काठमाडौँ— लोकदोहोरी नेपालको आफ्नै मौलिकता बोकेको विशेष गीत हो । त्यसमा पनि तीजमा गाइने लोकदोहोरीले त झन् देशको माटोको सुगन्ध दिन्छ नै महिला, दिदीबहिनीको बहसमेत पोख्ने गर्छ । तर, अहिले निस्कने अधिकांश तीजका गीतले मौलिक मर्म, भावना र संस्कृति बिर्सिदा छाडा र उच्छृङ्खलताको पर्याय जस्तै बनेको छ ।
विवाहित नेपाली महिला दिदीबहिनीले घर परिवारबाट वर्षभरि भोगेका अनेकन् दुःख कष्टलाई गीतमार्फत प्रस्तुत गर्ने सिर्जनाले नै तीजको गीतलाई विशेष बनाउँछ । माइतीलाई सम्झिँदै पराइ घर गएकी छोरीले भोग्नुपरेको पीडालाई गीतको माध्यमले खुलस्त पार्ने हुँदा तीजलाई महिलाको बह पोख्ने दिनको रुपमा पनि लिने गरिन्छ ।
तर, पछिल्ला केही वर्षयता तीजका गीत सङ्गीतले आफ्नो मौलिकता भुल्दा विकृत बन्दै गएको छ । तीज गीतको नाममा छाडापनको बाढी नै आउन थालेको छ । नेपाली कला संस्कृति र मौलिकताको उत्थान गर्न गाइने तीज गीतमा विकृति बढ्दै जाँदा नेपाली लोक संगीतकै धज्जी उडाउने काम भइरहेको छ । अहिलेका तीज गीतमा प्रयोग हुने छाडा, अश्लील र द्विअर्थी शब्दले माइतीघरसँग आफ्नो बेदना पोख्ने माध्यम बन्दै आएको तीज गीत परिवारसँग बसेर सुत्र र हेर्नै नसकिने अवस्थामा आइपुगेको छ ।
तीजका गीतले महिलाले भोग्नु परेका सुख दुःखका कथा व्यथा भन्नु पर्नेमा आधुनिकताको नाममा ग्लामर देखाउने होडले जवानी र यौनका कुरालाई महत्व दिन थालेको छ । जुन गीत नेपाली मौलिक संस्कृति भित्र पर्छन् भनेर दाबी गर्नेहरुलाई नै लाज लाग्नु पर्ने हो । नाम चलेका गायक÷गायिकाहरूले नै अश्लीलता झल्किने यस्ता गीतहरूमा स्वर दिइरहेका छन् । लोक परम्परा र मौलिकतालाई जीवित राख्न गाइने यस्ता गीत सर्जकबाट नै मास्ने काम भइरहेको छ । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले तीजको मौलिक परम्परामाथि प्रहार गर्ने गीतको प्रसारणमा रोक लगाई कारवाही गर्ने भने पनि प्रभावकारी रुपमा एक्सन लिन सकेको देखिँदैन । जसले गर्दा अझै त्यस्ता गीतहरूले युट्युबलगायत सामाजिक प्लेटफर्ममा लाखौं लाख भ्युज पाइरहेकै छन् । महिलाहरूले आफ्ना वेदना त पोखेका छन् तर, तीजका नाममा साङ्गितिक विकृति पनि ह्वात्तै बढेको छ ।
नेपालीको कला, संस्कृति झल्क्याउने मौलिक तीजका गीतमा उच्छृङ्खलता बढ्दै जाँदा यसको संरक्षणमा जुटेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कारबाही गर्नुको साटो त्यसैको बचाउ गर्दै आइरहेको छ । यसअघि युट्युब र फेसबुकमा कलाकारहरूले ‘लाइभ दोहोरी’ बाट उच्छृङ्खल गीत गाउँदा कठोर देखिएको प्रतिष्ठान अहिले आफ्नै सदस्यले यस्ता गीत निकाल्दा भने नरम बनेको छ । प्रतिष्ठानको केन्द्रीय सदस्यसमेत रहेकी गायिका शान्ति श्री परियारले आफूले गाएको गीत आलोचित बन्दा विज्ञप्तिमार्फत् माफी माग्दै अमेरिका उडेकी छन् । तर, उनको गीत अहिले पनि युट्युब लगायतका सामाजिक सञ्जालबाट हटाइएको छैन । कर्णप्रिय स्वरकी धनी एवं राम्रो गायिकाको छवि बनाइसकेकी परियारबाटै यस्तो खालका उछृंखल गीत आउने कुरा सामान्यतः आम मानिसले अपेक्षा गरेका थिएनन् । नेपाली लोक संगीतकै धज्जी उडाउने खालका गीत गाउनुले उनी भाइरल हुने खोजेको देखिए पनि उनले यसअघि गाएका केही स्तरीय गीत पनि छन् । जुन गीत कुनै पनि उछृंखल शब्द बिनै दर्शक स्रोताको मनमुटुमा बस्न सफल भएको थियो । धेरै सङ्घर्ष गरेर कला क्षेत्रमा नाम बनाएका कलाकारले ल्याएका तीज गीतलाई छाडापनभन्दा पनि समय अनुसारको परिमार्जित गीतको रुपमा व्याख्या गर्नु पर्ने लोकदोहोरी गायिका तथा प्रतिष्ठानकी अध्यक्षसमेत रहेकी रिता थापामगरको तर्क छ । तीजको मर्म भावनाविपरीतका गीतकै पक्ष पोषणमा लागेकी अध्यक्ष थापामगर पुस्तान्तरण हुँदै गर्दा आधुनिक नारीहरूले समय सापेक्ष गीत गाएको दाबी गर्छिन् ।
सङ्घर्ष गर्नुको अर्थ छाडापनलाई प्रोत्साहन गर्नु कदापि होइन । तर लोक तथा दोहोरी गीत प्रतिष्ठानकै नेतृत्वबाट लोक संगीतमा मौलाउँदो छाडापन र विकृतिलाई समय सापेक्षको गीत भन्दै पक्षपोषण गरिनुले मौलिकतामाथि नै प्रहार हुने खतरा झनै बढेर गएको देखिन्छ । साथै तीजका गीतमार्फत प्रस्तुत भइरहेको छाडापन, छाडापन र विकृति नभइ समयअनुसारको परिवर्तन हो भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ । तर, परिवारका सदस्यसँग सँगै बसेर हेर्न र सुन्न नसकिने तीजका गीत कसरी मौलिक हुन्छन् ? त्यसमा पनि तीजका गीतमा नाच्ने प्रचलन छ, यस्ता छाडा र उछृंखलन गीत घन्काउँदै सार्वजनिक स्थलमा कसरी कम्मर मर्काउन सकिन्छ ? यसको जवाफ सम्बन्धित पक्षले दिन सकेको छैन ।
तीजको भाका गाउँदैमा तीजको गीत मान्न सकिँदैन र संस्कृति, संस्कारमा परिवर्तन गर्ने छुट कुनै पनि सर्जकलाइ छैन । दौरा सुरवाल र गुन्यु चोलीमा सजिएर नेपाली मौलिकता झल्किने तीजको गीत सुत्र र हेर्न नै मुश्किल भइसकेको छ । कलाकारले आफ्नै मौलिकतालाई छोडेर लोकदोहोरीमा पनि जिन्स पाइन्ट र स्कटमा कम्मर मर्काउन थालेका छन् । आफ्नो सिर्जनाप्रति सबैभन्दा बढी संवेदनशील सर्जक नै हुनुपर्छ । जबसम्म सर्जक आफैँ सजग हुँदैन तबसम्म हुने कारबाही पनि औपचारिकतामात्रै सीमित हुन जान्छ । भ्युजका लागि सर्जकले मनलाग्दी गाएर पर्वको मर्मलाई त मार्दैछन् । साथै यसले आगामी दिनमा यो क्षेत्रलाई नै बदनाम गराउनेमा दुई मत छैन ।
प्रतिक्रिया