Breaking

रास्वपाले पूर्वमहामन्त्री मुकुल ढकालसँग दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय


काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वमहामन्त्री डा.मुकुल ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसअघि सचिवालय बैठकले गरेको निर्णयलाई आज बसेको केन्द्रीय समितिले अनुमोदन गरेको हो ।

पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई तपाईंलाई साधारण सदस्य नरहने गरी किन कारबाही नगर्ने भनी २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ’, कार्यबाहक प्रवक्ता मनिष झाले भने । यसअघि ३० साउनमा पनि रास्वपाले मुकुलसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जसको जवाफमा ढकालले सभापति रवि लामिछानेलाई आफ्नो नैतिक धरातल पुष्टी गर्न चुनौती दिएका थिए ।

सचिवालयले सोधेको स्पष्टीकरणमा ढकालले चित्तबुझ्दो जवाफ नदिएको आजको केन्द्रीय समिति बैठकले ठहर गरेको छ । बैठकले ढकाललाई अन्तिमपटक स्पष्टीकरणका लागि समय दिने निर्णय गरेको कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

२५ असारमा रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता, केन्द्रीय सदस्य पदबाट हटाएको थियो । उनलाई साधारण सदस्यबाट पनि किन नहटाउने भन्दै रास्वपाले स्पष्टीकरण माग गरेको हो ।