अन्तर्राष्ट्रिय

अमेरिकाको त्यो हतियार, युक्रेन रुसमाथि जाइलाग्यो


काठमाडौँ – रुस र युक्रेनबीच जारी युद्ध अझै लामो समयसम्म चल्ने सम्भावना बढ्दै गएको छ । यो युद्धमा रुसले आफ्नो जितलाई जति सहज देखेको थियो, यथार्थमा यो अत्यन्त कठिन एवं भयावह हुँदै गएको छ । जारी युद्धको प्रारम्भमा रुस आक्रामक देखिएको थियो भने अहिले रक्षात्मक अवस्थामा परिणत हुँदै गएको छ ।

सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आफ्नो विशेष सैन्य कारबाही गरे पश्चात् सुरु भएको रुस–युक्रेनको युद्ध अझै जारी छ । तर, यतिका समयदेखि जारी युद्ध रोकिने छाँटकाँट अझै देखिँदैन । झट्ट हेर्दा दुई देश बीचको युद्ध देखिए पनि भित्री पाटा भने अनेक छन् । जसबाट तेस्रो विश्वयुद्धको खतरासमेत रहेको औँल्याउन थालिएको छ ।

अहिले रुसमाथि युक्रेनी सेना भारी पर्न थालेको छ । लगातर दुई वर्षभन्दा धेरै समय युक्रेनमाथि आक्रमण गरेको रुस अहिले मौन अवस्थामा छ । पछिल्लो समय रुसी भूमि नै कब्जा गरेर युक्रेनले अहिले रुसमाथि व्यापक हमला गरिरहेको छ । रुसको कुस्र्क क्षेत्रमा आफ्नो आक्रमण जारी राखेको युक्रेनले दोस्रो रणनीतिक पुलसमेत ध्वस्त बनाएकोे छ ।

सो पुल ज्भानोईको सेयम नदीमा बनेको दाबी गरिएको छ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसी आक्रमणलाई विफल पार्न बफर जोन निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए । सन् २०२२ मा रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरे यता युक्रेनले रुसमा अहिलेसम्मकै ठूलो कारबाही गरिरहेको छ । यो कारबाही विगत दुई हप्तादेखि जारी छ ।

यसअघि युक्रेनले सेयम नदीमा बनेको अर्को पुल पनि ध्वस्त बनाएको थियो । सो पुल ग्लुसकोभोमा रहेको थियो । उक्त पुललाई रुसी सेनाले प्रयोग गर्ने गरेको दाबी गरिएको छ । युक्रेनी सेनाले ८२ बस्तीसहित १ हजार १५० वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको बताइएको छ । पूर्वी युक्रेनका थप भूभाग आफ्नो नियन्त्रणमा लिने रुसको प्रयास अहिले केही सुस्ताएको छ । अहिले युक्रेनी सेनाले रुसको कुस्र्क क्षेत्रमा प्रवेश गरेर उक्त भूमिमाथि आफ्नो नियन्त्रण कायम गर्न थालेपछि रुस स्तब्ध भएको जस्तो देखिन्छ ।

दोस्रो विश्वयुद्धपछि पहिलो पटक रुसी भूभागमा विदेशी सैनिक प्रवेश गरेको घटनाका रूपमा कुस्र्कमा भएको युक्रेनी आक्रमणलाई लिइएको छ । यता रुसले विदेशी हतियार रुसी भूमिमा प्रयोग भए नसहने बताउँदै आएको छ । अहिले कुस्र्कमा बेलायती च्यालेन्जर ट्यांक प्रयोग भएको छ । अर्थात्, पश्चिमा मुलुकहरूले रुसले तोकेका ‘लक्ष्मण रेखा’ बिस्तारै मेट्दै गएका छन् । ढिलोचाँडो रुसले वास्तवमै ‘लक्ष्मण रेखा’ कोर्नै पर्ने हुन्छ । त्यतिखेर रुसले दिने जवाफ भयावह हुन सक्ने आकलन भइरहेको छ ।