Breaking

गाउँ–गाउँमा पहिरो, नागरिकले गाँस र बास भेटेनन्, नेतालाई मस्ती


रामेछापको शैलुङ गाउँपालिका वडा नम्बर ३ मा गएराति पहिरोले तीन घर पुरिँदा ६ जनाको मृत्यु भयो । योसँगै बाढी पहिरोका कारण यसवर्षको मनसुनी विपद्मा परी हालसम्म ज्यान गुमाउनेको संख्या १ सय ९७ पुगेको छ । यो तथ्यांक गत जेठ २८ गतेदेखि हालसम्मको हो । मनसुनजन्य विपद्मा मानवीय क्षति गत वर्षको तुलनामा यसवर्ष साढे दुई गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । बाढी पहिरोले देश आक्रान्त बने पनि सरकारले भने विपद् न्युनीकरणमा प्रभावकारी भूमिका नखेलेको गुनासो बढ्दै गएको छ ।

‘हर रात सपनीमा ऐठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि ?, गाउमा सायद पहिरो गयो कि?

विप्लप प्रतिकको शब्द, दीपश्रेष्ठको स्वर, संगीत रहेको यो गीतको भाव र यर्थात अहिलेको परिस्थितिसँग ठ्याक्कै मेल खाएको देखिन्छ । मनसुन सुरु भएसंगैहरेक दिनरात बाढी पहिरोले नेपालीलाई आक्रान्त बनाएको छ । अझ बाढी पहिरोको जोखिम रहेका स्थानमा त कहाँ कति बेला कस्तो आपद आइपर्ने हो, डरैडरमा बस्नु पर्ने अवस्था छ । रामेछापको शैलुङ गाउँपालिका–३ मा शनिवार राति पहिरोले एकैपटक तीन घर पु¥यो ।

यो घटनामा ६ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् । पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र उनका १८ महिनाका छोरा आयुषश्रेष्ठ, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीले ज्यान गुमाए। ११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । पहिरोले वडा नम्बर २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलाको पक्की पुलसमेत बगाएको छ ।

प्राकृतिक विपदका साथै हवाई तथा सवारी दुर्घटनाका घटना बढ्दा अहिले नेपाली नागरिक विक्षिप्त बनेका छन् । एकपछि अर्को हवाई र सवारी दुर्घटनामा ठूलो मानवीय क्षति व्यहोर्नु परिरहेको छ भने मनसुन सुरु भएयता मात्रै मनसुनी विपदका घटनामा परी सयौँले ज्यान गुमाइसकेका छन् । मुलुकले जुन किसिमको विपदको सामना गर्नु परिरहेको छ, त्यसअनुसार राज्य सत्तामा बसेका नेतृत्वकर्तालाई भने गम्भीर बनाएको देखिँदैन ।

मनसुन सुरु भएयतागत जेठ २८ गतेदेखिहालसम्म करिब अढाई महिनाको अवधिमा१९७जनाले बाढी पहिरोको चपेटामा परेर ज्यान गुमाएका छन् । ४९ जना बेपत्ता भएका छन् भने ४ हजार ४ सय १९ परिवार प्रभावित भएका छन् । बाढी पहिरोका कारण कोशी प्रदेशमा २७, मधेशमा ८, बागमतीमा ३६, गण्डकीमा ५६, लुम्बिनीमा ३७, कर्णालीमा १३र सुदूरपश्चिममा १५ जनाको बाढी पहिरोका कारण ज्यान गएको छ । बाढी पहिरोमा परी घाइते भएकाहरुको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गत वर्षको मनसुन अवधिमाभन्दा दुई गुणा बढी मानवीय क्षति यसपालिको साढे दुई महिनामा नै भइसकेको छ । यो वर्ष मनसुन सुरु भएयताको अवधिमा मनसुनजन्य विपद्का एक हजार ४४५ घटना रेकर्ड गरिएको छ ।

यस वर्ष विगतको तुलनामा बढी वर्षा हुने र धेरै क्षति पु¥याउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन सुरु हुनु अगावै पूर्वानुमान गरेको थियो । जसले सरकारलाई बेलैमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्न सचेत गराएको थियो । तर, बाढी पहिरोका घटनालाई सरकारले प्राकृतिक विपद्कै रुपमा मात्र बुझ्दा आवश्यक पूर्व तयारी प्रभावकारी नहुनुले पनि ठूलो मानवीय क्षति व्यहोर्नु पर्ने अवस्था आएको नेताहरुकै गुनासो छ । पूर्वगृहमन्त्री वामदेव गौतमले त प्राकृतिक प्रकोपबाट देश गुज्रिरहेको बेला घोचपेचमै सत्ता र प्रतिपक्ष उद्त रहेको टिप्पणी गरेका छन् ।

मनसुनमा बाढी र पहिरोको उच्च खतरा रहेको भूप्रविधि विज्ञहरूले बताए पनि सरकारले कुनै पनि पूर्व तयारी र सतकर्ता नपनाउँदा ठूलो जनधनको क्षति व्यहोर्नु परेको देखिन्छ ।अध्ययन बिना विकासनिर्माणका नाममा विशेष गरि पहाडी क्षेत्रमा विस्फोटक पर्दाथ प्रयोग गरिनु, जथाभावी रूपमा डोजर प्रयोग गर्नु र एउटा पहाडमा ठाँउठाँउमा सडकका ट्र्याक खोलिनु लगायतका गतिविधिले पनि बाढी पहिरोको जोखिम बढाएको विज्ञहरुको भनाइ छ । नेपाल प्राकृतिक प्रकोपको ग्लोबल इन्डेक्सअनुसार वातावरणीय खतराका हिसाबले चौथो संवेदनशील देश हो ।

भूकम्पीय जोखिममा ११औँ र बाढी प्रकोपमा १३औँ स्थानमा छ ।विगत १ दशकको तथ्यांक हेर्दा पनि प्राकृतिक प्रकोपका कारण बर्सेनि तीन सयभन्दा बढीको ज्यान जाने गरेको देखिन्छ । बर्सेनि बाढी पहिरोले ठूलो जनधनको क्षति हुँदा पनि क्षति रोक्नका लागि राज्यकोतीनै तहका सरकारले विपद् व्यवस्थापन र नियन्त्रणमा प्रभावकारी काम गर्न सकेको देखिँदैन । विपदका घटना घटेपछि उद्धार र राहत कार्यमा मात्रै सबै निकायको ध्यान केन्द्रित हुँदा पूर्व तयारीको योजना प्रभावकारी हुन सकेको देखिँदैन ।
योहो टेलिभिजनका लागि ध्रुवजंग थापा, काठमाडौं ।।