Breaking

लाखौँ लुट्ने सहकारी ठगहरु, जीबीलाई मात खुवाउनेको लिस्ट


काठमाडौँ – सहकारीको रकम अपलचलनमा पछिल्लो तीन वर्षमा १ हजार ८ सय जनाविरुद्ध उजुरी परेकोमा हालसम्म जम्मा ४ सय जना मात्र पक्राउ परेका छन् । बाँकी १ हजार ४ सय जना भने अझै पक्राउ परेका छैनन् । सहकारी रकम अपचलनमा वडा अध्यक्षदेखि हाइप्रोफाइल संसद, मन्त्रीसम्मको नाम जोडिँदा पनि पहुँचवालाहरु अझै कानुनी दायरामा आएका छैनन् । कतिपय खुलेआम सार्वजनिक पद धारण गर्दै हिँडिरहेका छन् भने कतिपय विदेश भाग्न सफल भएका छन् ।

हजारौँ सहकारी पीडितहरुको अर्बौं रकम झ्वाम पार्नेहरुमध्ये अझै पनि १ हजार ४ सय जना पक्राउ पर्न सकेका छैनन् । १ हजार ८ सय जनाविरुद्ध उजुरी पर्दा ४ सय जनामात्रै कानुनी दायरामा आएका हुन् । सहकारी ठगी प्रकरणमा वडाध्यक्ष, मेयरदेखिहाइप्रोफाइल सांसद, मन्त्रीसम्म कै नाम जोडिएको छ । सहकारी संस्थाहरुमा बचत अपचलनको छानबिनका लागि गठन भएको संसदीय समितिका अनुसार देशभरमा साढे दुई खर्बभन्दा बढी बचत रकम अपचलन भएको पाइएको छ ।

संसदीय छानबिन समितिले अनुसन्धान जारी राखेको अवस्थामा यो विषय कसरी किनारा लाग्ने भन्ने अझै अन्योल कायमै छ ।कतिपय आरोपकै बीच पनि सार्वजनिक पद धारण गर्न सफल छन् भने कतिपय भागेर विदेश पुगेका छन् ।सहकारी काण्डमा मुछिएका१० हाइप्रोफाइलहरु बारे चर्चा गरौँ ।


नम्बर १. जीबी राई
सहकारी ठग भन्नसाथपहिलो नम्बरमा आउने नाम हो, गितेन्द्रबाबु राई उर्फ जीबी राई ।सूर्यदर्शन सहकारी लगायत अन्य थुप्रै सहकारीको अर्बौं रकम कुम्लाएर अहिले उनी विदेशमा ऐसको जीवन बिताइहेका छन् । उनी मलेसियामा रहेको सुरक्षा अधिकारीहरुकै भनाइ छ । उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलमार्फत् १९६ देशमा खोजीका लागि रेड कर्नर सूचना जारी भइसकेको छ । तर यतिका समय बित्दा पनि उनलाई पक्राउ गर्न नेपाल प्रहरी असक्षम देखिएको छ । जीबी राई संलग्न रहेको सहकारीको रकम हिनामिनामा जोडिने नाम हो पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने । उनी गृहमन्त्री हँुदा जीबीलाई समात्नेभन्दा बढी संरक्षण गर्न लागेको आरोप छ । नेपालमा सरकार परिवर्तन भयो तर उनलाई नेपाल ल्याउने बाटो फेरिएको छैन । उनलाई नेपाल ल्याउन कानुनी अड्चन रहेको बताउने सरकारले त्यसलाई परिवर्तन गर्ने पहलै गरेको देखिँदैन ।

