Breaking

गठ्ठाघरको अवस्था तनावपूर्ण, सशस्त्र प्रहरी परिचालन


काठमाडौँ – भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा महिलाको ज्यान गएपछि अवस्था तनावपूर्ण बनेको छ। आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाएका छन्। यद्यपी प्रहरीले तत्काल आगो निभाएको छ। अवस्था तनावपूर्ण बनेपछि अहिले त्यहाँ सशस्त्र प्रहरी परिचालन गरिएको छ।

बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो। तर ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो। ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासि ब्रेक लगाउँदा दुर्घटना निम्तिएको भन्दै सर्वसाधारणले विरोध गरेका हुन्। यस क्रममा केही सवारीसाधनमा तोडफोडसमेत गरिएको छ।

मृतकको सनाखत हुन सकेको छैन। दुर्घटना स्थलमा तनाव भएकाले प्रहरीले थप प्रक्रिया सुरु गर्न नसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले बताए।