देश

गृहमा कांग्रेसको एक महिना, काण्ड सामसुम ! रवि र जीबी चर्चा मात्रै, गिरीबन्धुको फाइल खोई ?(भिडियोसहित)


काठमाडौँ— विपक्षमा रहँदा कांग्रेसबाट सबैभन्दा मुखर सुनिएका रमेश लेखक गृहमन्त्री भएपछि ओझेलमा परेका छन् । विगतमा आफैँले उठाएको विषयमा केही गर्न नसकेका उनी आफैँले प्रमाण छ भनेर चर्को स्वरमा बोलेको विषयसमेत बिर्सिरहेका छन् । फलतः उनीमाथि प्रहरीमा हस्तक्षेप गरेर काण्ड मिलाउन लागिपरेको आक्षेप लाग्न थालेको छ ।

मिति २०८१ साल साउन २९ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीबाट गृहमन्त्री बनेका रमेश लेखकमाथि प्रश्न उठाए । विगतमा मुखरित हुने उनी गृहमन्त्री भएसंगै चुपबसेपछि थापाले प्रतिनिधिसभा बैठकको विशेष समयमाबोल्दै सोधे –‘गत चैत १२ मा प्रश्न उठाउँदा कागजसमेत लिएर यो रवि लामिछानेको प्रमाण हो भन्नुहुन्थ्यो,गृहमन्त्री भएपछि प्रमाण के भयो ?’
उनले अझ अघि बढेर सत्तापक्षको सांसद हो भन्दै सरकारले जे गरे पनि थपडी नबजाउने चेतावनी नै दिए । एउटा काम गरे त्यसको पाँच गुणा प्रचार गर्ने जिम्माआफ्नो भएको बताएका उनले भदौ महिनामा व्रत बस्न मन्त्रीहरूलाई सुझाव दिए । यता अर्का महामन्त्री विश्वप्रकाश शर्माले एमालेसंगको गठबन्धन चुप लागेर बस्न नबनेको बताएका छन् । यो गठबन्धनले गिरीबन्धु र नक्कली भुटानी शरणार्थी काण्ड साटेको आक्षेपकाबीच उनले यो सरकारको गतिविधिमा, काममा, संयममा यो भविष्य निश्चित भएको बताए ।
यी त प्रतिनिधि प्रश्नहरुमात्र हुन् । गृहमन्त्री रमेश लेखकमाथिका प्रश्न यीभन्दा बाहिर झनै बलिया छन् । सुशासनका पक्षमा काम गरेकै कारण आफू सत्ताबाट फालिएको पुष्पकमल दाहाल प्रचण्डको दाबीकाबीच यो सरकार माफियालाई बचाउन बनेको भाष्य निर्माण भइरहेको छ । जसमा नक्कली भुटानी शरणार्थी काण्डको छानविन गर्ने प्रहरी अधिकारीको सरुवा हुने,प्रहरीमाथि हस्तक्षेप बढाउने तथा प्रमाण छ भनेकै विषय सहकारी काण्डमा केही गर्न नसक्ने लेखकको हालतले अझ बल पु¥याइरहेको छ । जब कि यहीबीचमा रवि लामिछानेले जीबी राईसँग संयुक्त खाता खोलेर कारोबार गरेको प्रमाणहरु बाहिर आएका छन् । तर लेखकले न त अरुलाई आक्षेप लगाएको जसरी जीबी राई नै नेपाल ल्याउन सकेका छन् । जहाँ संसदीय छानविन समितिले त सहकारीको रकम अपचलन गरी देश बाहिर भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन नै दिएको छ।

त्यस्तैएमालेको नीतिगत निर्णयमा भएको गिरीबन्धु चियाबगान घोटालाको विषय उठाएका उनले आफू गृहमन्त्री भए पनि केही गर्न सकेका छैनन् । टिकापुरको देखि अन्य सार्वजनिक जग्गाको विषय गुपचुपतर्फ नै अघि बढ्दा उनले पहिलो निर्णयबाट बनाएको सिमतलताल बस दुर्घटना छानविन कार्यदलले समेत त्यहाँ दुईओटा बस बगेको निष्कर्षसहितको प्रतिवेदनमै काम सकेको छ । यसले विपक्षमा हुँदा चर्को सुनिने वर्तमान गृहमन्त्री लेखकको वास्तविक हैसियत बाहिर आएको छ ।
गृहमन्त्री लेखक अहिले लोकतान्त्रिक तबरबाटै काम हुने र सरकारले प्रतिबद्धता पूरा गर्ने कर्मकाण्डी उत्तरमै रमाइरहेका छन् । मनसुनजन्य विपदमा समेत विगतमा भन्दा बढि पानी परेर यस्तो भयो भन्ने जस्ता हाँस्यस्पद जवाफ दिने उनी विगतका आफ्नै प्रश्नहरुको भारमा छन् । फलतः विगतका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र रवि लामिछाने जत्तिकोसमेत हालतमा नदेखिएका उनी ओली देउवा संकट व्यवस्थापन संयन्त्रको नाइकेमै सीमित बन्दै छन् ।