अन्तर्राष्ट्रिय

कोलकाता काण्डले भारतमा हंगामा, आन्दोलन चर्किया


भारतको कोलकातामा एक महिला चिकित्सकको बलात्कारपछि हत्याको विरोधमा देशभर आन्दोलन चर्किदै गएको छ । आन्दोलनकाबीच प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको भ्रमणमा जाने भएका छन् । स्वास्थ्यकर्मीहरुको आन्दोलन जारी रहेकै अवस्थामा हुन लागेको यो भ्रमणका कारण सरकारले केही दबाब झेल्नु पर्ने विश्लेषण हुन थालेको छ ।

कोलकातामा एक महिला चिकित्सकको बलात्कारपछि हत्याको घटनाले अहिले भारतमा आन्दोलनसँगै बहस र चर्चा भइरहेको छ । कोलकाताको आरजी कार मेडिकल कलेजमा गत अगस्ट १४ र १५ गते मध्यरातमा एक महिला चिकित्सकको बलात्कारपछि हत्या भएको हो । उक्त घटनालाई लिएर महिला संगठन र नागरिक समाजसँग आबद्ध व्यक्तिहरुले दोषीलाई मृत्यु दण्डको सजायको माग गर्दै सडकमा आन्दोलन गरिरहेका छन् । यो घटनाले महिला सुरक्षाको मुद्दा फेरि एकपटक भारतको राष्ट्रिय राजनीतिमा ल्याएको छ । घटना सार्वजनिक भएपछि भारतभर जनआक्रोश बढ्दै गएको छ ।

महिलामाथि हुने यौनिक हिंसाविरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म व्यापक तवरले विरोध प्रदर्शनहरु भइरहेका छन् । यो घटनामा राजनीति दबाब पनि बढ्दै गएको छ । दबाबकाबीच प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको भ्रमणमा जाने भएका छन् । यौन हिंसाको घटनाले जनआक्रोश बढिरहेको अवस्थामा विदेश भ्रमणमा जान लागेका प्रधानमन्त्री मोदीको प्राथमिकतामा यो विषय नपरेको हो कि ? भन्ने प्रश्न उब्जाएको छ । सरकारले यो विषयलाई गम्भीर रुपमा नलिएको विश्लेषण भइरहेको छ । चिकित्सकको बलात्कार र हत्याको मुद्दा सीबीआईलाई सुम्पिएको छ ।

‘यो विषयको अनुसन्धान लामो समयदेखि प्रहरीमा थियो । यसैबीच भारतको सर्वाेच्च अदालतले प्रशिक्षार्थी महिला चिकित्सकको बलात्कारपछि हत्या घटनामा सुनुवाइ गर्दै कडा टिप्पणी गरेको छ ।
अदालतले यस मामिलालाई स्वतः संज्ञानमा लिएको छ । उक्त अपराधबारे केहीबेरमै पत्तो लागे जस्तो देखिए पनि मेडिकल कलेजका प्रिन्सिपलले यसलाई आत्महत्या बताउन खोजेको अदालतले उल्लेख गरेको छ । साथै अदालतले कोलकाता प्रहरीमाथि पनि प्रश्न उठाएको छ ।

यस मामिलामा एफआईआर दर्ता गर्न ढिलाइ गरेको भन्दै अदालतले पश्चिम बंगाल सरकारको आलोचना गरेको छ । राज्यमा कानुनी व्यवस्था पूर्ण रुपमा असफल भएको जनाउँदै प्रहरीको जानकारी बिना ठूलो संख्यामा रहेको भिड आरजी कार अस्पतालमा प्रवेश गर्न नसक्ने बताएको छ । अदालतले राष्ट्रिय प्रोटोकल तयार गर्न १० सदस्यीय टास्क फोर्ससमेत गठन गरेको छ । यसले चिकित्सकको सुरक्षा तथा सुविधाबारे सुनिश्चित गर्ने छ । साथै पीडितको नाम सञ्चारमाध्यमहरुमा जताततै सार्वजनिक भएकोमा अदालतले चिन्ता व्यक्त गरेको छ ।

अदालतले कोलकाताको आरजी कार मेडिकल कलेज तथा अस्पतालको सुरक्षाको जिम्मेवारी केन्द्रीय औद्योगिक सुरक्षा बलको हुने निर्देशन दिएको छ । ताकि चिकित्सकहरु आफ्नो काम फर्किन सकुन् भन्ने उद्देश्य अदालतको रहेको छ । यस्तै अदालतले सीबीआईलाई बलात्कार तथा हत्या मामिलाको जाँचसम्बन्धी रिपोर्ट र पश्चिम बंगाल सरकारलाई आरजी कार अस्पतालमा भिडबाट भएको आक्रमणको जाँचसम्बन्धी रिपोर्ट बुझाउन पनि आदेश दिएको छ । भारतमा महिलाविरुद्ध हुने हिंसाका घटनामा कमी आउन नसकेको तथ्यांकहरुले देखाएका छन् । गत वर्ष मात्र टम्सन रोएटर्स फाउन्डेसनले गरेको सर्वेक्षणमा भारतलाई महिलाका निम्ति सबैभन्दा खतरनाक देश मानिएको थियो ।

भारतमा बलात्कार तथा यौनहिंसा ठूलो समस्याको रुपमा रहेको छ । १८ देखि ३० वर्ष उमेरका महिला बलात्कारबाट बढी पीडित हुने गरेका छन् । हरेक ३ महिलामा एक जना पीडित १८ वर्ष मुनिका तथा हरेक १० मा एक पीडित १४ वर्ष मुनिका बालिकाहरु हुने गरेका छन् । भारतमा हरेक २० मिनेटमा एक महिला बलात्कृत हुने गरेको तथ्यांकले देखाएको छ । भारतको राजधानी दिल्लीमै सबैभन्दा धेरै बलात्कारका घटना हुने गरेका छन् । त्यहाँ हरेक दिन ९३ जना महिलामाथि बलात्कार हुने गर्दछ । कैयौँ त्यस्ता घटना प्रहरीसम्म पुग्दैनन् । भारतमा डरलाग्दो लैङ्गिक विभेद रहँदै आएको छ । यसको अर्थ भारत पुरुषले भरिएको देश हो । यसो हुनुको मुख्य कारण गर्भभित्रै शिशुको लिङ्ग छनोट गरी गरिने गैरकानुनी गर्भपतन रहेको छ । भारतमा १ सय १२ छोरा जन्मिँदा १०० छोरी जन्मिन्छन् ।

यसअघि भारतमै चार जनालाई त सर्वोच्च अदालतको फैसलापछि मृत्युदण्ड दिइएको थियो । भारत सरकारले सोही घटनापछि नै बलात्कारका दोषीलाई कडा सजायको व्यवस्था गरेको छ । तर पनि भारतमा बलात्कारका यस्ता क्रुर घटनामा न्यूनीकरण हुन सकेको छैन । सरकारले जति कडा कानुन ल्याए पनि यस्ता घटनामा कमी आउन सकेको छैन । भारतमा मात्रै बलात्कारका क्रुर घटना किन हुन्छन् ? भन्ने जिज्ञासा विश्वभरका मानिसमा बढ्दै गएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा योहो टेलिभिजनका लागि मिङमा शेर्पा काठमाडौँ ।