काठमाडौँ— केही महिनायता शान्त रहेको त्रिभुवन विश्वविद्यालय फेरि आतंकित बन्न थालेको छ । नियमावली विपरीत र राजनीति नेतृत्वको निर्देशनका भरमा नियुक्ति गराउन धाकधम्कीकै श्रृंखला चल्दा पदाधिकारीहरु कार्यालय छाड्न बाध्य बनेका छन् । त्रिविमा गुण्डाराज फेरि मौलाउन थालेको छ ।
वर्षौंदेखि विद्यालयमा राजनीति र विश्वविद्यालयमा गुण्डागर्दीको आतंक मचाएका कांग्रेस एमाले नै जनता गुहार्नु पर्ने अवस्थामा पुगेका छन् । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा असुरक्षा बढेको भन्दै सुरक्षा मागेकी छन् । तर, उदेकलाग्दो कुरा के छ भने मन्त्रिपरिषद्मा सुरक्षा माग्नु पर्ने मन्त्रीले फेसबुकमा मागिन् । गृहमन्त्रीलाई गुहार्नु पर्ने विद्याले जनता गुहारिन् । अर्थात, वर्षौँदेखि एमाले कांग्रेसको छत्रछायाँमा रहेका गुुण्डासँग अब जनताले लडिदिनुपर्ने शिक्षा मन्त्रीको भनाइ छ । निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठाले विश्वाविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन खोजेकी थिइन् । तर सरकार फेरिएपछि नेतृत्वमा आएकी भट्टराई आफैँ राजनीतिमा सक्रिय शिक्षकलाई कारबाहीको विपक्षमा देखिएकी थिइन् ।
पार्टीको झण्डा बोक्ने र क्रियाशील सदस्य बनेर शिक्षणभन्दा बढी राजनीति गर्ने शिक्षकलाई झोले भन्न नहने उनको स्पष्ट अडान थियो । यतिमात्र नभई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शिक्षकलाई राजनीति गर्न उक्साउँदै आएका छन् । आज उनै शिक्षामन्त्रीले त्रिविमा गुण्डाराज चल्न थालेपछि फगत स्टन्टका लागि सामाजिक सञ्जालमार्फत सुरक्षा मागिन् ।उनले लेखेकी छन्– त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरुमाथि हमला गर्न खोज्ने र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेका कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन ।यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कारवाही गर्न समेत म गृहमन्त्रालयलाई गम्भिरताकासाथ अनुरोध गर्दछु ।
के हो पछिल्लो विवाद ?
पछिल्लो केही महिनायता शान्त र सुध्रिने संकेत देखाएको त्रिभुवन विश्वविद्यालयमा फेरि राजनीतिक बखेडा सुरु भएको छ । शिक्षामा राजनीति आउट गर्नुपर्ने प्रयासका बीच त्रिविमा फेरि गुण्डागर्दीको आतंक देखिन थालेको हो । समाजशास्त्र केन्द्रीय विभाग प्रमुख युवराज लुइँटेलको कार्यकाल शुक्रबार मात्रै सकियो । नयाँ नियुक्तिको प्रक्रिया सुरु गर्दा मानविकी तथा सामाजिक शास्त्र डीन कुसुम शाक्यले कार्यविधि मिचेपछि विवाद भएको हो । वरीयताको एक नम्बरमा पासाङ शेर्पाको नाम छ । तर, शाक्यले दोस्रो वरीयतामा रहेका कांग्रेस निकटका टिका गौतमलाई सिफारिस गरिदिइन् । कार्यविधि विपरीत गौतमलाई नियुक्त गर्न दबाब र धम्की आएपछि असुरक्षा भएको भन्दै उपकुलपति केशरजंग बराल, रेक्टर खड्क केसी र रजिष्ट्रार केदार रिजाल बिदामै बसे । तर, बुधबार प्रहरी परिचालन गरिएपछि रेक्टर र रजिष्ट्रार भने कार्यालय गएका छन् । बराल भने डेंगु लागेको भन्दै बिदामा छन् । स्रोतका अनुसार विगतमा उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने कांग्रेसको योगेन्द्र रावल समूहले गौमलाई नियुक्ति नदिए ‘जेपनि हुन सक्ने’ धम्की दिएको छ । यसअघि पनि नियुक्तिमा दबाब दिन उनीहरुले पदाधिकारी घेर्ने गरेको खुलेको छ । तर कांग्रेसकै आशीर्वादले उनले यो छुट पाइरहेका छन् । कांग्रेसकै गुण्डा लागेपछि एमालेकी विद्याले सुरक्षा मागिन् । अर्थात कांग्रेस–एमाले खटपट सुरु भएको बुझ्न सकिन्छ । यसै मौकामा निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यामाथि नै कटाक्ष गरेकी छन् ।
उनी भन्छिन्– मन्त्रीले सुरक्षा व्यवस्थासहित उच्च मनोबलका साथ पदाधिकारीहरुलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने ? दशकौंदेखि आफैँ विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, आपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने ? अब के जनताले राजनैतिक प्रश्रय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो ?उसो त यसअघि पनि रेक्टर र रजिष्ट्रार नियुक्तिमा कांग्रेस र एमालेले असहमति जनाउँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्ति नै होल्ड गरिदिएका थिए । बरालले आफूलाई राजनीतिक हस्तक्षेप सह्य नहुने भन्दै गत चैतमा बिदामा बसेका थिए । बढी नै दबाब दिए पद छाड्नसम्म पछि नहट्ने संकेत देखाएका थिए । त्यसबेला शिक्षामन्त्री सुमनाले पनि उनलाई साथ दिएकी थिइन् । प्रचण्ड निकटका बराल मेरिटोक्रेसीलाई माध्यम बनाएर उपकुलपति बनेका थिए । उनै बराललाई सोझै पाखा लगाउनुभन्दा विद्यार्थी परिचालन गर्ने मुडमा दुई तिहाईको सरकार पुगेको देखिन्छ । विश्वविद्यालयमा पनि विद्यार्थी सङ्घ र प्राध्यापक सङ्घ छन् । जसमा एमाले कांग्रेसकै बाहुल्य छ । राजनीतिक संगठन बनाएका प्राध्यापकहरु नै विद्यार्थीका राजनीतिक संगठनबाट आजित भएको बताइरहेका छन् ।
संरचनागत सुधारको पक्षमा अझै पनि त्रिवि गइसकेको छैन । रेक्टर र रजिष्ट्रार बाहेक पदमा बरालले नियुक्ति दिन सकेका छैनन् । डीनका कार्यालयहरू समेत निमित्तको भरमा चलिरहेका छन् । देशको ठूलो र पुरानो विश्वविद्यालय नयाँ खोज अनुसनधान गर्न व्यवस्त हुनुु पर्ने समयमा गुण्डा उत्पादन केन्द्र बनिरहेको छ । जसलाई सरकारकै संरक्षण हुँदा सुधारको बाटोमा रहेको त्रिवि फेरि बिग्रिने जोखिम बढेको छ ।


प्रतिक्रिया