Breaking

रवि–राजेन्द्र एकढिक्का, सभामुख घेरिए, कुलमानलाई मुद्दा बनाउँदै प्रतिपक्ष


काठमाडौँ – कानुन बनाउने थलो संसद दुई तिहाइको सरकार बनेदेखि नै बिजनेसविहीन अवस्थामा छ । आकस्मिक, शून्य र विशेष समयमा सीमित प्रतिनिधिसभाका प्रायः सबै बैठकहरु केवल सांसदहरुको बिलौना सुन्ने थलो मात्रै बन्दै आएको छ । सत्ता र प्रतिपक्षी सांसदहरुको नोकझोक तथा बाझाबाझको थलो बनेको सदनमा मंगलबार भने सभामुखसँगै भनाभन चल्यो ।

एकाएक सांसद हरि ढकालको माइक कटिएपछि सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा बैठकमा माहोल शान्तै पार्नै हम्मे प¥यो । नवलपरासीको दाउन्नेमा सडक भासिएकोबारे बोल्दै गरेका ढकालले विद्युत वक्यौताको बिषय उठान गरेपछि प्रतिपक्षीले प्रतिवाद गरेको थियो । ‘यो साता राष्ट्रिय राजनीति नै तरंगित गरेको विद्युत प्राधिकरणको विषयमा ‘विद्युत् प्राधिकरणमा म जान चाहेँ । मिटर जडान गरेर महसुल असुल गर्ने…’ ठाउँमा भन्नासाथ सभामुख घिमिरेले एकाएक माइक काटिदिए ।

लगत्तै सभामुख र विपक्षी सांसदहरुबीच झण्डै आधा घण्टा वादविवाद चल्यो । हल्लाखल्ला मच्चियो । ढकाललाई बोल्न नदिएकोमा आपत्ति जनाउँदै प्रतिपक्षी बेञ्चमा बसेका रास्वपा र राप्रपा सांसदहरु उठेर संसद अवरोध गरिरहे । सभामुखले बस्न आग्रह गरिरहे तर उनीहरु मानेनन् । केहीबेरमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसदहरु पनि सभामुखको विरोधमा उठे ।

ढकाललाई उभ्याएरै सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बोल्ने समय पाए । सांसदलाई बोल्न नदिइ नियन्त्रित गर्नु असामान्य भएको धारणा राखे । संसदमा होहोल्ला मच्चिएपछि सभामुखले संसद सचिवालयका कर्मचारीहरुसँग सल्लाह गरेर सांसद ढकाललाई आफ्नो कुरालाई निरन्तरता दिन समय दिन्छन् । त्यसपछि सबै बसे र सदनको माहोल शान्त बन्यो । आधा घण्टाको संघर्षपछि फेरि बोल्ने मौका पाएका हरि ढकालले विद्युत प्राधिकरणकै विषयमा बोले । र अन्त्यमा प्रतिपक्ष कमजोर शन्देश दिए ।

प्रतिनिधिसभामा सांसदहरुले आकस्मिक, शुन्य र विशेष समयमा समसामयिक विषयहरुमा आफ्नो धारण राख्न पाउँछन् । प्रतिनिधिसभा नियमावली अनुसार अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठक बीचको अवधिमा कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन खोजे सभामुखले ३ मिनेटको आकस्मिक समय उपलब्ध गराउन सक्छन् ।

यसअघि पनि तीन मिनेटको समयमा सांसदहरुले तन्काएर बोल्ने गरेका छन् । सभामुखले पनि समय दिन्छन् । तर, आकस्मिक समयमा माइक नै काटिएको घटना भने छैन । केही समयअघि ज्ञानेन्द्र शाहीको माइक भने विषान्तर भएको भन्दै काटिएको थियो । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोजिरहेका सरकारले सभामुखमार्फत सांसहरुलाई नियन्त्रण गर्न खोजेको आरोप लाग्न थालेको छ । सत्तारुढ दलका नेताका नेता कांग्रेस महामन्त्री गगन थापाले लगत्तै रास्वापालाई जवाफ फर्काइसकेका छन् ।

दुई ठूला पार्टीहरु नेपाली कांग्रेस र एमालेले मिलेर सरकार बनाएपछि प्रतिपक्षी कमजोर बन्ने आशंकाका बीच, स्वरमा स्वर मिलाएका रास्वपा, राप्रपा र माओवादीले प्रतिपक्षी कमजोर नरहेको सन्देश प्रवाह गर्न सफल भएका छन् ।