नम्बर २. इच्छाराज तामाङ
सहकारी ठगीमा आउने अर्को हाइप्रोफाइल नाम हो, इच्छाराज तामाङ । संविधानसभा सदस्यसमेत रहेका सिभिल ग्रुपका अध्यक्ष तामाङ सिभिल सहकारीको ५ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि अहिले थुनामा छन् । उनीविरुद्ध सहकारी ठगी मुद्दा चलिरहेको छ ।
नम्बर ३.दिपेश पुन
जनयद्धका कमाण्डर, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेश पुन पनि सहकारी ठगको सूचीमा आउने हाइप्रोफाइल मध्येका एक नाम हो । रुपन्देहीको सुप्रिम सहकारीको ९६ करोड रकम अपचलन गरेको आरोपमा उनी २०८० चैत्र २ मा पक्राउ परेका थिए । त्यसको एक साता पछि जिल्ला अदालत, रुपन्देहीमा ४ लाख धरौटी बुझाएपछि उनी हिरासतमुक्त भएका थिए ।
नम्बर ४. देवकुमार नेपाली
राजकीय जीवनशैली, घरमै हेलीप्याड । हेलिकप्टरमा हिँडडुल गर्ने बाग्लुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीमाथि पनि सहकारीको रकम अपचलन गरेको उजुरी परेको छ । बाग्लुङ र पोखराको ईमेज सहकारीमा एक हजार चार सय ८१ जनाको उजुरी अनुसार डेढ अर्ब बढी रकम अपचलन गरेको अरोपमा उनीमाथि पक्राउ पुर्जी जारी भए पनि उनी हाल फरारको सूचीमा छन् ।


नम्बर५ . केबी उप्रेती
एमालेका सहकारी तथा गरिबी निवारण विभागका पूर्वसचिव केबी उप्रेती पनि सहकारी ठगीमा परेका हाइप्रोफाइलनाम हो । आइडियल यमुना हाम्रो सहकारीको ८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोपमा गत असार १९ गते काठमाडौंको बालाजुबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
नम्बर६. गीता बस्नेत
राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक सांसद गीता बस्नेतमाथि चितवन, बर्दिया र नवलपरासीका तीन सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ । बर्दियामा आफूले सञ्चालन गरेको रिसोर्टमा सहकारीको रकम अपचलन गरी लगानी गरेको भन्दै उनीविरुद्धको मुद्दा अदालत पुगेको छ । उनी पनि हाल फरार सूचीमा छिन् ।

जनार्दन शर्मा अर्थमन्त्री भएका बेला राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त भएका डा. बलराम पाठक पनि सहकारीको रकम अपचलनमा जोडिएको अर्को चर्चित नाम हो । ललितपुरको गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका उनले बचतकर्ताको २ अर्ब २५ करोडभन्दा धेरै रकम अपचलन गरेको आरोप छ ।

देउराली बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा रविन्द्र चौलागाईंलाई पक्राउ गरी अनुसन्धान गरेको सीआईबी तत्कालीन सेन्चुरी बैंकमा सञ्चालक र व्यवस्थापकले गरेको अपचलनको अनुसन्धानसम्म पुगेको छ । देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रविन्द्र चौलागाईं माथि सुमेरु ग्रुपको सम्पत्तिसमेत हत्याउने योजना गरेको आरोप छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको उजुरी पछि पक्राउ पुर्जी जारी भएर पनि फरार सूचीमा रहेका अर्का व्यक्ति हुन्, तेजबहादुर तामाङ । उनी शिवशिखर सहकारी संस्थाका सचिव हुन् ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका पूर्वकोषाध्यक्ष तथा बागमती प्रदेशसभामा कांग्रेसका तर्फबाट उम्मेदवार भइसकेका चन्द्रबहादुर (सीबी) लामा, पनि सहकारी ठगीमा जोडिएका व्यक्ति हुन् । उनले कान्तिपुर सहकारीमा अध्यक्ष छँदा एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार रुपैयाँ अपचलन गरेको आरोप छ । उनलाई प्रहरीले गत जेठ १८ गते चितवनबाट पक्राउ गरेको थियो ।

प्रहरीले सहकारी ठगीमा संलग्नहरूको अनुसन्धान गरी अदालतमा पु¥याएको मुद्दा संख्या जति ठूलो छ, त्यसभन्दा धेरै संख्या सहकारी ठगीमा संलग्न भइ फरार रहेकाहरूको छ । राज्य संयन्त्र कमजोर हुँदा सर्वसाधारणबाट संकलन गरेको रकम अपचलन गरी अदालतबाट पक्राउ पुर्जी जारी भएकाहरू प्रहरी हिरासतमा हुनुपर्नेमा अहिले पनि खुलेआम हिँड्नेदेखि विदेश भाग्न सफल छन् । जसले पीडितलाई न्याय दिनेभन्दा पीडा दिने काम बढी रहेको छ । सहकारीमा डुबेको अर्बौं रकम पीडितले कहिले पाउने हुन् ? अझै अनिश्चित छ ।