Breaking

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै,प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर


काठमाडौँ— संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विषयगत समितिमा हेरफेर, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायत कार्यसूची छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन् ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । सांसद तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिनसक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूचीमा उल्लेख छ ।

धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूचीमा उल्लेख छ ।