परराष्ट्रमन्त्री आरजु राणा देउवा चार दिने औपचारिक भारत भ्रमणमा छिन् । भारतीय समकक्षी एस जयशंकरदेखि प्रधानमन्त्री नरेन्द्र मोदीसँगसमेत दुई पक्षीय उच्चस्तरीय शिष्टाचार भेटवार्ता गरेकी छन् । उच्चस्तरी दुई पक्षीय कुटनीतिक भेटवार्तामा फड्को मार्दै वाहवाही बटुली रहेकी परराष्ट्रमन्त्री राणाको भारत भ्रमण नेपाल–भारतबीचको सम्बन्ध सुधार र दुईपक्षीय हितमा कति हितकारी हुन सक्ला ? बहस जारी छ ।
झण्डै एक दशक यताका नेपालका परराष्ट्रमन्त्रीहरुलाई दुई पक्षीय भेटको अवसरसमेत नदिएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भने सोमबार साँझ भेट गरे । परराष्ट्रमन्त्री राणाको भ्रमणलाई भारतले प्राथमिकतामा राखेको मोदीले दिएको भेटले समेत पुष्टि गर्छ । परराष्ट्रमन्त्री भएपछि पहिलो पटक भारत पुगेकी मन्त्री राणा र प्रधानमन्त्री मोदीबीच सोमबार साँझ प्रधानमन्त्री निवास नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणका लागि पठाएको निम्तो बोकेर गएकी परराष्ट्रमन्त्री राणाले भारतका प्रधानमन्त्रीसँग भेट गर्नु सामान्य भए पनि नेपाल–भारतबीचको कुटनीतिक व्यवहारमा यस्ता दृश्य बिरलै देख्न पाइन्छ । २०७२ सालमा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई भेट दिएका मोदीले त्यसयता नेपालका कुनै पनि परराष्ट्रमन्त्रीलाई दुई पक्षीय भेटवार्ता गरेका थिएनन् ।
थापापछि नेपालको परराष्ट्रमन्त्रीलाई मोदीले भेट दिएको राणा पहिलो बनेकी छिन् । यो अवधिमा कहिले कांग्रेस त कहिले कम्युनिस्ट कित्ताका झन्डै आधा दर्जन परराष्ट्रमन्त्री बने तर कसैलाई मोदीले भेट दिएनन् । मोदीले भेट नदिएका परराष्ट्रमन्त्रीको सूचीमा प्रदीप ज्ञवालीदेखि एनपी साउदसम्मै पर्छन् ।
नेपालमा शक्तिशाली कम्युनिस्ट सरकारको रुपमा हेरिएको तत्कालीन नेकपा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री ज्ञवालीले भारत भ्रमणका बेला निक्कै प्रयास गर्दा पनि मोदीसँग भेट गर्न पाएका थिएनन् । जब कि २०२२ जुलाइमा भारत गएका माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समेत भेट्ने प्रयास गर्दा मोदीले व्यस्तता देखाउँदै भेट दिएका थिएनन् । त्यसैले पनि परराष्ट्रमन्त्रीका हैसियतमा मोदीलाई भेट्नु आरजुको सफलता हो ।
कार्यवहाक राजदूतको भरमा रहेको भारतस्थित नेपाली दूतावास, बिना एजेन्डा भारत पुगेकी राणालाई विमानस्थलमै समेत भव्य स्वागत गरिएको थियो । भारतीय समकक्षी एस जयशंकरसँग भेट गरेपछि उनले मोदीसँग भेट गरेकी हुन् । जुन भेटवार्ताले परराष्ट्रमन्त्री राणाको भारत भ्रमण चर्चाको विषय बनेको छ ।
