Breaking

आरजुको फड्कोमा कांग्रेसी नै तर्सिए, गगन–विश्वलाई धक्का, ओलीको प्रधानमन्त्री कार्ड (भिडियोसहित)


काठमाडौँ— परराष्ट्रमन्त्री आरजु राणाको भारत भ्रमणको बाछिटा र चर्चा परिचर्चा अझै जारी छ । जसले पार्टी भित्र नै नयाँ तरंग सिर्जना गर्दा गुटगत घेराबन्दी नै सुरु भएको छ । आरजुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटलाई पोर्टफोलियो निर्माणकै आधार बनाउँदा इतर पक्ष झस्किएको हो ।

नयाँ सरकार गठनभएपछि परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएकी डा.आरजु राणा देउवाको रापताप ह्वात्तै बढेको छ । विवादित छवि कै बीच सुशासनका हिमायती दाबी गर्ने कांग्रेस महामन्त्रीलाई माथ खुवाँउदै फड्को मारेकी उनले त्यसपछि भारत भ्रमण गरिन् । जसलाई गठबन्धनभित्रको खटपट देखिने आगामी राजनीतिक घटनाक्रमसम्म जोडिँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै भेट गरिन् । चित्त नबुझे भ्रमणमा बोलाएर बेवास्ता गर्ने भारतीय रणनीतिकाबीच यसले विशेष चर्चा नै पायो । भेटमा के कुराकानी भयो भन्ने नखुले पनि यसले आरजुको डायनिजम देखिएको चर्चा छ । यसले सरकार र पार्टीभित्रै उनको कदम बढेका रुपमा व्याख्या गरिएको छ । जसलाई कतिपयले उनलाई आफ्नो उत्तराधिकारीका रुपमा अघि सार्ने शेरबहादुर देउवाको एक कदम सफल भएकै रुपमा चर्चा गरिँदा आरजुले पनि यसलाई पोर्टफोलियो निर्माणको आधार बनाएकी हुन् ।

यो भ्रमणले निकै हर्षित देखिएकी उनले पार्टीभित्र परराष्ट्रको लाइनमा रहने डा.नारायण खड्का र एनपी साउँदसम्मको बाटो बन्द गरिदिएकी छन् । फलतः सानेपामा जारी कांग्रेसको केन्द्रीय समिति बैठकमा आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको बताइन् । जसको छनक स्वदेश फर्किदा विमानस्थलमै समेत दिएकी उनले केन्द्रीय समिति बैठकमा त आफ्नो भ्रमणको सकारात्मक प्रभाव देखिन थालेको भन्दै डुबान समस्याबारे अध्ययन गर्ने संयुक्त बैठक बस्ने खबर शुक्रबार मात्र आएको सुनाइन् । तर नेपाल र भारतबीच प्रबुद्ध समूहको प्रतिवेदन, नक्सा विवादजस्ता कैयौँ मुद्दा लामो समयदेखि थाती रहँदै आएका छन् । यस विषयबारे प्रष्ट नभएको यो भ्रमण आत्मरतीभन्दा बढि केही नभएको कांग्रेसकै नेताहरु बताउँछन् । जहाँ अर्जुननरसिंह केसी पनि कसैले कुनै देशको भ्रमण गर्दैमा सत्ता र पार्टीभित्र उसको हैसियतमा व्यापक परिवर्तन नआउने तर्क गर्छन् । विगतमा अन्य परराष्ट्रमन्त्रीहरुलेसमेत भ्रमणमा मोदीलाई भेटेको बताउँदै उनी यसलाई कसैले प्रचार गर्नु नपर्ने तर्क गर्छन् । उनकै भाषामा भन्दा यो चाहिनेभन्दा बढी नै विज्ञापन भइरहेको छ ।

ठूला पार्टीको सरकारलाई राम्रो रेसपोन्स गरेको उनको भनाइले सायद एमालेमा पनि खुसीको सञ्चार भएको छ । यद्यपि राणाले भने यसलाई केपी शर्मा ओली र भारतजस्ता परस्पर विरोधीलाई एक ठाँउ उभ्याएको रुपमा व्याख्या गर्न खोजेको बुझ्न गाह्रो छैन । जसले पार्टीमा समेत अर्थ राख्ने अवस्था बन्दा कतियले आरजुलाई भविष्यको प्रधानमन्त्रीकै रुपमा टिप्पणी गर्न भ्याइसकेका छन् । तर उनको यो अवस्था कांग्रेसभित्रै भने स्वीकार्य नरहेको प्रष्ट देखिन्छ । परराष्ट्रमन्त्री भएको खुसियालीमा लड्डु बाँड्ने कामै पूर्णबहादुर खड्काले प्रश्नको घेरामा पारिदिँदा भारत भ्रमणको चर्चासमेत स्वास्थ्य उपचारभन्दा माथिको मान्न नपर्ने कांग्रेस नेताहरु नै बताउँछन् । तर यो भ्रमणले प्रधानमन्त्री ओलीसमेत झस्किएका रुपमा चर्चाका बीच उनले तरंग नै ल्याएको भने पुष्टि हुँदै गएको छ । कांग्रेसले नेताहरुले जे सुकै तर्क गरेपनि वा आफ्नो डर एमालेले बाहिर नल्याएपनि ओलीले नै महिला प्रधानमन्त्री बनाउने नयाँ अश्त्र प्रहार गरिसकेका छन् । जसले कांग्रेसभित्रै असन्तुष्टिको नयाँ रेखा तय हुने तथा आरजु पनि फकिने दोहोरो फाईदा देखिदाँ उनको भारत भ्रमणले पारेको प्रभाव समेत संकेत गरेको छ ।

हुन त अब हुने उनको भ्रमणमा यो स्तरको महत्व नदिए के होला भन्ने बहस यसले सिर्जना गर्दा ओलीका लागि यो चुनौती भएको केही विश्लेषकहरुको टिप्पणी छ । जसमा सबैभन्दा रोचक विषय त देशका लागि के भयो भन्ने भन्दा पनि कसले भेटदियो भन्ने विषय नै प्रधान हुनु हो । अब ओली र कांग्रेसकै अरु नेताले यो भाष्य निर्माण गर्ने पक्का हुँदा बद्नाम हुँदासमेत पछि नहटेकी आरजुको उडान यसै रोकिने अवस्था भने देखिँदैन ।