Breaking

आउनुहोस्, इतिहासले सुम्पेको कार्यभार मिलेर पूरा गरौँ , एकअर्कालाई शंका वा आरोपित गर्न उचित हुँदैन : देउवा


काठमाडौँ— पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सशस्त्र द्वन्द्वको बेला भएका घटनाहरूले नेपाली समाजमा पीडा दिएको बताएका छन् । उनले लामो समयदेखि द्वन्द्वपीडितहरू न्यायको खोजीमा बसेको भन्दै उचित परिपूरण हुन नसकेका कारण पीडित स्वयं र परिवारजनले थप पीडा व्यहोर्नु परेको बताए ।

आजको प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा बोल्दै उनले अब एकअर्कालाई शंका वा आरोपित गर्न उचित नहुने बताए ।

“बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रभावकारी छनोट र प्रभावशाली कार्य प्रर्णालीप्रति सजग हुन आवश्यक छ । यो प्रक्रियाको सहज अवतरण आयोगको प्रभावकारितामा निर्भर रहने कुरा पनि म यहाँहरूमा निवेदन गर्न चाहन्छु,” उनले भने, “आउनुहोस्, इतिहासले सुम्पेको यो कार्यभार मिलेर पूरा गरौँ । मुलुकलाई अप्ठ्यारो पर्दा सबै राजनीतिक दल एक ठाउँमा उभिएर समाधान दिने नेपालले विशिष्ट शैली अपनाउने गरेको छ । संक्रमणकालीन न्याय निरुपण र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न पनि सबै राजनीतिक दल एक ठाउँमा उभिएका छौँ ।”

देउवाले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विन्दुमा पुग्दै गर्दा नेपाललाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको बताए । उनले यस विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभूति र परिपूरण दिलाउने व्यवस्था गरेको पनि जानकारी दिए ।

“विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी कानुनहरूलाई समेत ध्यानमा राख्दै शान्ति प्रक्रियाको बाँकी रहेको संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने विषय निष्कर्षमा पुगेको छ । यस विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने हाम्रो विश्वास छ,” उनले भने ।