अन्तर्राष्ट्रिय

हसिनाका कारण संकटमा मोदी, भारतमै विद्रोहको डर, सीमा रक्षा नै चुनौती


काठमाडौँ – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना भारत निर्वासनमा रहँदा बंगलादेश र भारतबीचको दुई पक्षीय सम्बन्धबारे चर्चा सुरु भएको छ । हसिना भारतमा रहँदा भारत र बंगलादेशबीचको सम्बन्धमा चिसोपना आउन सक्ने टिप्पणीका बीच दुई देशका उच्च अधिकारीहरुले के भनेका छन् ? यस विषयतर्फ पनि सर्वत्र चासो बढिरहेको छ ।

.
बंगलादेशको तीनतिरबाट सीमा जोडिएको देश हो भारत । भारत र बंगलादेशको क्षेत्र मात्रै जोडिएको छैन कि पाकिस्तानबाट टुक्रिँदादेखि नै भारतले बंगलादेशलाई सहयोग गर्दै आएको छ । विद्यार्थी आन्दोलन चर्किएपछि देश छाडेर भागेकी शेख हसिना यतिबेला भारतकै शरणमा छिन् । भारत निर्वासनमा रहेकी हसिनाका पिता बंगलादेशको पहिलो राष्ट्रपति बनेका थिए ।

सन् १९७१ डिसेम्बर १६ मा पाकिस्तानबाट स्वतन्त्र भएपछि हसिनाका पिता शेख मुजिबुर रहमान बंगलादेशको प्रथम राष्ट्रपति बनेका थिए । पाकिस्तानबाट बंगलादेशलाई स्वतन्त्रता दिलाउने क्रममा सहयोगी भूमिका खेलेको भारत र बंगलादेशबीच दशकौँदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको छ । यसक्रममा १९७५ मा बंगलादेशमा शैन्य कू हुँदा हसिनाका पिता रहमान र उनको परिवारका अधिकांश सदस्यको हत्या भएको थियो । त्यतिबेला हसिना र उनी बहिनी विदेशमा रहेकाले बाच्न सफल भएका थिए । विदेशमा रहेका उनी त्यतिबेला पनि केही समय भारत निवार्सनमा गएका थिए ।

सन् १९८१ मा भारतबाट स्वदेश फर्किएकी हसिनाले आफ्नो पिताको राजनीतिक विरासत फर्काउँदै करिब १५ वर्ष निरन्तर शासन सत्ता सम्हालिन् । अहिले तिनै हसिना फेरि भारत निर्वासनमा रहेकी छन् । बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएर उनी केही दिन अघि भारत पुगेकी हुन् । अहिले उनी भारतमा रहँदै गर्दा बंगलादेशमा भने मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनिसकेको छ ।

बंगलादेशी जनताबाट लखेटिएकी हसिना छिमेकी मुलुक भारत निर्वासनमा रहँदा बंगलादेश र भारतबीचको सम्बन्धमा दरार आउन सक्ने विश्लेषण भइरहेको छ । हसिनालाई भारतमा आश्रय दिँदा पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आलोचना खेप्नु परिरहेको छ । बंगलादेशका कतिपय अधिकारी तथा नेताहरुले हसिनालाई भारतले सुपुर्दगी गर्नु पर्ने माग अघि सारेका छन् ।

यसबीचमा हसिना स्वयम्ले आफू स्वदेश फर्किने तयारीमा रहेको अभिव्यक्ति पनि सार्वजनिक गरिसकेकी छन् । तर उनी कहिले बंगलादेश फर्किन्छिन् ? यसै भन्न सक्ने अवस्था छैन । यद्यपि, बंगलादेशमा आम निर्वाचनको घोषणा भएको खण्डमा आफू स्वदेश फर्किने हसिना स्वयम्ले बताइसकेकी छन् ।

तर उनलाई भारतले आश्रय दिइरहेको अवस्थामा बंगलादेशको अहिलेको अन्तरिम सरकार र भारत सरकारबीच तनाव उत्पन्न हुन सक्ने आकलन भइरहेको छ । मोदीले हसिनालाई भारतमा आश्रय दिँदा भारतसँग राम्रो सम्बन्ध भएका केही देशहरु चिडिन सक्ने सम्भावना छ । यो अवस्थामा अब मोदीले कस्तो कदम चाल्छन् ? प्रश्न उठिरहेको छ ।

भारत निर्वासनमा आएपछि पहिलोपटक प्रतिक्रिया दिएकी हसिनाले देशबाट आफूलाई लखेट्न विदेशी शक्तिको हात रहेको दाबी गरेकी छन् । ‘सेन्ट मार्टिन्स र बंगालको खाडीमा अमेरिकाले भूमिका चाहेको र अमेरिकाले गरेको प्रस्ताव स्वीकारेको अवस्थामा आफू सत्तामा रहिरहन सक्ने जिकिर गरेकी छन् । उनले आफूलाई सत्ताबाट हटाउन अमेरिकाले भूमिका खेलेको कुरा सिधै बताइसकेकी छन् ।

