Breaking

जसपाले गर्‍यो संविधान पुनरावलोकन आयोग गठन गर्न माग


काठमाडौँ— जनता समाजवादी पार्टी नेपालले संविधान संशोधन तथा परिमार्जनका लागि विज्ञहरु सम्मिलित संविधान पुनरावलोकन आयोग गठन गर्न माग गरेको छ ।

साउन २७ देखि ३० गतेसम्म चलेको जसपा नेपालको केन्द्रीय समिति बैठकले संविधान पुनरावलोकन आयोग गठन गरी त्यसको राय सुझाव र सिफारिसमा आधारमा मात्र संविधान संशोधन गर्नुपर्ने निर्णय गरेको छ ।

केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादवले आज भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन/पुनर्लेखन/परिमार्जन गर्नका लागि संविधान विज्ञहरु सम्मिलित संविधान पुनरावलोकन आयोग गठन गरी राय सुझाव र सिफारिसका आधारमा गरिनुपर्छ ।’

प्रहरी र निजामती कर्मचारी समायोजनका काम सक्न, प्रदेश र संघीय सरकारका मन्त्रालय घटाउन र प्रदेश मामिलासम्बन्धी विषय प्रदेशलाई नै हस्तान्तरण गर्न पनि जसपा नेपालले माग गरेको छ । ‘संविधान बमोजिम प्रदेशलाई हस्तान्तरण गर्न बाँकी रहेका विभिन्न मन्त्रालय मातहतका निकाय र कार्यालयहरु प्रदेशलाई तुरुन्त हस्तान्तरण गरियोस्’, जसपा नेपालले निर्णयमा भनेको छ ।

जसपा नेपालले संविधान संशोधन गरी स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्रधिकारभित्र राख्न पनि माग गरेको छ । त्यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक समावेशी प्रतिनिधित्व भएको संघीय न्याय प्रणाली, राष्ट्रिय र जातीय पहिचानमा आधारित स्वशासनसहितको राज्य संरचना बनाउन पनि माग गरेको छ ।

जसपा नेपालले राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जनसंख्याको आधारमा संसदीय र प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न माग गरेको छ । त्यस्तै राष्ट्रियसभामा प्रदेशको जनसंख्याको अनुपातमा प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने पनि उसको माग छ । ‘स्वतन्त्र एवं दलविहीनताका आधारमा स्थानीय तहको निर्वाचन हुने व्यवस्था गरिनुपर्छ’, जसपाको निर्णयमा भनिएको छ ।