काठमाडौं उपत्यकालगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा गाईजात्रा पर्व मनाइएको छ । हुन त नेताहरूले बाहै्र महिना गाईजात्रा देखाउने नेपालमा आजदेखि भने एक सातासम्म मौलिक पर्वको रुपमा रहेको गाईजात्राको रौनक सुरु भएको हो ।
वर्ष दिनयता दिवंगत भएका आफन्तको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा मनाइने गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा मनाइन्छ । दिवंगत परिवारका सदस्य वा आफन्तको स्मृतिमा मनाइने यो पर्वमा मृतकको तस्बिर र गाईको झाँकीसहित काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा जात्रा निकाल्ने गरिन्छ । दिवंगत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खाने कुरा र भेटी दान गर्दा पितृले मोक्ष पाउने जनविश्वास रहेको छ । यसै जनविश्वास अनुसार गाईजात्रा मनाउनेको भिड ठूलै हुँदा काठमाडौं, भक्तपुर लगायतका जिल्लामा जात्राको रौनक देखिन्छ ।
नाबालक छोरा चक्रवर्तेन्द्रको मृत्युपश्चात् शोकाकुल रानीलाई सान्त्वना दिँदै काठमाडौंका तत्कालीन राजा प्रताप मल्लले वर्ष दिनको शोकमा रहेकालाई गाईसहित दरबार परिसरमा आउन आदेश दिएपछि गाईजात्राको रूप लिएको इतिहासमा उल्लेख छ । तर समयक्रम अनुसार पछिल्ला केही दशकयता भने गाईजात्रा मनाउने शैली पनि फरक हुन थालेको छ । अहिले समाजमा विद्यमान विकृति र विसङ्गतिलाई हास्य व्यंग्यमार्फत उजागर गर्ने गरिन्छ ।
गाईजात्रामा सामाजिक तथा राजनीतिक विकृतिविरुद्ध सिधै प्रहार गर्न पाइने छुट हुँदा परम्परागत, धार्मिक र सांस्कृतिकसँगै यो पर्व हास्य व्यंग्यको पर्वको रुपमा पनि स्थापित हुँदै गएको छ । समाजमा देखिएका बेथितिविरुद्ध सुसूचित गर्दै व्यंग्यात्मक शैलीमा त्यस्ता कार्यको आलोचना गर्ने दिनको रुपमा कलाकारहरूले गाईजात्रालाई लिने गरेका छन् । साथै निर्भयका साथ आफ्ना कला प्रस्तुत गर्ने गर्छन् । यसपटक पनि तीजका गीतमा बढ्दै गएको उच्छृङ्खलतादेखि शिक्षा क्षेत्रमा देखिएको विसङ्गतिलाई कलाकारहरूले व्यंग्य गर्न भ्याएका छन् । सार्वजनिक स्थलमा तीजको गीत गाउनै नसक्ने र कक्षा कोठामा विद्यार्थीलाई पढाउनु पर्ने शिक्षक सडकमा उत्तानो पर्दा नतिजा पनि उत्तानो परेको भन्दै गायक र शिक्षकलाई कलाकारहरूले पेचिलो प्रहार गरेका छन् ।
समसामयिक सबै विषयमा गाईजात्राले व्यंग्यात्मक प्रहार गर्ने भए पनि सबैभन्दा बढी गाईजात्रामा राजनीतिक नेतृत्व नै कलाकारका नजरमा पर्ने गरेका छन् । दिनप्रति दिन देशको अवस्थाबाट निराश र वाक्कदिक्क बनेको जनभावनालाई सम्बोधन गर्दै यो अवस्था आउनुमा मुख्य जिम्मेवार नेताहरु नै भएको हुँदा उनीहरुमाथि चोटिलो व्यंग्य गर्ने गर्छन् ।
कलाकारहरुले गाईजात्रालाई राजनीतिक नेतृत्वमाथि व्यंग्यात्मक गाली गर्न पाउने पर्वकै रुपमा लिने गरेका छन् । कलाकारहरूले तीखो, चोटिलो र पेचिलो वाणीले नेताहरूमाथि प्रहार गर्ने संस्कार गाईजात्रामा एउटा परम्पराकै रुपमा बसिसकेको छ । तर, पनि नेताहरू आफैँमाथि भएको व्यंग्यमा रमाइरहेका देखिन्छन् । त्यसबाट सुध्रिनु पर्छ भन्ने सन्देश भने ग्रहण गर्न चाँहदैनन् । कलाकारको व्यंग्यलाई पनि गाईजात्रा र हासिमजाकमा नै उडाउने बानी परिसकेका नेताहरूबाट हाँस्य कालकारहरूसमेत वाक्क बनेका छन् ।
त्यसो त विगतका वर्षहरुमा हप्ता दिनसम्ममात्रै गाईजात्रा गर्न पाइन्थ्यो । तर, अहिले नेताहरूले वर्षभरी नै राजनीतिमा गाईजात्रे प्रवृत्ति देखाउँदा उनीहरूको आलोचना र उनीहरूलाई गर्ने गालीबिना गाईजात्रा नै अपुरो जस्तो हुने भइसकेको छ । प्रत्येक वर्ष त्यही हाँस्य कलाकार र उही नेतालाई गाली गरेको प्रहसन गाईजात्रामा नछुट्ने पाटो हो । तर, ४५ वर्षदेखि निरन्तर गाईजात्रा गर्दै आएका हाँस्य कलाकार शैलेन्द्र सिम्खडाले त्यसको कारण खुलाएका छन् । नेतालाई गाली गर्नुको मुख्य श्रेय नै जनतालाई जाने उनको बुझाई छ ।
जतिसुकै चोटिला र पेचिला व्यंग्य प्रहार गर्दा पनि नेताहरूले त्यसलाई गाईजात्राको मजाको रुपमा मात्रै लिँदा व्यंग्य नै अर्थहिन बन्ने गरेको स्वयम कलाकारहरुको टिप्पणी छ । जसले गर्दा नेताहरू नसुध्रिने र कलाकारहरूले व्यंग्य गर्ने क्रम चलिनै रहेको छ । नेपालबाहेक विश्वमै कहिकतै नमनाइने नेपालीको मौलिकता पर्वको रुपमा रहेको गाईजात्राको धार्मिक र संस्कृति महत्व छुट्टै रहँदै आएको छ ।
नेवार समुदायको बाहुल्य रहेको स्थानमा मात्रै सीमित यो पर्व पछिल्लो समय भने देशव्यापी रुपमा फैलिँदै गएको छ । पितृ मोक्षको कामना गर्दै सुरु भएको यो पर्वले आजको दिनसम्म आइपुग्दा धेरै विशेषता बोकिसकेको छ । त्यसमध्येक हाँस्य व्यंग्य पनि यसको एउटा मुख्य पाटो बन्दा सामाजिक र राजनीतिक रुपमा व्याप्त विकृतिविरुद्ध आवाज उठाउने महत्वपूर्ण पर्व नै बनेको छ ।।
प्रतिक्रिया