तीन वर्गकिलोमिटरको सेन्ट मार्टिन टापु दिए तत्काल आफूलाई सत्तामा फर्काउने प्रस्तावसमेत आएको उनले दाबी गरेकी छन् । यो भनाइले पनि हसिनालाई शरण दिइरहेको भारतमाथि अमेरिकाको दबाब पर्ने देखिन्छ । यता हसिनाको सरकार ढाल्नुमा आफ्नो भूमिका रहेको भन्ने आरोपलाई अमेरिकाले भने अस्वीकार गरेको छ । अमेरिकाले यसलाई अफवाह भनेको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जिन पियरेले यसमा आफ्नो देश (अमेरिका) को कुनै संलग्नता नभएको प्रतिक्रिया दिएकी हुन् ।

हसिना र उनको पार्टी अवामी लिगलाई भारत समर्थकको रुपमा लिने गरिन्छ । संकटको समयमा उनी भारत जानुले पनि दुई देशबीचको सम्बन्धको गहिराईबारे पुष्टि गरेको छ । यद्यपि, बंगलादेशको नयाँ अन्तरिम सरकारले पनि हसिना भारतमा रहँदैमा दुई देशबीचको द्विपक्षीय सम्बन्धमा कुनै असर नपर्ने स्पष्ट पारिसकेको छ । अन्तरिम सरकारको विदेश मामिलाका सल्लाहकार मोहम्मद तौहिदले बंगलादेश सधैँ भारतसँगको सम्बन्ध राम्रो बनाइ राख्न कोसिस गर्ने बताएका छन् । यता भारतका विदेशमन्त्री एस जयशंकरले पनि बंगलादेशको पछिल्लो अवस्थाबारे भारतको राज्यसभा र लोकसभामा ब्रिफिङ गरेका छन् ।

हसिनाले आफू भारत आउन चाहेको भन्दै अनुमति मागेको र त्यसलगत्तै भारत सरकारले बंगलादेशको प्रशासनसँग फ्लाइट क्लियरेन्सको अनुमति मागेको जयशंकरले जानकारी दिएका छन् । बंगलादेशको प्रशासनले फ्लाइट क्यिरेन्सका लागि अनुमति दिएसँगै हसिना दिल्ली पुगेको उनको भनाइ छ । त्यसो त हसिना लामो समयसम्म भारतमा नबस्ने समाचारहरु आइरहेका छन् । यसबीचमा बंगलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिदल हसिना जति लामो समयसम्म भारतमा रहे पनि भारतसँगको द्विपक्षीय सम्बन्धमा असर नपर्ने स्पष्ट पारेका छन् । हसिना लामो समय भारतमा बसेको अवस्थामा दुई देशबीचको सम्बन्ध बिग्रने आकलनका बीच दुवै देशका सम्बन्धित मन्त्री तथा अधिकारीहरुले भने बाहिर विश्लेषण भए जस्तो वास्तविकता नभएको बताएका छन् । यसले पनि हसिनाकै कारण तत्काल दुई देशबीचको सम्बन्धमा दरार आउन सक्ने सम्भावना न्यून छ ।

यद्यपि, हसिनाको राजीनामा र राजीनामा पछि पनि बंगलादेश हिंसात्मक प्रदर्शनको चपेटामा पर्नुले अन्तर्राष्ट्रिय शक्तिले हस्तक्षेपकारी भूमिका खेलेको खुल्दै गएको छ । चीनले बंगलादेशमा पूर्वाधार र सैन्य उपकरणमा ठूलो लगानी गर्दै आएको छ । बंगलादेशमा चीनको बढ्दो उपस्थितिले अमेरिका चिढिएको र चिनियाँ भूमिकालाई कमजोर पार्ने रणनीतिका साथ अमेरिकाले बंगलादेशमा सैन्य अखडा सुरक्षित गर्ने प्रयास गरिरहेको देखिन्छ । बंगलादेशमा भएको शासन परिवर्तनमा अमेरिकाले गरेको समर्थनले पनि यसमा थप बल पुगेको छ । हसिना भारतको पक्षमा हुनु वा चीनको समर्थन लिनुले पनि अमेरिका उनीसँग खुसी हुन नसकेको देखिन्छ । गत जनवरीमा बंगलादेशमा सम्पन्न निर्वाचनमासमेत अमेरिकाले असन्तुष्टि जनाएको थियो । चुनावमा धाँधली भएको भन्दै अमेरिकाले हसिनाको आलोचना गर्दै आएको थियो ।