Breaking

नेपाल पनि मंकिपक्स संक्रमणको जोखिममा छः स्वास्थ्य मन्त्रालय


काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकिपक्स संक्रमणको जोखिममा नेपाल पनि रहेको जनाएको छ।

मंकिपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रूत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा . प्रकाश बुढाथोकीले जानकारी दिए।

प्रवक्ता बुढाथोकीले मंकिपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको पनि बताए। मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा। बुढाथोकीले जानकारी दिए।

उनका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ।

केही दिनयता अफ्रिकी मुलुक कङ्गोमा मंकिपक्स भाइरसको घातक प्रजाती ‘क्लेड १ वी’ फैलिरहेको छ। मन्त्रालयका अनुसार जनवरी यतामात्र उक्त भाइरसका कारण ५४८ जनाको मृत्यु भइसकेको छ।विश्व स्वास्थ्य सङ्गठनले पनि मंकिपक्स संक्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ।