Breaking

खोई रविको रापताप ? रवि दाइ हाईहाई भन्ने हराए ?


काठमाडौँ – प्रतिपक्षमा पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टी संगठन केन्द्रित गतिविधिमा जुटेको छ । तर, तीन महिने सत्ता यात्राले उसलाई धेरै क्षति गरेको देखिन्छ । यतिसम्म कि सभापति रवि लामिछाने सञ्चारकर्ममा रहँदा र नेता बनिसकेपछिको उनको धरातलको दूरी निकै धेरै भइसकेको छ ।

यो दृश्य रवि लामिछाने सञ्चारकर्मी भएका समयको हो । सा रे ग म प लिटिल च्याम्सको ग्राण्ड फिनालेमा गाएको यो गीत धेरैले मन पराए । रवि लामिछाने बहुप्रतिभाका धनी भन्दै चर्चा पाए । त्यससमय देशलाई रवि जस्तो सपुतको खाँचो छ भन्थे ।

यो दृश्य सुर्खेतको हो । एक महिनाअघि सत्ता गुमेपछि सडकमा भेटिएका एक दृश्टिविहीनसँग उनले ‘मैले छोएको पानी चल्दैन’ बोलको गीत गाउँछन् । तर, प्रतिक्रिया सञ्चारकर्मी हुँदा गाएको गीतमा र नेता भएर गाएको गीतमा बिल्कुलै फरक छन् । हिजो बहुप्रतिभाशाली भन्नेहरु नै आज आएर रविलाई भन्दैछन्– ‘गीत गएर देश बन्ने भए त पहिल्यै बनिसक्थ्यो ।’
यो सामान्य तुलना गर्न खोजिएको मात्र हो ।

अर्थात, सञ्चारकर्मी छँदा जुन धरालतमा लामिछाने थिए – त्यो अवस्थामा अहिले छैनन् भन्ने तर्कलाई थोरै भए पनि यो तुलनाले बल पु¥याउँछ । अर्थात सञ्चारकर्ममा हुँदा फलामलाई पनि सुन बनाउन सक्ने लामिछाने अहिले भने जे गरे पनि केही सुख नपाउने अवस्थामा छन् । त्योभन्दा पनि माथि उठेर भन्ने हो भने जति सर्वसाधारणलाई न्याय दिलाउन उनले टेलिभिजन कार्यक्रममार्फत पहल गर्दै सफलता पाए सरकारमा जाँदा त्यति पनि गर्न सकेनन् । त्यसमाथि पार्टीकै विवादले झन समस्या पारिदियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक संघर्ष उत्कर्षमै रहेका बेला पार्टी सत्ताबिहीन बन्न पुग्यो । निलम्बित महामन्त्री मुकुल ढकालका प्रश्न अहिले पनि सभापति लामिछानेलाई भारी परिरहेकै छ । भलै सरकारबाट बाहिरिएपछि बाँकी धेरै प्रश्नको सामना गर्नु परेको चाहिँ छैन । पार्टी प्रतिपक्षमा पुगे लगत्तै क्लोज क्याम्प चलाइयो । तर, मुकुल ढकालले पार्टी सुधारका लागि दिएका सुझाव नमानेर उल्टै कारवाही गरिएको भन्दै आलोचना भयो । त्यसपछि पाँच दिन सार्वजनिक गाडीमा यात्रा गर्न नेताहरुलाई उर्दी जारी गरियो ।

नेताहरु पनि सार्वजनिक गाडीमा यात्रा गर्छन् भनेर थिति बसाउन उनीहरुको मिसन सफल हुन सक्थ्यो । तर, उनीहरुले यसलाई प्रचारको रुपमा मात्रै लिए । वर्षौँदेखि सार्वजनिक गाडीमै यात्रा गरिरहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीको नक्कल गर्न खोजिएको भन्दै उल्टै आलोचना भयो । यसबीचमा सहकारी प्रकरणमा भदौ सात गते संसदीय छानविन विशेष समितिले लामिछानेकै बयान लिँदैछ । अहिलेसम्म उनी जोडिएका सहकारीका सञ्चालकहरुले इन्कारी बयान दिएकाले सरकारमै रहेका बेला राज्य शक्तिको दुरुपयोग गरेका लामिछाने पनि त्यही बाटोमा जानेछन् ।

यसअघि पनि रास्वपाले चितवनमा ब्ल्यू बस चलायो । यो पनि दीर्घकालीन बन्न सकेन । रविले प्रतिपक्षमा हुँदा नारायणघाट–बुटवल सडकखण्ड यथाशीघ्र निर्माणका लागि दबाब दिन पैदलयात्रा नै गरे । जुन विकासमा खबरदारीका लागि अत्यन्तै तारिफ योग्य कदम थियो । तर सरकारमा जाँदा यसबारे कति पहल गरियो रास्वपासँग जवाफ छैन । सरकारमा पुगेको अवस्थामा विदेशका गल्लीमा रहेका युवा फर्काउने घोषणा गरेका लामिछानेले नै सरकारमा पुगेपछि आफैँँ टिकट काटेर फर्किए हुन्छ भन्न थाले ।

आफ्नै हितैसी जीबी राई खोज्नसम्म असफल भएका तत्कालीन गृहमन्त्री लामिछाने आफैँ प्रश्नको भुमरीमा पर्दा सञ्चारकर्मीको हैसियतमा रहँदाजस्तो जनताको विश्वास जित्ने धरातलमा छैनन् । सरकारमै रहेका बेला अपेक्षित काम गर्न नसकेका रविले सरकार ढल्नुको दोष बेचन झाको पक्राउलाई दिए । तर, बेचन झा जेलमा पुगिसकेपछि अब काम गर्दागर्दै हटाइयो भन्ने विकल्प पनि रविसँग बाँकी छैन । अर्थात रविका लागि यो सब ‘जे गरे पनि सुख छैन, ए मेरी बास्सै’ भनेझैँ भएको छ ।