Breaking

थाइल्यान्डमा सिनावात्रा परिवारको दबदबा, छोरी बनिन् प्रधानमन्त्री


थाइल्यान्डमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पाएथोङताअर्न सिनावात्रा प्रधानमन्त्रीमा चुनिएकी छन् । उनको फेउ थाइ पार्टीले प्रधानमन्त्रीको उम्मेदवारमा उनलाई छनोट गरेको हो । यसअघि संवैधानिक अदालतले थाइल्यान्डका प्रधानमन्त्रीलाई बर्खास्त गरेपछि ३७ वर्षीय सिनावात्रा थाइल्यान्डको इतिहासमा कान्छो उमेरकी प्रधानमन्त्री बन्न लागेकी हुन् ।

थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै बुधबार जिम्मेवारीबाट मुक्त गरेको थियो । पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको परिवारसँग निकट रहेका वकिल पिचित चुएनबानलाई मन्त्रीमा नियुक्त गरेका कारण श्रेथामाथि नैतिकताको नियम उल्लंघन गरेको अभियोग लगाइएको हो । पिचितलाई सन् २००८ मा भ्रष्टाचारसम्बन्धी कसुरमा ६ महिनाको जेल सजाय सुनाइएको थियो ।

पदबाट मुक्त भएसंगै थाइल्यान्डको प्रधानमन्त्रीमा अर्बपति उद्योगी तथा पूर्वप्रधानमन्त्री थाक्सिनकी छोरी पाएथोङताअर्न सिनावात्रा प्रधानमन्त्री बनेकी हुन् । पूर्वप्रधानमन्त्री श्रेथा थाविसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको दुई दिनपछि पाएथोङताअर्नलाई संसद्ले नयाँ प्रधानमन्त्रीमा छनोट गरेको हो । गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले पाएथोङताअर्नलाई प्रतिस्थापन उम्मेदवारका रूपमा चयन गरेको हो ।

फेउ थाइ पार्टीले थाइल्यान्डको राजनीतिमा प्रभावशाली मानिने सिनावात्रा परिवारका तेस्रो सदस्य ३७ वर्षीया पाएथोङताअर्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय अनुमोदनका लागि संसद्मा प्रस्तुत गरेको थियो । पाएथोङताअर्नका बुबा थाक्सिन सिनावात्रा र फुपु यङलिङ सिनावात्रा यसअघि नै थाइल्यान्डको प्रधानमन्त्री बनिसकेका छन् । थाइल्यान्डकै चुलालोङकर्ण युनिभर्सिटीबाट राजनीतिशास्त्र, समाजशास्त्र र मानवशास्त्र विषयमा स्नातक गरेकी उनले बेलायतको युनिभर्सिटी अफ सर्रीबाट इन्टरनेसनल होटल म्यानेजमेन्ट विषयमा स्नातकोत्तर गरेकी छन् । राजनीतिकर्मीका अलावा उनी व्यवसायी पनि हुन् ।

एससी एसेट कर्पोरेसनको सबैभन्दा ठूलो सेयर होल्डर रहेकी उनी थाइकम फाउन्डेसनकी निर्देशक पनि हुन् । सिनावात्रालाई चुनौतीको विषय पनि छ । ६३ वर्षीय थाभिसिन पेशाले घरजग्गा कारोबारी थिए । व्यापारिक पृष्ठभूमिका थाभिसिनले व्यापारबाटै थाइल्यान्डको अर्थतन्त्र सुधार्न खोजेका थिए भने कतिपय मुलुकका लागि भिषा लिन नपर्ने नीति लिएका थिए ।

आर्थिक संकटबाट गुज्रिरहेको थाइल्यान्डलाई तंग्र्याउन थाभिसिनले ठूलो भूमिका खेल्ने बताएका थिए । कृषकहरुलाई इन्धन शुल्कमा छुट, संकटमा रहेका कृषकहरुलाई तीन वर्षसम्म ऋणमा छुट र युवालाई विद्युतीय भुक्तानीमार्फत २८० डलर दिने योजना अघि सारेका थिए । यस्तै, उनले पर्यटनका अलावा स्वास्थ्य सेवा र आर्थिक हबका रुपमा थाइल्यान्डलाई अघि बढाउने उनको योजना थियो । थाइल्यान्डको अर्थतन्त्रलाई बजबुत बनाउन खोजेका थाभिसिन पद मुक्त भएपछि यो जिम्मेवारी अब सिनावात्राको काँधमा आएको छ ।

जसका कारण उनका लागि थाइल्यान्डको राज्य सत्ता सञ्चालन गर्नु त्यति सहज देखिँदैन । यद्यपि, चुनौतीहरुलाई पार गर्दै उनले आफ्नो कार्यकाल कसरी अगाडि बढाउने छिन् ? त्यो भने हेर्न बाँकी नै छ । उनको भावी यात्रा कस्तो होला भन्ने प्रश्नहरु उठिरहेका छन् । थाइल्यान्डमा दुई दशकयता राजनीतिक स्थिरता कायम हुन सकेको छैन । शैन्य कू, आन्दोलन र अदालतको आदेशले बारम्बार सरकार ढल्ने गरेको छ । जसले गर्दा ३७ वर्षीय देशकै कान्छो तथा दोस्रो महिला प्रधानमन्त्री बनेकी पाएथोङताअर्न सिनावात्रा कति विवादरहित रहँदै प्रभावकारी काम गर्न सफल हुन्छिन् ? त्यो भने अहिले नै आकलन गर्न हतार हुने देखिन्छ ।