर्दै चिच्याइरहेको सार्वजनिक भिडियोमा सुन्न सकिन्छ । तर, प्रहरीले भ्यानमा कोचिछाड्छन् । जुन दृश्य हेर्दैगर्दा सुन्दर बालेन सीटीको कुरुप दृश्यको अनुभूति हुन्थ्यो ।

फुटपाथमा चिया बेचेको देख्नासाथ रगत उमाल्ने बानी परेको नगर प्रहरीको यी सबै गतिविधि उसकै कार्यविधि विपरीत गरिरहेको छ । महानगर प्रहरी ऐन २०८० को दफा ७ मा नगर प्रहरीको काम कर्तव्य र अधिकारबारे उल्लेख गरिएको छ । जहाँ २८ वटा अधिकार महानगर प्रहरीले पाएको छ । तर, कहीँ पनि कुनै व्यक्तिलाई पक्राउ र धरपकड गर्ने कुरा उल्लेख छैन । कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने अधिकार नेपाल प्रहरीलाई मात्रै छ । नगर प्रहरीलाई फुटपाथका सामग्री जफत गर्ने अधिकार पनि छैन ।

तर आफ्नै ऐन विपरीत नगर प्रहरीले कानुन हातमा लिने गरेको छ । यसैबारे प्रश्न गर्दै सामाजिक अभियन्ता ‘ई’ले नेपाल प्रहरी, प्रधानमन्त्री र मेयर बालेनलाई एकमुस्ट प्रश्न गर्दै कहिलेसम्म टुलुटुलु हेरेर बस्ने भन्दै प्रश्न गरेका छन् । बाँसबारी घटनामा आफ्नो बचाउ गर्दै महानगर प्रहरीले सडक अवरोध गरेरै चिया बेचिरहेको र प्रहरीमाथि नै जाइलाग्ने प्रयास गरेपछि पक्राउ गरिएको दाबी गरेको छ ।

नगर प्रहरीले सडक किनारमा व्यवसाय गर्नेहरुमाथि कानुन विपरीत धरपकड गरेको यो पहिलो घटना भने होइन । सामान्य मानवतासमेत देखाउन नसक्ने बालेन सीटीको कुरुप दृश्य यसअघि पनि सार्वजनिक भएका थिए । २०७९ असार १७ गते बालुवाटारमा मकै पोल्दै गरेकी सीता आचार्यमाथि यस्तै ज्यादती देखाएको थियो । फुटपाथ अतिक्रमण गर्न नपाइने भन्दै प्रहरीले मकैसहितको ठेला उठाएरै गाडीमा हालेको थियो ।
सीताले ठेला नलैजान अग्रह गर्दा लछारपछार गरेको थियो । मकै बेचेर गुजारा चलाउँदै आएकी लमजुङ घर भएकी एक महिलामाथि नगर प्रहरीले २०७९ माघ २६ गते बुद्धनगरमा यसैगरी ज्यादती गरेको थियो । करिब १०० मिटरसम्म लखटेका नगर प्रहरीले ठेलागाडा खोसेका थिए । यद्यपि, महिला रुन थालेपछि प्रहरी मकै र ठेलागाडा नलिई हिँडेका थिए । २०८० फागुन १६ गते साँझ सुन्धारामा नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि अमानवीय ढंगले कुटपिट गरेको थियो । भ्यानभित्रै लाठी र बुट बजारेपछि व्यवसायी आक्रोसित बनेका थिए । स्थानीयले भने अवस्था हेरेर गरी खान दिनुपर्ने माग गरेका छन् ।

यसबाहेक सडक किनारमा जुत्ता सिलाउने, साइकलमा आँप बेच्ने, कवाडी व्यवसायी लगायतमाथि महानगरले धरपकड गरेको थियो । यी घटनाहरुले के काठमाडौं धनीहरुको शहर मात्रै हो ? भन्दै प्रश्न उठेको थियो भने मेयर बालेनको ‘गरिबको चमेली बोलिदिने कोही छैन’ भन्ने गीत उनीविरुद्धै घन्किएको थियो । यति हुँदा पनि न नगर प्रहरीले आफ्नो अधिकार क्षेत्र पढ्न भ्याएको छ, न त बालेनले नै कानुनअनुसार चल्न निर्देशन दिन सकेका छन् । विकासका नाममा काठमाडौं महानगरपालिका बालेन सिटीमा परिणत भए पनि यस्ता गतिविधिले बालेन सिटी क्रुर र कुरुप बनेको देखाउँछ । वास्तविक सडक आश्रित श्रमिकहरुलाई महानगरले विकल्प दिन नसके नयाँ–पुरानाबीच तात्विक फरक हुने छैन ।
०००