Breaking

बालेन–देउवा नबोलेरै जिते, बोलेरै हारेका गगन–रवि, ओली–आरजु र हर्कको एउटै नियति


उखानै छ– बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । तर नेपाली राजनीतिमा यस्ता पात्रहरु पनि छन् जहाँ कोही धेरै बोलेर आलोचित छन् भने कोही बोल्दै नबोलेर चामल बेच्न सफल छन् । त्यस्ता पात्रहरु को को हुन् ? जो बोलेरे सकिने वा नबोलेरै स्थापित हुने बाटोमा छन् ?

गगन थापा र रवि लामिछाने । जो पछिल्लो ५ महिनादेखि एकअर्काविरुद्ध बोलेर आफूलाई स्थापित गर्न खोजिरहेका छन् । र बोलीकै कारण उनीहरुको लोकप्रियताको स्खलन पनि भइरहेको छ । प्रतिपक्षमा हुँदा गगनले सहकारी ठगीबारे प्रमाणको ओइरो रहेको बताएका थिए । तर, आफैँ सरकारमा पुगेपछि प्रमाण पेश गर्न सकेनन् र आलोचनाको बाढी आएपछि मंगलबार गृहमन्त्रीलाई छानविनका लागि आग्रह गरे । बोलेरै राजनीतिमा उदाएका गगनले मन्त्रीहरुलाई मौन व्रत बस्नसम्म भने ।

जनतालाई सपना देखाउने वा अति नकारात्मकता देखाएर आफू माथि उक्लिने परिपाटी पुरानै हो । र, उनीहरुमा एक अहंकार पनि छ, त्यो हो–आफू नेतृत्वमा आए सबै समस्या ‘छु मन्तर’ हुन्छन् । नेपाली राजनीतिमा यस्ता पात्रहरु छन्, जसमध्ये कोही बोलेर सकिएका छन् भने कोही नबोलेरै अडिएका छन् ।
बोलेर आलोचित पात्रहरु :

२०७९ को निर्वाचनमा जनताको आशा बनेर उदाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको लोकप्रियता सामाजिक सञ्जालका कारण स्खलित भइरहेको छ । श्रम क्रान्तिका पिताकै उपनाम पाएका थिए । रास्वपाले त हर्कलाई नै आफ्नो राजनीतिक आदर्शसम्म मान्न भ्याएको थियो । उनै साम्पाङ अहिले सामाजिक सञ्जालमा तथानाम लेखेकै र बोलेकै कारण ओरालो यात्रामा छन् ।

गगन थापा, जो नेपाली राजनीतिक क्रान्ति र लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण योद्धा हुन् । तर सहकारी प्रकरणमा रवि लामिछानेसँग भिड्दाको परिणाम उनले थाहा पाइसकेका छन् । रवि लामिछाने पनि धेरै बोलेकै कारण आलोचित पात्रमध्येका एक हुन् । सञ्चारकर्म छाडेर राजनीतिमा आएका रविले विदेशका गल्लीबाट युवाहरुलाई स्वदेश फर्काउनेदेखि सरकारमा जान पाए १०० दिनमा कायापलट गर्नेसम्मका अभिव्यक्ति दिए । तर, केही पनि गर्न नसकेपछि आलोचित बने । त्यसैले त उनीमाथि बोलेरै विश्व रेकर्ड राखेका रविले काम गर्न नसकेको आरोप लागिरहेको छ ।

केपी शर्मा ओलीले २०७४ को निर्वाचनमा रेलदेखि पानीजहाजका सपना बाँडे । यतिसम्म कि केरुङ काठमाडौं रेलको स्टेसनसम्मै घोषणा गरेका थिए । उखान टुक्काले जवाफ दिने ओलीले व्यक्तिगत रुपमा ‘बा’ ब्रान्ड बनाए होलान् । तर राजनीतिक करियरमा यसले उनलाई उखाने नेताको ट्याग लागिरहेको छ । पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, आरजु राणा देउवा लगायत पनि आफ्नो बोलीलाई काबुमा राख्न नसक्ने पात्रहरुमा पर्छन् । प्रचण्डले प्रधानमन्त्री हुँदै विध्वंश मच्चाउने अभिव्यक्ति दिए । आरजु र माधव लगायतले जनता विदेश पठाउने अभिव्यक्ति दिए । त्यो पनि बिना ढेउवा के, फ्रि टिकट फ्रि भिसामा ।
बोलीमा लगाम लगाएका पात्रहरु :
यसको पहिलो श्रेणीमा आउँछन् कांग्रेस सभापति शेरबहादुर देउवा । शारीरिक समस्याका कारण पनि उनी धेरै बोल्दा रिसाउने र झर्किने स्वभाव देखाइहाल्छन् । उनी आफ्नो बोलीका कारणभन्दा पत्नी आरजुको बोली र क्रियाकलापले बढी आलोचित हुन्छन् । अर्थात धेरै कम्युनिस्ट नेताहरु बोलीमै लगाम लगाउन नसक्दा अरु नेता आलोचित भए पनि कांग्रेस सभापति देउवा बोलीकै कारण त्यति आलोचित हुँदैनन् ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल पनि यही सूचीमा पर्छन् । जो सामाजिक सञ्जालमार्फत आफ्ना कामहरुको प्रचार गर्छन् । सामाजिक सञ्जालबाटै आग्रह र असहयोगको प्रसारण हुन्छ । धेरै नबोली काम गर्ने भएकाले बोलेकै कारण आलोचित बन्नु परेको छैन ।

काठमाडौं महानगरपालिका मेयर बालेन शाह जसले सामाजिक सञ्जालको भरपुर प्रयोग गर्दै आफ्नो स्प्रिडमा काम गरिरहेका छन् । कहिले काहिँ केन्द्रीय नेतृत्वलाई पदीय मर्यादाविपरीतका अभिव्यक्ति दिने गरेकाले आलोचित बन्छन् । तर हर्क साम्पाङको जस्तो अवस्था भने छैन । यद्यपि, बोलीमा लगाम लगाएकाहरुमाथि भने प्रश्नबाट भाग्ने गरेको आरोप लाग्ने गरेको छ ।

पछिल्लो केही समय यता चर्को नारा दिएको भरमा वा बोलेकै भरमा स्थापित हुने र जनमत बटुल्ने होड छ । सञ्चारकर्ममा सक्रिय रवि बोलेरै राजनीतिमा आए । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही सांसद बने । तर नबोल्नेहरुको भित्री रणनीति पनि बोल्नेहरुको भन्दा कम छैन । बरु उनीहरु नबोलिकनै भित्रभित्रै खेल्न माहिर देखिन्छन् । त्यसकारण ‘बिसौलीको जिब्रो फड्कार्नु भन्दा धार्नीको टाउको हल्लाउनु बेस’ ।