Breaking

दिल्लीमा आरजुको फड्को, अमेरिकाविरुद्ध भारत–नेपाल एक होलान् ?


काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवा दक्षिणी छिमेकी भारतको पाँच दिने भ्रमणमा व्यस्त छिन् । कांग्रेस–एमाले समीकरणको सरकार, अझ प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटकी परराष्ट्रमन्त्री भएकाले राणाको भ्रमणलाई चासोका साथ हेरिएको छ । दक्षिण एसियामा आफ्नो प्रतिद्वन्द्वी चीनको सक्रियता र ह्वात्तै बढेको अमेरिकी दबदबाले झस्किएको भारतले परराष्ट्रमन्त्री राणाको दिल्ली भ्रमणमार्फत कस्तो सन्देश प्रवाह गर्छ ? अर्थपूर्ण बनेको छ ।

बंगलादेशीका पूर्वप्रधानमन्त्री शेख हसिना विगत १९ दिनदेखि छिमेकी मुलुक भारतको शरणमा छिन् । सरकारी जागिरमा आरक्षण कोटाविरुद्ध विद्यार्थीहरुको आन्दोलन उग्र बनेपछि आफ्नो १५ वर्ष लामो शक्तिशाली शासन सत्ता त्यागेर उनी भारत भागेकी थिइन् । अमेरिका र बेलायतले शरण दिन ठाडो अस्वीकार गरेपछि विकल्पविहीन हसिना अगस्ट पाँचदेखि भारतमै बस्दै आएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट हसिनालाई भारतले सुरक्षा घेराभित्र राखेको छ । हसिनाको सुरक्षामा भारत जति कडा रुपमा प्रस्तुत भइरहेको छ भारत उत्तिकै असुरक्षित र संशकित छ ।

नेपालमा आफू अनुकूल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको केही साता नबित्दै बंगलादेशमा हसिना युगको दुःखद अन्त्यको साक्षी बनेको भारत आफ्नो सरकारलाई अमेरिकाले ढालेको हसिनाको अभिव्यक्तिपछि थप झस्किएको छ । दुई कार्यकाल शक्तिशाली सरकारको नेतृत्वमा रहेका मोदी तेस्रो कार्यकाललाई निरन्तरता दिनेक्रममा गठबन्धन सरकारमा झरेपछि दक्षिण एसियामा उनी कमजोर बनेका छन् । बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमदेखि नेपालमा बढ्दो अमेरिकी सक्रियताले निरीह बनेको भारतमाथि अमेरिकी भय बढेको देखिन्छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी र शैन्य सहयोग एसपीपी स्वीकार गरेर कार्यान्वयनमा लागेको बंगलादेशको हालतपछि भारत हच्किएको छ । एमाले–कांग्रेस नेतृत्वको नयाँ समीकरण नै अमेरिकाको अग्रसरता बनेको आरोपका बीच पछिल्लो समय अमेरिकी उच्चस्तरको भ्रमणले भारत थप शंशकित बनेको छ । एमसीसी परियोजना अघि बढाएसँगै असन्तुष्ट रहेको भारत अहिले नेपालले एसपीपी अघि बढाउने भयमा छ । अमेरिकी उच्चस्तरीय भ्रमण होस् या नेपाली सेना लक्षित अमेरिकी सहयोगलाई पनि शंकाको रुपमा हेरिएको छ । फलतः बंगलादेश घटनापछि भारतले छिमेकी मुलुकसँग एकाएक कुटनीतिक सक्रियतालाई तीव्रता दिएको छ । हतार हतार आफ्नो विदेश सचिव विक्रम मिश्रीलाई नेपाल पठाएको भारतले नेपालको पररष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवालाई धुमधामका साथ स्वागत गरेको छ ।

ओलीको दूत बनेर भारत पुगेका परराष्ट्रमन्त्री राणालाई उच्चस्तरीय भेटघाटमा भ्याइनभ्याई छ । राणको भारत भ्रमणले नेपाल र भारत सम्बन्धमा देखिएको अविश्वास चिर्ने अपेक्षा गरिएको छ । २०७२ सालको नाकाबन्दी हुँदै चुच्चे नक्साका कारण बिग्रिएको ओली र भारतबीचको सम्बन्ध अहिले सबैभन्दा बढी चर्चाको विषय बन्ने गरेको छ ।

कहिले चुच्चे नक्सा त कहिले नेपाली नोटमा चुच्चे नक्सा छाप्न लगाएर भारतसँग पौठेजोरी खेल्दै आएका ओली, देउवासँग आफ्नो सहकार्य र सत्ता टिकाउन भारतसँगको विवादमा चुप रहन्छ वा भारतसँग राम्रो सम्बन्ध रहेकी आरजु राणा अस्त्र प्रयोग गरी आफ्नो मुद्दामा अडिग रहन्छन् भन्ने प्रश्न पेचिलो बनेको छ । यस्तै भारत पनि ओली सरकारलाई नै कम्फरटेबल बनाएर बस्छ वा विगतकै अवस्थामा रहन्छ भन्ने प्रश्न उठिरहेको छ ।

छिमेकसँगको समान सम्बन्धलाई बेवास्ता गर्दै हेपाह प्रवृत्तिमा उद्धत भारत पछिल्लो समय दक्षिण एसियामा गुम्दै गएको आफ्नो दबदबा पुनरावृत्ति गर्न चाहिरहेको छ । छिमेकसँगको सम्बन्धलाई सुदृढ गर्दै आफ्नो प्रभावशाली भूमिकामा कमब्याक गर्न खोजिरहेको भारतका लागि चीन र अमेरिका भने टाउको दुखाईको विषय बनेको छ । विगतमा बलियो सम्बन्ध रहेका छिमेकी मुलुकहरु विस्तारै चीन र अमेरिका निकट हुँदै जानु भारतका लागि चुनौती बन्न थालेको छ ।