अन्तर्राष्ट्रिय

पुटिन र जेलेन्स्की मिलाउने मोदीको दौड, रोकिएला युद्ध ?


पोल्याण्ड भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेन पुगेका छन् । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको यो पहिलो युक्रेन भ्रमण हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको राजधानी किभ पुगेका छन् । पोल्याण्डबाट करिब १० घण्टाको रेल यात्रा गरेर मोदी किभ पुगेका हुन् । सन् १९९१ मा सोभियत संघबाट अलग भएपछि युक्रेन पुग्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । मोदीको युक्रेन भ्रमणलाई रुस–युक्रेन युद्धसँग जोडेर हेरिएको छ । मोदीले युक्रेनलाई रुससँगको जारी युद्धमा नयाँ सहमतिमा लैजान पहल गर्न सक्ने विश्लेषण गरिएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वका कयौँ ठूला नेता रेलयात्रा गर्दै किभ पुगेका छन् ।

मोदीले डेढ महिना अघिमात्रै रूसको भ्रमण गरेका थिए । युक्रेनमा रूसी आक्रमणपछि मोदीको त्यो पहिलो रूस भ्रमण थियो । मस्को पुगेलगत्तै भारतीय प्रधानमन्त्री मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अंकमाल गरेको विषयलाई लिएर पश्चिमा मिडियामा कडा आलोचना भएको थियो । पुटिन र मोदीले अँगालो हालेको विषयमा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलेसमेत आपत्ति जनाएका थिए । ‘संसारको सबैभन्दा ठूलो लोकतन्त्रका नेताले सबैभन्दा हत्यारा अपराधीसँग मस्कोमा अँगालो मार्नु शान्ति स्थापित गर्ने प्रयासका लागि ठूलो निराशाको कुरा हो ।’ जेलेन्स्कीले भनेका थिए ।

युक्रेनले पछिल्ला दिनहरुमा रूसको सीमा क्षेत्रमा प्रवेश गरी आक्रमण तीव्र पारिरहेका बेला मोदी युक्रेन पुगेका हुन् । युक्रेनले रूसका केही क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ भने रूसले युक्रेनमाथि छिटै ठूलो आक्रमण गर्न सक्ने विश्लेषण भइरहेको छ । अन्तर्राष्ट्रिय मामिलाका जानकारहरू मोदी अहिले युक्रेन भ्रमणमा जानु खराब समयमात्र नभई यसको उद्देश्य पनि राम्रो नभएको बताउँछन् । युक्रेनको पछिल्ला आक्रमणले युद्धविरामको प्रयासमाथि झट्का लागेको छ । यसरी युक्रेनले रुसमाथि आक्रमण गरिरहँदा विदेशी चासो थपिने क्रम जारी छ । मोदी यी दुवै देशले अब सहमतिमा युद्ध अन्त्य गर्नुपर्छ भन्ने पक्षमा छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको ठिक विपरीत रुसमाथिको आक्रमणबाट कदापी पछि नहट्ने बताएका छन् । अमेरिकाको यस्तो दबदबाकाबीच पनि मोदी युक्रेन पुगेका हुन् । मोदी युक्रेन भ्रमणमा पुगेपछि भने अमेरिकाले खुसी व्यक्त गरेको छ । अमेरिकी एक वरिष्ठ अधिकारीले मोदीको युक्रेन भ्रमणप्रति खुसी व्यक्त गरेका हुन् । तर यो भ्रमणमा मोदीले रुस युक्रेनबीच जारी युद्ध रोक्नेतर्फ पहल गर्नेभन्दा पनि दुई देशबीच वार्ता सुरु गर्ने विषयमा भूमिका खेल्न सक्ने विदेशी सञ्चारमाध्यमहरुको विश्लेषण छ ।

मोदीले पश्चिमा राष्ट्र र रुसबीचको पुलको काम गर्न चाहेको भारतीय विश्लेषकहरुले बताएका छन् । यता अमेरिकी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले केही दिन अघि इजरायल भ्रमणका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेटवार्ता गरेका थिए । यसले पनि यी दुई देशको युद्धमा विदेशीहरुको दौडधुप देखिन्छ । युक्रेनसँगको युद्धले पश्चिमा राष्ट्रसँगको सम्बन्ध बिग्रिएपछि भारतले रुसबाट ठूलो परिमाणमा कच्चा तेल आयात गरिरहेको छ । सन् २०२१÷२२ मा रुस र भारतबीच करिब ५० अर्ब डलरभन्दा बढीको व्यापार भएको थियो ।

जब कि भारतको विदेशमन्त्रालयका अनुसार सोही अवधिमा युक्रेनसँग ३ दशमलब ३ अर्ब डलरको व्यापार भएको थियो । यसले पनि भारत र रुसबीच ठूलो व्यापार रहँदै आएको देखिन्छ । तर युक्रेन भ्रमणका क्रममा मोदीले के सहमति गर्छन् ? रुससँगको मजबुत सम्बन्धलाई कायम राख्दै नचिड्याउने गरी युक्रेनको भ्रमणलाई कति सन्तुलन गर्न सक्छन् ? त्यो भने हेर्न बाँकी छ ।