Breaking

काठमाडौंबाट फर्किएपछि कोशीका मुख्यमन्त्रीले भने : मन्त्रालय फुटाउँदिन


काठमाडौँ – कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय संख्या थप नगर्ने बताएका छन् । काठमाडौंबाट फर्किँदा आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कार्कीले मन्त्रालय संख्या ९ बाट नबढाउने बताएका हुन् ।
एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय लिने सहमति भएको दुबै दलका नेताहरुले बताएका छन् । तर कांग्रेसले आन्तरिक भागबण्डा मिलाउन मन्त्रालय बढाउन मुख्यमन्त्रीलाई आग्रह गरेको छ । सोही कारण १२ साउनमा सरकारमा जाने निर्णय गरेको कांग्रेसले अझै मन्त्रीको नाम पठाएको छैन ।

काठमाडौंमा कांग्रेस र एमालेका शीर्ष नेता भेटेर आएका मुख्यमन्त्री कार्कीले मन्त्रालय नथप्ने सहमति भएको बताएका हुन् । ‘हामी मन्त्रालय बढाउँदैनौँ, अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र काँग्रेसले ४ मन्त्रालय लिन्छ’, उनले भने,‘ एक दुई दिनभित्रैमा मन्त्रिपरिषद विस्तार हुन्छ ।’

कांग्रेसले मन्त्रीको नाम दिनेवित्तिकै मन्त्रिपरिषद विस्तार गर्ने उनले बताए ।