राजनीति

ओलीबाट धोका पाएकाहरु एकढिक्का, प्रचण्ड–माधव मिले जनार्दन र रामकुमारी आउट ! (भिडियोसहित)


काठमाडौँ— पार्टीमै अल्पमतको अवस्था देखेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बहुमत जुटाउने रणनीतिमा लागेका छन् । त्यसका लागि एकीकृत समाजवादी र जसपा लगायतका दलहरुसँग एकताको अनौपचारिक प्रक्रिया नै सुरु भइसकेको छ । यी दलहरुबीच कति सम्भव छ पार्टी एकता ?
पार्टीभित्रैबाट पेलानमा परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु तीन पार्टीहरुसँग एकता प्रक्रियाको कसरत सुरु गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ र महेन्द्रराय यादव पक्षलाई पार्टीमा ल्याउने तयारी गरिरहेकै समय प्रचण्डले माधव नेपाललाई पनि पार्टी एकताको प्रस्ताव राखेको खुलेको छ । अनौपचारिक ढंगबाट कुराकानी भएको सम्बन्धित नेताहरुले नै स्वीकारे पनि ठोस आकार भने तयार भइसकेकोे छैन । आफ्ना नेता कार्यकर्ताहरु एमाले प्रवेश गरिरहेका समयमा माधवले पनि पार्टी एकताका लागि तयार रहेको सन्देश दिएको बुझिएको छ । त्यसपछि प्रचण्ड अहिले झलनाथ खनालसँग पनि छलफलमा जुटेको बुझिएको छ । किन कि प्रचण्ड पनि अहिले पार्टीभित्रको दबाब साम्य पार्दै राष्ट्रिय राजनीतिमा सम्मानजनक हैसियत कायम राख्न चाहन्छन् । अहिले पार्टी एकता गर्ने र भविश्यमा प्रधानमन्त्री बनाउने जिम्मा आफूले लिने आश्वासन प्रचण्डले माधवलाई दिएका छन् । तर एकीकृत समाजवादीका नेताहरु भने त्यति उत्साही भइसकेका छैनन् ।

जनतामा जाने र सत्ताको चिन्ता नगर्ने बताएका प्रचण्डले कांग्रेस–एमाले समीकरण लामो समय नजाने र त्यसै रणनीतिअनुसार अघि बढ्नुपर्ने प्रस्ताव पनि माधवलाई गरेका छन् । २०६६ सालमा सांसद नै नभएका बेला पनि आफूले माधवलाई प्रधानमन्त्री बनाएको स्मरण गराएका प्रचण्डले सेन्टिमेन्टको राजनीति खेल्न खोज्दा एकीकृत समाजवादीको नजरमा पनि यो सरकारको आयु दशैंसम्म मात्र हुने भएको छ । जवाफमा माधवले पनि हतारमा पार्टी एकता नगर्न तर समाजवादी मार्चामार्फत यसको आधार तयार पार्नुपर्ने जवाफ दिएका छन् । यता पार्टी छोड्नु गलत भएको भन्दै आत्मालोचना गर्दा पनि एमालेमा ठाउँ नपाएका वामदेव गौतमसमेत एकीकृत समाजवादीमा फर्किने तर्खरमा छन् । यसको अर्थ ओलीबाट धोका खाएकाहरुको मन मिल्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

यसबाहेक पार्टीको नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्न जनार्दन शर्मा र वर्षमान पुन एकैधारमा उभिएपछि विप्लवलाई पार्टीमा भित्र्याएर आफूलाई बलियो देखाउने बाटोमा प्रचण्ड छन् । यता प्रचण्डको उत्तराधिकारी बन्न विप्लव पनि प्रचण्डकै बाटो हिंड्ने निष्कर्षमा पुगेका छन् ।

पार्टी जोगाउनै हम्मेहम्मे परेका बेला उपेन्द्र यादवले पनि समाजवादी मोर्चामार्फत नै प्रचण्डसँग मिल्ने सम्भावना जीवितै राखेका छन् । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीबाट चोइटिएका महेन्द्रराय पक्षसँग त एकता प्रक्रिया नै अघि बढिसकेको छ । तर, यी सबैले चाहँदैमात्रै पनि एकता प्रक्रिया त्यति सहज देखिँदैन ।
एकता प्रक्रियामा देखिने बाधा २०३८ सालदेखि माओवादीको नेतृत्वमा रहेका प्रचण्डलाई नेता मान्न नसक्ने अवस्थामा पुगिरहेका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले माधव र विप्लवलाई सहजै स्वीकार्न सक्ने अवस्था छैन । यसले जोड्ने नाममा अर्को फुट माओवादीले व्यहोर्नु पर्ने हुनसक्छ । एकीकृत समाजवादीमा सबैभन्दा पहिले त प्रचण्डको अस्थिर चरित्रसँग माधव निकटकै नेताहरु विश्वस्त हुन सकिरहेका छैनन् । अर्कोतर्फ एकता प्रक्रियामै गए पनि माओवादी बन्नुभन्दा सुल्टो बाटो एमालेमै फर्किनु हुने बुझाइमा धेरै नेताहरु छन् । यही असन्तुष्टिका बीच माओवादीसँगको एकता प्रक्रियाले रामकुमारी झाँक्री, प्रेम आले लगायत नेताहरुको एमाले फर्किने बाटो खुल्न सक्छ । पार्टीभित्रको द्वन्द्व माधव, प्रचण्ड र उपेन्द्रका मिल्दाजुल्दा भए पनि एक हुनका लागि धेरै समस्या देखिन्छन् ।

यी दलहरु मिल्नुमा आन्तरिकसँगै बाह्य शक्तिको पनि ठूलो हात छ । अहिले प्रचण्डको फेभरमा रहेको भारत प्रचण्ड बलियो भएको देख्न चाहन्छ । चीनको कित्तामा रहेका उपेन्द्रलाई समेत भारतका विदेश सचिव विक्रम मिश्रीले भेट गर्नु र एकताको चर्चा चल्नुलाई चासोको साथ हेरिएको छ । तर, एकीकृत भइसकेपछि पार्टीको सन्तुुलन र नेता कार्यकर्ताहरुको व्यवस्थापन सकसपूर्ण बन्ने भएकाले पार्टी एकताको प्रक्रियाले मूर्तरुप लिनेमा शंका कायमै छ ।