Breaking

गठ्ठाघर दुर्घटना : ‘ट्रकले ब्याक गरेर मारियो’, दिनभर झडप


भक्तपुरको गठ्ठाघरमा मालबहाक ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बन्यो । आक्रोशित स्थानीयबासी र प्रहरीबीच झडप हुँदा स्थिति नियन्त्रणका लागि अश्रुग्यास नै हान्नु प¥यो । जसले गर्दा आज दिउँसो सो क्षेत्र अशान्त बन्दा सवारी आवागमनसमेत प्रभावित बन्यो ।

बिहीबार दिउँसो करिब दुई बजे भक्तपुरको गठ्ठाघर चोकमाछेलिएर बसेका ट्राफिकले विपरीत दिशा तर्फबाट आइरहेको स्कुटरलाई झ्याप्प रोक्छन् । र चेकिङ भन्दै लाइसेन्स बिलबुक माग्छन् । स्कुटरमा सवार महिला चालकले स्कुटर रोकेर बिलबुक, लाइसेन्स निकाल्न खोज्दा पछाडिबाट आएको ना.६ ख २१७३ नम्बरको मालबाहक ट्रक (कन्टेनर) ले एक्कासी ठक्कर दिँदै करिब २० मिटर परसम्म लतारेर लैजान्छ । उक्त दुर्घटनामा परीबा ४९ प ८९४४ नम्बरको स्कुटरकी चालक कोदोलखाको मेलुङ गाउँपालिका–४ की सुश्मा नेपालीको ज्यान गएको छ ।

स्कुटर चालक महिलाको मृत्युभएपछि स्थानीयबासी आक्रोशित बन्दै सडकमा प्रदर्शनमा उत्रिएका थिए । स्कुटर चालक नेपालीको घटनास्थलमै मृत्यु भएको हो । ट्राफिक प्रहरीले मनोमानी ढंगले बीच सडकमा चेकिङको नाममा यात्रुलाई सास्ती दिँदा सो दुर्घटना भएको भन्दै स्थानीय आक्रोशित बनेका थिए ।आक्रोशित भिडले चेकिङमा रहेका ट्राफिक प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए । आक्रोशित भिडबाट घेरिएका एक ट्राफिक प्रहरीले ज्यान जोगाउन दुई हात जोडेर गल्ती भएको भन्दै माफी माग्दै गरेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियो फुटेजमा देखिन्छ ।

आक्रोशित भिडले ट्रक चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्नेक्रममा सडकमा राखिएका ट्राफिक आइल्यान्ड पनि भत्काइ दिएका छन् । उनीहरुले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै आक्रोश पोखेपछि दोहोरो झडपको अवस्था बनेको थियो । यसक्रममा प्रहरीले अश्रुग्यास हानेको थियो । दुर्घटनापछि दुई हजार भन्दा बढी सर्वसाधारण सडकमा आएर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीलाई रोक्न जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौंबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

आक्रोशित प्रदर्शनकारीले स्कुटरलाई ठक्कर दिने ट्रकमा आगजनी र तोडफोड गर्दै प्रहरीमाथि ढुंगा, इटा प्रहार गरेका थिए । केही प्रत्यक्षदर्शीले सुरुमा स्कुटर चालक महिलाको खुट्टामा मात्रै किचेको ट्रकलाई पछि ब्याक गरेर किचेको दाबीसमेत गरेका छन् । गठ्ठाघर दुर्घटनामा ट्राफिक प्रहरीको चेकिङलाई मुख्य कारण देखाइए पनि ट्रक चालकबाट भएको त्रुटिबारे अनुसन्धान हुनेनै छ । यद्यपि, चेकजाँचका नाममा ट्राफिक प्रहरीले सडकका घुम्तीहरुमा ढुकेर गर्ने चेकिङ प्रति आमसर्वसाधारणले असन्तुष्टि जनाउँदै आएका छन् । दुर्घटना न्यूनीकरणका लागि भनेर यसरी गरिने चेकिङले नै सवारी दुर्घटनाका घटना निम्तिनुले ट्राफिक प्रहरीमाथि नै प्रश्न तेर्सिएको छ ।