Breaking

प्रचण्ड–माधव मिलन कहाँ रोकियो ? ओली हराउने योजना सपनाम


काठमाडौ -कम्युनिष्टहरूलाई एक बनाउन भन्दै नेकपा एमालेलाई बाइकट गरेर गठन भएको समाजवादी मोर्चा अहिले आफैँ अलमलमा छ । गठन भएको वर्ष दिन बितिसक्दा पनि औचित्य पुष्टि गर्न नसकेको समाजवादी मोर्चा आफ्नो लक्ष्यबाट भड्ँिकदा गुमनाम जस्तै भएको छ ।

नेकपा एमालेप्रति बढ्दै गएको लोकप्रियताले डगमगाएका नेकपा माओवादी केन्द्रलगायतका नेकपा एकीकृत समाजवादी, जसपा नेपालसँगै नेकपा र पछिल्लो पटक सामेल भएको नेपाल समाजवादीसहित वाम शक्तिहरू एक ढिक्का हुने भनिए पनि उनीहरू अहिले तितरवितर अवस्थामा छन् । प्रत्येक चार÷चार महिनामा नेतृत्व परिवर्तन गर्ने नीति बनाएको समाजवादी मोर्चाले १४ महिना पार गरिसक्दासम्म जम्मा दुई जना मात्र नेतृत्व पाएको छ । पहिलो चार÷चार महिना गरेर दुई कार्यकाल माधवकुमार नेपालले नेतृत्व गर्दा अहिले विगत ६ महिनादेखि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव समाजवादी मोर्चाको ‘नेतृत्व’मा छन् ।

समाजवादी मोर्चाको घोषणापछि सातै प्रदेशमा सन्देश सभा गरेर सुस्ताएको मोर्चाको नेतृत्वमा विप्लव आएपछि केही आशा जागे पनि समयक्रम सँगै उनी पनि सुस्ताउँदै गएका छन् । गत साउन १ गते बैठक बसे पनि मोर्चामा सामेल पार्टीहरू सबै आन्तरिक समस्यामा नै गिजोलिँदा समाजवादी मोर्चा नाममा मात्रै सीमित बनेको छ । मोर्चाको सबैभन्दा शक्तिशाली दल माओवादीभित्रै नेतृत्व परिवर्तनको बहसले तरङ्ग ल्याउँदा मोर्चा प्रचण्डको बार्गेनिङ अस्त्र बनेको छ । प्रचण्डले मोर्चामा आबद्ध नेतालाई माओवादीमा भित्र्याएर पदाधिकारी तर्साउन मात्रै यसको प्रयोग गरिरहेका छन् । मोर्चा छोडेर पार्टी सुदृढीकरणमा लागेको माओवादी आफ्नै पार्टीको विरासत फर्काउन प्रयासरत छ ।

एकीकृत समाजवादी पार्टी पनि पार्टीभित्रको लथालिंग अवस्था मिलाउनमा नै व्यस्त हुँदा समाजवादी मोर्चातिर सोच्ने फुर्सद नै पाएको छ । पार्टीको महाधिवेशन भएको ४५ दिन बितिसक्दा पनि अझै तीन जना बाहेक अन्य पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन । भर्खरै निर्माण भएको पार्टीले २९९ केन्द्रीय सदस्यबाट ३४४ पु¥याउँदा मोर्चालाई भन्दा पार्टीलाई नै बढी प्राथमिकतामा राखेको छ ।

त्यस्तै पार्टी फुटबाट उपेन्द्र यादव रुष्ट बन्दा जसपा नेपालले समाजवादी मोर्चालाई वास्तै गर्न छोडेका छन् । जसपा फुटाउन प्रचण्डले भूमिका खेलेपछि उपेन्द्रले अघोषित रुपमा नै मोर्चाबाट बाहिरिसकेका छन् । मोर्चामा उपेन्द्रको कुर्सी खाली नै भए पनि त्यसप्रति उनको कुनै लगाव छैन । तर, मोर्चाबाट नै आफ्नो आगामी राजनीतिक भविष्य खोज्ने दाँउमा रहेको विप्लव र महेन्द्रराय यादव भने अन्य पार्टीहरूले आ–आफ्नै बाटो समाउँदा चाहेर पनि मुर्झाउन सक्ने अवस्थामा छैनन् ।

साना साना कम्युनिष्ट पार्टीका पसल थापेर बसेकाहरूलाई ध्रुवीकृत गर्दै वाम शक्तिको मोर्चा बनाए पनि यसबाट पार लाग्ने सङ्केत नदेखेपछि दलहरू आ–आफ्नो पार्टी केन्द्रित गतिविधिमा जुटेका छन् । मोर्चामा सबै शक्तिशाली नेताहरू नै भएको हुँदा शक्ति सन्तुलनको तालमेलमा पनि असन्तुष्टि देखिन्छ । भएभरका सबै शीर्ष बत्रे होडमा हुँदा कम्युनष्टिको डुङ्गा पार लगाउने उद्देश्यले निमार्ण गरिएको समाजवादी मोर्चा आफैँ डुब्ने तरखरमा छ ।

एमालेका अध्यक्ष ओलीलाई एक्ल्याउन निर्माण गरिएको समाजवादी मोर्चाको गत असार ४ गते एक वर्ष पुगेको थियो । दिन गिन्तीको रुपमा मोर्चाले वर्ष दिन त पार गरेको छ, तर यसको भविष्य अझै पनि भूमरीमा नै छ । एउटै भूमरीमा घुमिरहेको समाजवादी मोर्चा नाममा त ज्यूँदो छ तर, यसको सक्रियता भने छैनको बराबर भइसकेको छ । सबै जना आफ्नो पार्टीलाई नै मुर्झान कसरत गरि रहने, मोर्चालाई भने आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्दा यसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । समाजवादी मोर्चा चाहिँदैन पनि भन्न नसक्ने र यसलाई उद्देश्यअनुसार अगाडि लैजान पनि नसक्ने आबद्ध दलहरुकै भूमिकाले यसको भविष्य अन्योलमा भूमरीमा मडारी रहेको छ ।