काठमाडौँ – अकस्मात आएको भीषण बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे क्षेत्र तहसनसह बनेको छ । बाढीले थामे गाउँ पूर्ण डुबानमा परेको छ । बस्तीभन्दा माथिल्लो क्षेत्रमा हिउँ पग्लिएर आएको हिमपहिरो वा हिमपोखरी फुटेर बाढी आएको हुनसक्ने आशंका गरिए पनि पुष्टि हुन सकेको छैन । बाढीका कारण के कति जनधनको क्षति भयो ? पूर्णविवरण आउन भने बाँकी नै छ ।
अकस्मात आएको भीषण बाढीका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने थामे गाउँ पुरै डुबानमा परेको छ । लेदोसहित आएको बाढीले घर–टहराहरु बगाउनुका साथै पुरिएका छन् । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिकामा पर्ने थामे क्षेत्र बाढीका कारण तहसनहस बनेको छ ।
यस क्षेत्रमा पछिल्लो केही दिनदेखि निरन्तर वर्षा भइरहेको स्थानीयको भनाइ छ । शुक्रबार दिउँसो सबै मानिस आ–आफ्नो नियमित काममै थिए । बाढी आउनुभन्दा अगाडि एक्कासी भूकम्प आए जस्तो धक्का महसुस भएको र केही पड्केको जस्तो आवाज सुनिएको स्थानीयले बताएका छन् । लगत्तै टासी लाप्चा क्षेत्र हुँदै लेदोसहितको बाढी गाउँ पसेको थियो ।
भीषण बाढी गाउँ पसेपछि स्थानीयको भागभाग भएको थियो । सुरक्षित स्थान डाँडापाखातिर भागेर ज्यान जोगाएको स्थानीयले बताएका छन् । हेर्दाहेर्दै सिंगो गाउँ बाढीमा विलिन बनेको थियो । घर–टहरा, होटल, लज, स्कुल, पुलसमेत बाढीले बगाएको स्थानीयबासीले जानकारी दिएका छन् । थामे क्षेत्रका बचेका संरचनाहरु पनि बाढीले पूर्ण रुपमा डुबेका छन् ।
साँझ ६ बजेसम्मको तथ्याङक अनुसार एउटा विद्यालय र एउटा क्लिनिकसहित १४ वटा घर बगाएको विवरण आएको छ । थामे खोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको र एक जना अझै बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिकसहित १४ वटा घरमा पूर्णक्षति पुगेको छ ।
थामेको माथिल्लो क्षेत्रमा हिमपहिरो झरेर बनेको ग्लेसियर ड्यामका कारण साना ठूला तालहरू बनेका छन् । पारेचोङबुचे, होमिचो, निलो पोखरी गरी तीन वटा पोखरीहरु छन् । थामे तटीय क्षेत्र डुबाउने गरी आएको बाढी सगरमाथा क्षेत्रमा हिमपोखरी फुटेर वा हिमपहिरो गएर हुन सक्ने विज्ञहरुले आकलन गरेका छन् । यता रक्षामन्त्री मानवीर राईले थामेमा आएको बाढीबाट मानवीय क्षति भएको आशंका व्यक्त गरेका छन् । तर यसको पुष्टि हुन सकेको छैन ।
बाढीले क्षति गरेको थामे गाउँमा सुरक्षाकर्मी पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीले दुधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिकसमेत त्रसित बनेका छन् । जलवायु परिवर्तनका कारण जोखिममा रहेको यस क्षेत्रमा ¥यापिड मेल्टिङ अर्थात् तीव्र रुपमा हिउँ पग्लिएका कारण विपद निम्तिएको पूर्वानुमान छ । अहिले बर्खाको समय भएकाले अहिले हिमाल आरोहणलगायत पर्यटनका गतिविधि निकै कम हुने भएकाले त्यस क्षेत्रका होटल र घरहरुमा धेरै मानिसहरु बस्दैनन् । जसका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
प्रतिक्रिया