प्रदेश–१

कोशी प्रदेशसभाको बैठक १८ भदौमा


काठमाडौँ— कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा बैठक भदौ १८ गते बोलाएका छन् ।

दुई तिहाई बहुमत सरकारको छायाँमा प्रदेश सभा परेको भन्दै प्रतिपक्षि दल नेकपा माओवादी केन्द्रसहित सत्तारुढ सांसदले नै विरोध गरेपछि सभामुख विष्टले १८ भदौमा बैठक बोलाएका हुन् । ८ असारमा बजेट पास भएपछि प्रदेशसभाको बैठक स्थगित भएको थियो ।

मुख्यमन्त्रीको ग्रिन सिग्नल पर्खिरहेका सभामुख विष्टले सत्तारुढ दल एमाले र कांग्रेसका सांसदले पनि दबाब दिएपछि बैठक बोलाएका बोलाएका हुन् ।

नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मन्त्रालय विभाजन गर्ने तयरी गरेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तारपछि मात्रै प्रदेशसभा बैठक बोलाउन सभामुखलाई दबाब दिएका थिए । सभामुखले पनि उनलाई सहज हुनेगरी दुई साता समय दिएर प्रदेशसभा बैठक बोलाएका हुन् । माओवादी केन्द्रले जनसरोकारका विषय र सरकारको कामबारे समीक्षा गर्न तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको थियो । पूर्व मुख्यमन्त्री केदार कार्की र एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि तत्काल बैठक बोलाउन माग गरेका थिए ।

प्रदेशसभा सचिवालयमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक सरकारले टेवल गरेको थियो।