अन्तर्राष्ट्रिय

ह्यारिस जित्ने देखिएपछि रणनीति फेर्दै ट्रम्प, डिबेटमा उत्रिँदै, मध्यपूर्वको युद्धदेखि उग्रराष्ट्रवादसम्म एजेण्डा (भिडियोसहित)


काठमाडौँ— अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक दलकी उम्मेदवार कमला ह्यारिसको लोकप्रियता लगातार बढ्दै गइरहेको छ । ताजा मत सर्वेक्षणमा उनले रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई पछाडि पारेकी छन् ।

अमेरिकामा राष्ट्रपति निर्वाचनको व्यापक प्रचारप्रसार भइरहेको छ । उम्मेदवारहरू मतदातालाई आफूतिर तान्न भ्याइनभ्याई ¥याली गरिरहेका छन् । रिपब्लिकन पार्टीको तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा छन् । दुवैले एकअर्कामाथि आरोप प्रत्यारोप लगाउने सिलसिला जारी छ । यसैबीच राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक दलकी उम्मेदवार ह्यारिसको लोकप्रियता लगातार बढ्दै गइरहेको छ । राष्ट्रपति पदका लागि गरिएको ताजा मत सर्वेक्षणमा उनले ट्रम्पलाई पछाडि पारेकी हुन् । सर्वेक्षणको नतिजामा ह्यारिसलाई ४२ प्रतिशत जनताको समर्थन मिलेको छ भने ट्रम्प पाँच अङ्कले पछि परेका छन् । अर्थात् ३७ प्रतिशत जनताको रोजाइमा ट्रम्प छन् । चुनावी मैदानमा होमिएका दुबैजना आरोपप्रत्यारोपमा उत्रिरहेका छन् । ट्रम्पले अमेरिकी उपराष्ट्रपति ह्यारिसलाई धोकेबाज भनेका छन् । ट्रम्पले ¥यालीमा ठूलो भीड देखाउन ह्यारिसले कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरेको आरोप लगाएका छन् । मिशिगनको डेट्रोइटमा भएको ¥यालीको तस्बिरमा एयरपोर्टमा देखाइएको भीड नक्कली भएको ट्रम्पको दाबी छ । ह्यारिस चढेको विमान बाहिर विमानस्थलमा कोही नभएको तर ठूलो भिड देखाउन एआईको प्रयोग गरिएको भन्दै ट्रम्पले ह्यारिसलाई धोकेबाज भनेका हुन् ।

कमला ह्यारिस र टिम वाल्जको चुनावी अभियान टिमले ट्रम्पको आरोपको खण्डन गरेको छ । ¥यालीको वास्तविक तस्बिर पोस्ट गर्दै उनीहरुको टोलीले भनेको छ, ‘१५ हजार मान्छेको भिडको वास्तविक तस्बिर रहेको प्रतिक्रिया दिएका छन् । अहिलेसम्म सार्वजनिक मञ्चमा एकअर्कालाई खुइल्याइरहेका उनीहरु आगामी सेप्टेम्बरमा भने आमनेसामने हुँदैछन् । सेप्टेम्बर ४, १० र २५ मा ह्यारिससँग टिभीमा बहस गर्न तयार भएको ट्रम्पले बताएका छन् । यसअघि सेप्टेम्बर १० मा नै निर्धारित एबीसी राष्ट्रपति बहसबाट ट्रम्प पछाडि हटेका थिए । यसका लागि ट्रम्पलाई प्रतिद्वन्द्वीहरुले निकै आलोचना गरेका थिए तर अब भने ट्रम्प र ह्यारिस दुवैले एकअर्कालाई सामना गर्न सहमत भएको खबर आइरहेको छ ।

आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । अहिलेसम्म सर्वेक्षणहरुमा ह्यारिसलाई अगाडि देखाए पनि नोभेम्बर ५ पछि यसको वास्तविक छिनोफानो हुनेछ । वर्तमान राष्ट्रपति जो बाइडेन आगामी राष्ट्रपतिको चुनावी दौडबाट पछि हटेपछि ट्रम्पसँग भिड्न डेमोक्रेटिक पार्टीले ह्यारिसलाई अघि सारिएको हो । यसअघि बाइडेनलाई मत सर्वेक्षणमा पछि पारेका ट्रम्प अहिले ह्यारिसभन्दा पछाडि परेका छन् । जसले गर्दा ट्रम्पमाथि थप दबाब बढ्दै गएको छ । कडा टक्कर दिँदै चुनाव जित्ने लक्ष्यका साथ प्रचारप्रसारलाई जोडतोडका साथ अगाडि बढाएका ट्रम्प यसै हार मान्ने पक्षमा पटक्कै देखिँदैनन् । जसले गर्दा राष्ट्रपति निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने निश्चित छ । ह्यारिसविरुद्ध ट्रम्प वा ट्रम्पविरुद्ध ह्यारिस मध्ये कसले बाजी मार्छन् ? त्यो भने नोभेम्बर ५ को मतदानले नै निर्धारण गर्नेछ ।