Breaking

आँबुखैरेनीमा भारतीय बस दुर्घटनाः १४ जनाको मृत्यु


तनहुँमा आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्युभएको छ ।

अहिलेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ ।

बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ । तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् ।

गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।