Breaking

सिमतालको झल्को दिने भारतीय बसको दुर्घटना, घाइतेको बयान


काठमाडौँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा भारतीय तीर्थ यात्री चढेको बस दुर्घटना हुँदा २६ जनाकोज्यान गएको छ । आज बिहान करिब साढे ११ बजे भएको बसमा दुर्घटनामा ४ जना बेपत्ता भएका छन् भने घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरिएको छ । जसमध्ये १६ जना घाइतेलाई थप उपचारका लागि नेपाल सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

असार २८ को बिहान त्रिशूलीकोसिमलतालमा ६२ जनाको ज्यान जाने गरी भएको दुर्घट्नाको घाउ सुक्न नपाउँदै शुक्रबार बिहान तनहुको ऐनापहरास्थित मस्र्याङदी नदीमा भारतीय नम्बर प्लेटको बस दुर्घटनाले सबैलाई झस्काएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस बिहान करिब साढे ११ बजे तनहुँको आँबुखैरेनी जनिकैको एनापहाराबा मस्र्याङ्दी नदीमा खस्दा यो रिपोर्ट तयार पार्दासम्म २६ जनाको ज्यान गएको छ । दुर्घट्नामा परेको बसमा ४१जना तीर्थ यात्री र बसका २ जना स्टाफसहित ४३ जना रहेको खुलेको छ । नेपाली सेनाको हेलिकप्टर मेडिकल टिमसहित घाइतेहरुको उद्धारका लागि दुर्घट्नास्थलमा पुगेर १६ जनालाई काठमाडौं ल्याएको छ ।

दुर्घटनामा परेको बस भारतको गोरखपुरबाट नेपाल भ्रमणका लागि आएको थियो । भदौ ५ गते पोखरा पुगेर २ दिन घुमेर शुक्रबार काठमाडौंका लागि छुटेको थियो । बसमा सवार सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर उक्त बस नेपाल भित्रिएको थियो ।

नेपालमा बढ्दो सवारी दुर्घटनाले यहाँका राजमार्ग यमराजमार्ग बनिरहेको भन्दै टिप्पणी हुने गरेको छ । नेपाल प्रहरीको पछिल्लो १० वर्षको तथ्याङक हेर्ने हो भनेहरेक वर्ष सडक दुर्घटना र मृतकको सङ्ख्या बढ्दो क्रममा देखिन्छ । आव २०७१÷७२ देखि २०८०÷८१ सम्म २४ हजार ९५ जनाको ज्यान सडकमै गएको तथ्यांकले देखाएको छ । त्यस्तै एक लाख ६० हजार ९२७ दुर्घटनामा परी ५१ हजार २४८ जना गम्भीर घाइते र अङ्गभङ्ग भएका छन् । यस अवधिमा एक लाख ५० हजारभन्दा धेरै मानिस सामान्य घाइते भएका छन् ।

नेपालमा सडक दुर्घट्ना दिनप्रति दिन बढ्नुको मुख्य कारण सडक सुरक्षा परीक्षण नहुनु, २० वर्षभन्दा पुराना सवारी साधन सडकमा चल्नु,अनुगमन र नियमन गर्ने निकायले प्रभावकारी काम नगनुर्, सडकको स्तरोन्नति नहुुनुलाई मानिएको छ । जसले गर्दा ठूला र दर्दनाक दुर्घटना व्यहोर्नु परिरहेको छ । यस्ता दुर्घटना पछि बन्ने छानबिन र अध्ययन समितिको प्रतिवेदन कार्यान्वयनमा राज्य संयन्त्रकै लापर्बाहीका कारण पटक पटक दुर्घटना हुने ठाउँ ‘ब्ल्याक स्पट’ मा सवारी दुर्घटनाको सिलसिला थपिरहेको देखिन्छ ।

दस वर्षमा दुर्घटना छानबिनका लागि बनेका समितिका दर्जनभन्दा बढी प्रतिवेदन ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक सुरक्षा शाखाको दराजमा’ थन्किएका छन् । छिमेकी मुलुक भारतबाट आएका सवारी साधनसमेत यस्ता ठूला दुर्घटनामा पर्नुले नेपाल आउने पर्यटकमा नकारात्मक सन्देश जाने भएकाले सम्बन्धित निकायको गम्भीर रुपमा ध्यान जान जरुरी छ ।