अन्तर्राष्ट्रिय

हिजबुल्लाह र इजरायलबीच रकेट हानाहान, युद्ध छेडिने संकेत


काठमाडौँ – इजरायली सेनाले हिजबुल्लाहलाई निशाना बनाएर आक्रमण गरिरहेको छ । यसअघि हिजबुल्लाहले इजरायली भूमिमा रकेट आक्रमण गरेको थियो । यो घटनाले इजरायल र हिजबुल्लाहबीच पूर्णस्तरको युद्ध निम्त्याउने सम्भावना बढाएको छ ।

गत वर्षको अक्टोबरमा इजरायल–गाजा युद्ध सुरु भएयता हिजबुल्लाह र इजरायली सेनाबीच एक अर्काविरुद्ध लगातार गोलाबारी गरिरहेका छन् । इजरायल र हमास समूहबीच सुरु भएको युद्धमा अहिले हिजबुल्लाह समूह पनि मिसिएपछि मध्यपूर्वमा नयाँ युद्धको आगो दन्किने खतरासमेत बढेको छ । लेबनानस्थित हिजबुल्लाहको अखडालाई निसाना बनाएर इजरायली सेनाले हवाई आक्रमण गरेको छ । हिजबुल्लाह समूहले आफ्ना सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन इसराइलमाथि हमला गरेको जनाएको छ ।

लेबनानको राजधानी बेरूतमा एउटा आवासीय भवनको सातौं तलामा इजरायली पक्षबाट गत जुलाई ३० मा भएको हवाई आक्रमणमा शुक्रको मृत्यु भएको थियो । यसको बदलामा हिजबुल्लाहले सयौं रकेट र ड्रोनले इजराइलमाथि आक्रमण गरेको हो । उता इजराइलले भने हिजबुल्लाहले शुक्रको हत्याको बदला लिँदैछ भन्ने थाहा पाएर हिजबुल्लाहलेभन्दा अघि नै लेबनानमा हमला गरेको दाबी गरेको छ ।

करिब १०० लडाकू विमानले लेबनानस्थित हिज्बुल्लाह अखडामा आक्रमण गरेको बताएको छ । इजरायलले गरेको हमला र हिजबुल्लाहले त्यसपछि गरेको हमला दुवैले एक अर्कामाथि विगत केही वर्षमा गरेको सबैभन्दा ठूलो आक्रमण भएको बताइएको छ । अमेरिका पनि इरानले समेत इजरायलमाथि हमला गर्न सक्ने भएकाले सतर्क भएर बसेको छ । इजरायलले शुक्रको हत्या भएको केही घण्टापछि हमासका शीर्ष नेता इस्माइल हानियाको पनि इरानको राजधानी तेहरानमा हत्या गरेकाले दुवैले मिलेर एकैचोटि इजराइलमाथि जवाफी हमला गर्न सक्ने आकलन भइरहेको थियो ।

शुक्र र हानियाको हत्यापछि इरान र इजराइलबीच युद्ध हुन सक्ने आशंकाका बीच अमेरिकाले यसअघि नै इसराइललाई सहयोग गर्न मध्यपूर्वमा आफ्ना युद्धपोतहरू पठाइसकेको छ । आफ्ना राष्ट्रपतिको शपथ ग्रहणमा आएका विशिष्ट पाहुनामध्येका एक हानियाको हत्या भएपछि जवाफमा इरानले इसराइलमाथि हमला गर्न सक्ने आकलनहरु भइरहेका छन् । इरान र हिजबुल्लाहले एकै पटक इजराइलमाथि आक्रमण गरे इरान र इजराइलबीच भयावह युद्ध हुन सक्ने खतरा छ । यही बुझेको अमेरिकाले भने इजराइल र हमासको युद्धविराम गराएर इरान र हिजबुल्लाहको जवाफी कारबाहीसमेत रोक्न खोजिरहेको थियो ।

इरानले अहिलेसम्म जवाफी कारबाही नगरे पनि हिजबुल्लाहले भने शुक्रको हत्याको बदलामा एकैपटक तीन सयभन्दा बढी रकेट आक्रमण गरेको थियो । जसको जवाफी कारबाही स्वरुप इजरायलले लेबनानस्थित हिजबुल्लाहको अखडामा व्यापक हवाई आक्रमण गरेको हो । यो आक्रमणमा हिजबुल्लाह समूहलाई केही क्षति ब्यहोर्नु परेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा आएका रिपोर्टअनुसार हिजबुल्लाहका तीन लडाकु मारिएका छन् । यस्तै बढ्दो तनावका कारण इजरायलको तेल अभिभबाट उडान भर्ने दर्जनौँ हवाई सेवा रद्द गरिएको छ । अहिलेसम्म इरान भने मौन रहेको छ । यदि इजरायलविरुद्ध इरानले समेत आफ्नो संयमता गुमाएको खण्डमा भने मध्यपूर्व भयावह युद्धमा फस्ने र भयावह अवस्था आउन सक्ने विश्लेषण भइरहेको छ ।