भारतबाट सामान्य कर्मचारी मात्र आए पनि शीतल निवासदेखि बालुवाटार, सिंहदरबारका कोठाचोठासम्मका ढोला सधैँ खुला हुने गर्छ । अर्थात सामान्य हैसियतका कर्मचारीले समेत नेपालका राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीसम्मै सहजै भेट पाउने गरेका छन् ।
जसले नेपालको कुटनीतिक मर्यादाको धज्जी उडाउने गरेको विगतलाई बिर्सन मिल्दैन । भारतप्रति नेपाली नेताहरु कति उदार र नतमस्तक हुन्छन् भन्ने कुराको उदाहरण खोज्न धेरै पर पुग्नु पर्दैन । केही दिन अघि मात्रै भारतका विदेश सचिव विक्रम मिस्री नेपाल आउँदा उनलाई दिइएको भेटलाई नियाले पुग्छ । दुई देशबीचको कुटनीतिक सम्बन्धमा भारतले नेपाललाई समान व्यवहार नगरेको जानकारहरु नै बताउँछन् । भारतको सामान्य हैसियतका कर्मचारीलाई भेट्नसमेत नेपाली नेताले धेरै पापड बेल्नु पर्ने अवस्था रहेको अनुभव पूर्वराजदूतहरुकै छ ।
परराष्ट्रमन्त्री राणालार्ई स्वागत गर्न पाएकोमा मोदीले खुशी व्यक्त गरेका छन् । दुई पक्षीय भेटमा नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री राणाले पनि मोदीसँगको भेटबारे जानकारी दिँदै नेपाल भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाईमा पुग्ने अपेक्षा रहेको व्यक्त गरेकी छन् । भारतीय प्रधानमन्त्रीसँगको भेट आफैँमा ऐतिहासिक र महत्वपूर्ण भए पनि बिना एजेन्डा भारत पुगेकी परराष्ट्रमन्त्री राणाको भ्रमणले नेपाल भारतबीच वर्षौंदेखिको समस्या समाधानमा भने खासै अर्थ नराख्ने विश्लेषण भइरहेको छ ।
त्यसो त छिमेकी मुलुक बंगलादेशको घटनाले तरंगित मोदीको व्यस्तता पनि कम छैन । देशभित्रको आन्तरिक राजनीति मात्रै नभई छिमेकी देशहरुमा अमेरिका र चीनको बढ्दो प्रभावले समेत मोदी दबाबमा छन् । नेपालमा भएको सरकार परिवर्तनमा अमेरिकाको भूमिकालाई लिएर भारत शंशकित देखिन्छ । अर्कोतर्फ चीनको बढ्दो चासोले पनि भारतले नेपाललाई प्राथमिकतामा राख्नु पर्ने बाध्यता आइपर्दा भारतसँग राम्रो सम्बन्ध रहेकी परराष्ट्रमन्त्री राणाले सम्मानजनक स्वागत पाएको देखिन्छ ।
यसले नेपालको भूराजनीतिमा पार्ने प्रभावबारे अहिले नै आकलन गर्न सकिने अवस्था नरहे पनि आगामी दिनमा पक्कै पनि छर्लंग हुने नै छ । अर्कोतिर जापानका परराष्ट्रमन्त्रीसँगको भेट, मलेसियाका प्रधानमन्त्रीलाई भारतमा स्वागतको तयारी, लगत्तै युद्धग्रस्त युक्रेन भ्रमणमा जाने चटारोकाबीच मोदीले परराष्ट्रमन्त्री राणालाई भेट दिनुलाई भने अर्थपूर्ण रुपमा लिइएको छ । मोदीसँगको भेटको अन्योलताका बीच भारत पुगेकी राणाको भ्रमणलाई महत्व दिइए पनि नेपाल भारतबीच वर्षौंदेखिका समस्याका विषयले भने उठ्नै सकेनन् । ईपीजी प्रतिवेदन, चुच्चे नक्सामा समेटिएका भूमिसहितको सीमा विवादलगायत विषयहरु भने गौण बन्दा उनको भ्रमण उपलब्धिमुलक भने बन्न सकेन । उनको यो उच्चस्तरीय भेटको कुटनीतिक परिणामको लेखाजोखा आगामी दिनमा हुने नै छ ।
प्रतिक्रिया