काठमाडौँ— घरेलु मैदानमा जारी साफ यु-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । नेपालले पहिलो खेलमा श्रीलंकालाई १-० ले दोस्रो खेलमा बंगलादेशलाई २-१ ले पराजित गरेको थियो ।
उता भुटान भने समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा साविक विजेता भारतसँग १-० ले पराजित भए पनि दोस्रो खेलमा माल्दिभ्सलाई २-१ ले पराजित गरेपछि भुटान पनि भारतसँगै सेमिफाइनल पुगेको हो ।
समूह चरणमा नेपाल अपराजित रहँदा तीन गोल गरेको थियो भने एक गोल व्यहोरेको थियो । पहिलो खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दा निराजन धामीले निर्णायक गोल गरेका थिए । दोस्रो खेलमा बंगलादेशविरुद्ध समिर तामाङले नेपालका लागि गोल गरेका थिए भने एक आत्मघाती गोल उपहार पाएको थियो ।
भुटानले दुई गोल गर्दा दुई गोल नै व्यहोरेको छ । भुटानी खेलाडीले दुवै खेलमा रातो कार्ड पाएको थियो । दुवै खेलमा भुटानका एक/एक खेलाडीले रातो कार्ड पाएका थिए ।
प्रतिक्रिया