राजनीति

आरजु–मोदी भेटको तरंग, मोदी फकाउने ओलीको अन्तिम मौका, दुई महिनाभित्र हुँदैछन् दुई भेट (भिडियोसहित)


काठमाडौँ— पाँच दिने भारतको औपचारिक भ्रमणका लागि दिल्ली पुगेकी परराष्ट्रमन्त्री आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको सन्देश पठाएका थिए । परराष्ट्रमन्त्री राणासँगको भेटमा मोदीले नेपाल भ्रमणको आश्वासन दिइएको बुझिएको छ । परराष्ट्रमन्त्री राणा स्वदेश नफर्किंदै ओली–मोदी भेटको चर्चा सुरु भइसकेको छ । तत्काल दुई–पक्षीय राजकीय भ्रमणको टुङ्गो नभए पनि मोदी र ओलीबीच विभिन्न अन्तर्राष्ट्रिय फोरममा हुने भेट भने लगभग निश्चित भएको छ ।


भारतीय विदेशमन्त्री एस जयशंकर कुवेत भ्रमणमा जाने चटारो, मलेसियाका प्रधानमन्त्री र जापानी रक्षा एवं विदेशमन्त्रीको स्वागतदेखि आफैँ युद्धग्रस्त युक्रेन र पोल्यान्ड भ्रमणमा निस्कने चटारोकाबीच प्रधानमन्त्री नरेन्द्र मोदीले चार दिने भारत भ्रमणमा दिल्ली पुगेकी परराष्ट्रमन्त्री डाक्टर आरजु राणालाई दुईपक्षीय भेट दिए । मोदीले झन्डै एक दशकपछि पहिलोपटक नेपालका परराष्ट्रमन्त्रीलाई भेट दिएका हुन् । यसलाई कुटनीतिक रुपमा नेपाल–भारतबीच नयाँ अध्याय सुरु भएको विश्लेषण भइरहेको छ । दुई पक्षीय भेटमा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीका तर्फबाट नेपालको राजकीय भ्रमणको निम्तो दिएकी हुन् । ओलीले दिएको निम्तोमा मोदीले नेपाल भ्रमण गर्ने आश्वासन दिएको बुझिएको छ । राणाको भारत भ्रमण र उच्चस्तरीय भेटघाटलाई ठूलो उपलब्धिको रुपमा हेरिएको छ ।

छिमेक पहिलो विदेश नीति भए पनि कार्यान्वयनमा भने कि पेल्ने कि त बेवास्ता गर्ने प्रवृत्ति हाबी हुँदा भारतको छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो हुन सकेको छैन । साथै यसले गर्दा सबैतिरबाछ एक्लिँदैसमेत गएको प्रष्ट छ । विगतमा यो तथ्यलाई बुझेर पनि बुझ पचाएर बसेको भारत अब भने कुटनीतिक व्यवहारमै परिवर्तन गर्दै गएको छ । सन् २०१८ मा जनकपुरमा एउटै पोशाकमा ठाटिएर चर्चा बटुलेका ओली–मोदीको आगामी भेटबारे चासो बढेको छ । तत्काल भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने र केपी शर्मा ओली भारत भ्रमणमा जाने अवस्था न्यून छ । यद्यपि भारतीय प्रधानमन्त्री मोदी नेपाल नआए पनि र प्रधानमन्त्री ओली भारत नगए पनि अबको केही दिनमै ओली र मोदीबीचको भेट लगभग निश्चित छ ।

भदौ १९ गते थाइल्याण्डमा हुने पहिलो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा ओली र मोदीबीच भेट हुने सम्भावना बढेर गएको छ । सो सम्मेलनमा विभिन्न देशका सरकार प्रमुख वा राष्ट्रध्यक्ष सहभागी हुँदैछन् । अर्को संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा पनि ओली र मोदीबीच भेट हुनेछ । प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ । यो अवधिमा यदि दुई पक्षीय भ्रमण नभए पनि करिब डेढ महिनाको अवधिमा ओली र मोदीबीच दुईपटक भेट हुने पक्कापक्की छ । यदि मोदी नेपाल भ्रमण आए वा ओली भारत गए भने अबको डेढ महिनामा ओली र मोदीबीच तीन पटक भेटवार्ता हुनेछ । यो पटक दुवै नेता आन्तरिक राजनीतिक दबाबमा छन् । ओली सत्ता टिकाउनकै लागि भए पनि आफ्नो राजकीय भ्रमण भारतबाट गरेर वा भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल ल्याएर भए पनि भारतसँगको सम्बन्ध सुधार्न सकारात्मक देखिन्छ ।

प्रधानमन्त्री ओलीलाई सत्ता फोपे पनि भारतसँगको सम्बन्ध त्यति फाप्ने गरेको छैन । २०७२ सालमा पहिलो पटक ओलीले सत्ता हाँकेका बेला भारतले अघोषित रुपमा नेपालमाथि नाकाबन्दी गरेको थियो । २०७४ को चुनावपछि बनेको शक्तिशाली नेकपा सरकारको नेतृत्वमा हुँदा नेपालले लिपुलेक, लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा नेपालले जारी गरेको थियो । भारतले हस्तक्षेप गरेका भूमिलाई समेट्दै नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारत ओलीसँग थप चिढिएको तथ्य लुकेको छैन । तेस्रो पटक मुलुकको सत्ताको बागडोर सम्हाली रहेका ओली नेतृत्वको सरकारले बोकेको संविधान संशोधनको एजेन्डा सकस बन्ने पक्का छ । संविधान जारी गर्दा ताका नै विरोध जनाएको भारतले संविधान संशोधन जस्तो संवेदनशील विषयमा चुप लागेर टुलुटुलु हेरेर बस्ला भन्न सकिन्न । विगतमा राजनीतिक हस्तक्षेप गरेर भए पनि आफ्नो प्रभुत्व स्थापित गरेको भारत नेपालमा आफ्नो प्रभाव कमजोर मात्र होइन विस्थापित हुन थालेपछि सोच्न बाध्य भएको छ । नेपालमा रातारात भएको कांग्रेस एमालेको मिलनले ब्युँझिएको भारत पश्चिमा दबदबालाई बेवास्ता गर्दा बंगलादेश जुन अवस्थामा पुग्यो यसबाट थप झस्किएको छ ।

पशुपतिनाथको दर्शन गरेर चुनावमा होमिने इच्छा पूरा गर्न नसकेका मोदीले ओलीसँग सम्बन्ध सुधार्न कतिको चासो दिन्छन् ? त्यो भने अहिले नै आकलन गर्न मुस्किल छ । विदेश भ्रमणको चक्कर लगाई रहेका मोदीले ओलीको निमन्त्रणा स्वीकार त गरेका छन् त्यसअनुसार नेपाल भ्रमणलाई उनले कति महत्व दिन्छन् ? यसले भने महत्वपूर्ण अर्थ राख्ने छ ।