अन्तर्राष्ट्रिय

ट्रम्प हराउन ह्यारिस आक्रामक, बाइडेन र ओबामा एकढिक्का, ट्रम्पले गुहारे एलन मस्क भिडियोसहित)


काठमाडौँ— आगामी नोभेम्बरमा अमेरिकामा हुने राष्ट्रपति चुनावले यतिबेला विश्वको ध्यान खिचिरहेको छ । चुनावी मैदानबाट एकाएक वर्तमान राष्ट्रपति जो बाइडेन आउट भएपछि राष्ट्रपति चुनावले नयाँ मोड लिएको थियो । त्यसलगतै उपराष्ट्रपति कमला ह्यारिसलाई बाराक ओबामाले साथ दिए पछि भने चुनाव थप रोचक हुने देखिएको छ ।


अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुँदैछ । जति जति अमेरिकाको चुनाव नजिकिँदै छ उति नै सरगर्मी बढिरहेको छ । यसअघि राष्ट्रपतिको चुनावमा इतिहासकै सबैभन्दा ज्येष्ठ उम्मेदवारहरूबीचको प्रतिस्पर्धा जस्तो देखिएको थियो । पहिलो टेलिभिजन बहसपछि डेमोक्रोटहरूलाई डर थियो, वर्तमान राष्ट्रपति जो बाइडेनको बुढ्यौलीकै कारण डोनाल्ड ट्रम्प फेरि सत्तामा आउने त होइनन् ?तर २१ जुलाइमा अमेरिकी राष्ट्रपति चुनावमा नयाँ ट्वीस्ट आयो, जब राष्ट्रपति बाइडेनले डेमोक्रेटिक पार्टीको उम्मेदवारको दौड त्याग्दै उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अगाडि सारे । त्यसपछि अमेरिकाको चुनाव यात्रा झनै तातियो । चुनावी अभियानमा रक्षात्मक बनेको डेमोक्रेटिक पार्टी एकाएक जुर्मुराउनुको एउटा कारण उम्मेदवारको उमेर हो ।

केही समय अगाडिसम्म ८१ वर्षीय बाइडेन डेमोक्रेटिक पार्टीका उम्मेदवार रहँदा रिपब्लिकनहरूले उनको उमेरलाई नै चुनावी मुद्दा बनाएका थिए । तर ह्यारिस ५९ वर्षकी छन् । उनी चुनावी प्रतिस्पर्धामा आउनासाथ ७८ वर्षका डोनाल्ड ट्रम्प एकाएक बुढा भएका छन् । बाइडेनको उमेरलाई सर्वाधिक चर्को आवाजमा चुनावी मुद्दा बनाएका ट्रम्पलाई अब आफ्नै बोली गलपासो बनेको छ । अमेरिकाको भावी राष्ट्रपति को हुने भन्नेमा ट्रम्प र ह्यारिसको टोलीबीच अहिले तछाडमछाड चलिरहेको छ । कमला ह्यारिसलाई पूर्वराष्ट्रपति बाराक ओबामाको पनि साथ रहेको छ । ह्यारिसलाई राष्ट्रपति पदका लागि समर्थन गर्ने केही ठूला नामहरू छन् । मिशेल ओबामा, ¥यापर लिल जोन, सिनेटमा बहुमत रहेका नेता चक शुमर र क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजम हुन् ।
डेमोक्रेटिक नेसनल कन्भेन्सनको दोस्रो दिन पूर्वराष्ट्रपति बाराक ओबामाले कमला ह्यारिसलाई खुलेरै समर्थन गरे । उनले ह्यारिसलाई देशको भावी राष्ट्रपति भनेका छन् । यसअघि जो बाइडेनले चुनाव लड्छु भन्दा चुपचाप रहेका ओबामाले एकाएक कमलालाई समर्थन गर्दै जित निश्चित रहेको बताएका छन् । हुन पनि ओबामालाई अमेरिकी जनताले दुई पटक पत्याएका थिए । उनले अमेरिकी राष्ट्रपतिमा लगातार दुई पटक बाजी मारेका थिए । यस पटक पनि सत्तामा डेमोक्रेटिक पार्टी नै नआउला भन्न सकिन्न । यदि डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले विजयको झण्डा फहराइन भने अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने छिन् । साथै विश्व शक्ति राष्ट्र अमेरिकाको नेतृत्व महिलाले गर्ने छिन् ।

डेमोक्रेटिक एकजुट हुँदै गर्दा ट्रम्पमाथि भने दबाब बढ्दै गएको छ । ट्रम्पले हार्ने सम्भावना देखे पछि आफूले निर्वाचन जितेको खण्डमा आफ्नो सरकारमा टेस्ला कम्पनीका मालिक एवं अर्बपति व्यवसायी एलन मस्कलाई मन्त्री बनाउने घोषणा गरेका छन् । यसले पनि ट्रम्पको राष्ट्रपतिको दौडमा केही समस्या भएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ । यता ह्यारिसका आमाबुबा दुवै आप्रवासी हुन् । उनकी आमा भारत र बुबा जमैकाका हुन् । उनको पृष्ठभूमिले मतदातामा कस्तो प्रभाव पार्छ, यसै भन्न कठिन छ । यसले पनि यो चुनावको पूर्वानुमान गर्न कठिन छ । यद्यपि, कसको पल्ला भारी हुन्छ ? त्यो भने चुनावी नतिजाले नै निक्र्योल गर्नेछ ।