देश

जनकपुरमा डा. मौमिताको न्यायको माग गर्दै प्रदर्शन


काठमाडौँ — धनुषाको जनकपुरमा स्थित राजर्षी जनक विश्वविद्यालय अन्तर्गत विश्वविद्यालय क्याम्पसको स्वास्थ्य संकायका विद्यार्थीहरुले महिला डाक्टर डा. मौमिता देवानाथ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । विश्वविद्यालय क्याम्पसका शिक्षक, कर्मचारी, स्वास्थ्य संकाय लगायत अन्य संकायमा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा डा. देवानाथप्रति श्रद्धाञ्जली अर्पण गर्दै न्यायको लागि माग गर्दै प्रदर्शन गरेका छन् ।

यस भयानक घटनाले नेपालका सम्पुर्ण चिकित्सा तथा स्वास्थ्य क्षेत्रमा स्तब्ध बनाएको भन्दै सरकारले चिकित्सा एवम् स्वास्थ्यकर्मीलाई सुरक्षा ग्यारेन्टी व्यवस्था गरिनुपर्ने माग राखी सरकारप्रति ध्यानाकर्षण गराएको सोही क्याम्पसका स्वास्थ्य संकायमा अध्ययनरत विद्यार्थी राजेश प्रसाद पालले जानकारी दिएका छन् । भारतको कोलकत्ता आरजी कर मेडिकल कलेजमा पोष्ट ग्राजुएट्स (पीजी) तहको इन्टर्नशीप गरिरहेकी महिला डाक्टर डा. मौमिता देवानाथलाई बलात्कारपछि हत्या गरिएको थियो । देवानाथको न्यायको माग गर्दै भारतभर पनि प्रदर्शन भइरहेको छ । चिकित्सकको बलात्कार र हत्याको मुद्दा सीबीआईलाई सुम्पिएको छ । ‘यो विषयको अनुसन्धान लामो समयदेखि प्रहरीमा थियो ।

यसैबीच भारतको सर्वोच्च अदालतले प्रशिक्षार्थी महिला चिकित्सकको बलात्कारपछि हत्या घटनामा सुनुवाइ गर्दै कडा टिप्पणी गरेको छ । अदालतले यस मामिलालाई स्वतः संज्ञानमा लिएको छ । उक्त अपराधबारे केहीबेरमै पत्तो लागे जस्तो देखिए पनि मेडिकल कलेजका प्रिन्सिपलले यसलाई आत्महत्या बताउन खोजेको अदालतले उल्लेख गरेको छ । साथै अदालतले कोलकाता प्रहरीमाथि पनि प्रश्न उठाएको छ । यस मामिलामा एफआईआर दर्ता गर्न ढिलाइ गरेको भन्दै अदालतले पश्चिम बंगाल सरकारको आलोचना गरेको छ । राज्यमा कानुनी व्यवस्था पूर्ण रुपमा असफल भएको जनाउँदै प्रहरीको जानकारी बिना ठूलो संख्यामा रहेको भिड आरजी कार अस्पतालमा प्रवेश गर्न नसक्ने बताएको छ ।

अदालतले राष्ट्रिय प्रोटोकल तयार गर्न १० सदस्यीय टास्क फोर्ससमेत गठन गरेको छ । यसले चिकित्सकको सुरक्षा तथा सुविधाबारे सुनिश्चित गर्ने छ । साथै पीडितको नाम सञ्चारमाध्यमहरुमा जताततै सार्वजनिक भएकोमा अदालतले चिन्ता व्यक्त गरेको छ । अदालतले कोलकाताको आरजी कार मेडिकल कलेज तथा अस्पतालको सुरक्षाको जिम्मेवारी केन्द्रीय औद्योगिक सुरक्षा बलको हुने निर्देशन दिएको छ । ताकि चिकित्सकहरु आफ्नो काम फर्किन सकुन् भन्ने उद्देश्य अदालतको रहेको छ ।

यस्तै अदालतले सीबीआईलाई बलात्कार तथा हत्या मामिलाको जाँचसम्बन्धी रिपोर्ट र पश्चिम बंगाल सरकारलाई आरजी कार अस्पतालमा भिडबाट भएको आक्रमणको जाँचसम्बन्धी रिपोर्ट बुझाउन पनि आदेश दिएको छ । भारतमा महिलाविरुद्ध हुने हिंसाका घटनामा कमी आउन नसकेको तथ्यांकहरुले देखाएका छन् । गत वर्ष मात्र टम्सन रोएटर्स फाउन्डेसनले गरेको सर्वेक्षणमा भारतलाई महिलाका निम्ति सबैभन्दा खतरनाक देश मानिएको थियो । यस घटनाले पनि भारतमात्रै नभएको विश्वभरबाट प्रश्नको थुप्रो आउनन थालेको छ ।