अन्तर्राष्ट्रिय

रुसमा भूकम्पपछि ज्वालामुखी विस्फोट, युक्रेनको आक्रमण पनि रोकिएन


काठमाडौँ – रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विष्फोट भएको छ । आइतबार बिहान करिब सात बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की सहरबाट करिब ९० किलोमिटर पूर्व समुद्री तटमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

रुसको पूर्वी तट नजिकै आइतबार बिहान गएको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ । राज्यद्वारा सञ्चालित मिडियाका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको थियो । सिभेलुच नामक उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्की सहरभन्दा २ सय ८० माइल टाढा विस्फोट भएको जनाइएको छ ।

सो सहरमा करिब १ लाख ८० हजार जनसङ्ख्या बसोबास गर्छन् । रुसी सञ्चारमाध्यम तासका अनुसार ज्वालामुखी विस्फोटपछि ८ किलोमिटरमाथि आकाशसम्म लाभासँगै निस्किएको खरानी र धुँवाको मुस्लो पुगेको थियो । भूकम्प र त्यसपछिको ज्वालामुखीका कारण मावनीय क्षति भएको खबर हालसम्म प्राप्त नभएको अधिकारीहरुले बताएका छन् । भूकम्पको केन्द्रबिन्दु पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा ५५ माइल टाढा रहेको जनाइएको छ । भूकम्पपछि सुनामीको खतराबारे कुनै सूचना जारी गरिएको छैन ।

प्राकृतिक विपद्को सामना गरेको रुस हाल युक्रेनविरुद्ध युद्ध लडिरहेको छ । सन् २०२२ फेबु्रअरी २४ मा युक्रेनविरुद्ध रुसले विशेष सैनिक अभियान सुरु गरेको थियो । रुस युक्रेन युद्ध कहिले अन्त्य हुन्छ भन्ने अझै निश्चित छैन । दुवै देशले युद्ध जित्ने दाबी गरिरहेका छन् । सुरु–सुरुमा युक्रेनले आत्मरक्षाका लागि लडिरहेमा अहिले भने युक्रेनले रुसी भूमिमाथि आक्रमणलाई तीव्रता दिएको छ । रुसी भूमिमै प्रवेश गरेको युक्रेनले रुसको पश्चिमी कुक्र्स क्षेत्रमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको छ ।

युक्रेनी सेनाले ८२ बस्तीसहित १ हजार १५० वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको बताइएको छ । यो युक्रेनले रुसमाथि गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो । यो आक्रमण शान्ति पुनसर््थापना गर्न रुसलाई दबाब दिने प्रयासको एक हिस्सा भएको युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता हेओरही टाइखीले बताएका छन् । युक्रेनले रुसी सीमा सहरमाथि कब्जा गरेकै अवस्थामा आएको भूकम्प र ज्वालामुखी विस्फोटनले अर्को बज्रपात भएको रुपमा हेरिएको छ । युक्रेनसँग युद्ध लडनु मात्रै नभई अब प्राकृतिक विपदको पनि रुसले सामना गर्नु परेको छ ।