Breaking

सार्वजनिक बसमा अनलाइन टिकट, जिपिएस ट्र्याकिङ र सिसिटिभी राख्न गृह मन्त्रालयको निर्देशन


काठमाडौँ – सरकारले यात्रु बोक्ने सार्वजनिक सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली जडान गर्न, सिसिटिभी जडान गर्न र अनलाइन टिकटको व्यवस्था मिलाउन यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयले यात्रुहरूलाई अनिवार्य टिकट काटेर यात्रा गराउन पनि निर्देशन दिएको छ। सिमलताल घटना अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई १२ बुँदे निर्देशन दिँदै यी व्यवस्था कार्यान्वयन गर्न भनेको हो।

अनलाइन टिकटको व्यवस्था नहुँदा सिमलताल दुर्घटनामा कति यात्रु परे भन्ने यकिन हुन सकेको थिएन। यात्रुका आफन्तहरूको सूचनामा भर पर्दा अहिले पनि दुर्घटनामा परेकाहरूको विवरण फरक परेको छ।

यो घटना अध्ययन गर्न गृह मन्त्रालयले बनाएको कार्यदलको प्रतिवेदनले पनि यसबारे निर्क्यौल गर्न सकेको छैन। प्रतिवेदनको अनुसूचीमा चितवन प्रशासनले उपलब्ध गराएको यात्रुहरूको सूची राखेको छ। त्यही कारण कार्यदलले अनलाइन टिकट प्रणाली सुरूवातको खाँचो औंल्याएको हो।

यसका अतिरिक्त यातायातसँग सम्बन्धित विषयहरू कार्यान्वयनका लागि परिपत्र भएको कार्यदलका सदस्यसमेत रहेका यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए। उनकाअनुसार सार्वजनिक सवारी साधनमा सिसिटिभीका साथै ट्रान्सपोन्डरको व्यवस्था गर्न पनि गृह मन्त्रालयले भनेको छ।